बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

अराजकताको सँघारमा संसार

बिहीबार, १७ माघ २०८१, १२ : ००
बिहीबार, १७ माघ २०८१

रोबर्ट डी. काप्लान

संसार एक किसिमले भिरको डिलमा पुगेको देखिन्छ । घटना प्रवृति गतिला देखिएका छैनन् । यो त्यही अमेरिका हो, जसको मजबुत आर्थिक साथले पश्चिमा सभ्यतालाई दोस्रो विश्वयुद्ध र शीतयुद्धबाट जोगाएर ल्यायो । सन् १९४५ ताका अमेरिका एक्लैले संसारभरको आधा उत्पादन गर्थ्यो तर अहिले यसको हिस्सा घटेर १६ प्रतिशतमा आइपुगेको छ ।

अमेरिकाको कुल राष्ट्रिय ऋण बढेर ३६ ट्रिलियन डलर पुगेको छ र यो प्रत्येक वर्ष १ ट्रिलियनका दरले बढिरहेको छ । डेमोक्र्याट वा रिपब्लिकन कसैसँग पनि यस्तो अवस्थालाई रोक्न चाहिने अलिकति पनि अनुशासन छैन । यो असाध्यै बोझ बनेर गएको छ । इतिहासमा यस्तै बोझ र जटिलताका कारण रोम, पूर्व–आधुनिक कालको स्पेन, हाप्सबर्ग अष्ट्रिया र बेलायत जस्ता महाशक्ति र साम्राज्यहरू अधोगतितर्फ लागेका थिए ।

कसैले माने पनि वा नमाने पनि इतिहासका सबै कालखण्डमा विश्व व्यवस्थाको हैसियत कायम राख्नमा यसको धेरै ठुलो महत्त्व छ । साथै जब कुनै विश्व व्यवस्था कमजोर हुन्छ, अनिवार्य रूपमा त्यहाँ अराजकताले घर गरिहाल्छ । यस्तो व्यापक शृङ्खलामा पछिल्लो अमेरिकी निर्वाचन एउटा अध्यायमात्रै हो ।

यो निर्वाचन सम्भवतः अमेरिकी इतिहासकै सर्वाधिक टकरावपूर्ण निर्वाचन हो । यसले अमेरिकाको सबै वैचारिक, वर्गीय तथा सांस्कृतिक रेखामा घातक विभाजन रेखा कोरिदियो । यी रेखा मुलतः वैश्विकरणले कोरेको थियो । यसले आधा अमेरिकीलाई भूमण्डलीकृत कक्षमा उठाएको थियो भने आधालाई रित्तै छोडेको थियो ।

वैश्विकरणले उठाएको आधा हिस्सामा उदारवादीहरू, तडक–भडक गर्नेहरू, ह्विस्की पिउनेहरू तथा बिदा मनाउन युरोप घुम्न जाने वर्ग पर्छन् । यो वर्ग ट्रम्प समर्थकहरू ज्यादा भएको भित्री गाउँहरूमा बन्दी भएर रहेन । अर्को आधाचाहिँ व्यक्तिगत, सांस्कृतिक लगायत विविध कारणले गर्दा विश्वस्तरमा प्रतिस्पर्धामा जान सकेन ।

पतन क्रमैसँग हुनेमात्र नभएर सापेक्षित पनि हुन्छ । अमेरिका लोकतान्त्रिक देश हो । यसका समस्याहरू सबैले देख्नेगरी खुला छन् । चीनजस्ता अलोकतान्त्रिक मुलुकमा यस्तो हुँदैन ।

त्यो वर्ग उही पुरानै राष्ट्र–राज्यमा जकडिएर बस्न बाध्य भयो । वैश्विकरणको प्रवाहले छिन्नभिन्न भएका सबै पश्चिमा मुलुकहरूको कथा यस्तै हो । यसले विकासशील विश्व र पश्चिमबिचमा तथा शक्तिराष्ट्रबिच पनि यसै गरी दरार ल्याएको छ ।

अमेरिका लगभग एक शताब्दीदेखि विश्वव्यापी व्यवस्थाको केन्द्रबिन्दुको रूपमा छ । हामीलाई आजको दिनमा यो अवस्था विरासतमा आएको जस्तो लाग्छ । छापाखाना र टाइपराइटरको युगमा आम लोकतन्त्रले अमेरिकालाई गतिशील गराएको थियो । सञ्चार शैलीको क्षेत्रमा तुलनात्मक रूपमा लामा र तर्कसंगत बहसको सहारामा मध्यपन्थी राजनीतिले शक्ति सन्तुलन आफ्नो पक्षमा टिकाउन सफल भएको थियो । जसले गर्दा मध्यपन्थीलाई सत्तामा रहन सहज भएको थियो तर डिजिटल भिडियोको युगमा आइपुग्दा छोटा र अनियन्त्रित भावनाहरूको बाढीका कारण दुवै पार्टीमा अतिवाद हावी हुन थालेको छ । फलतः राजनीति बेकामे हुन पुगेको छ ।

दुई प्रमुख दलहरूबिचको सेतुको रूपमा रहेको मध्यपन्थी राजनीतिक केन्द्र आजको दिनमा प्रविधिको कारणले गर्दा हराएर गएको छ । यसले गर्दा प्रत्येक दललाई हरेक निर्वाचन जीवन मरणको लडाइँ हुन थालेका छन् । एक दलले अर्को दलको विरोध नभएर घृणा गर्ने गरेका छन् ।

डोनाल्ड ट्रम्पजस्ता व्यक्तित्वहरू यसरी हावी भएर आउनलाई डिजिटल युगमा बाहेक अरु युगमा सम्भव नै थिएन । इतिहासका हरेक अध्यायमा ठुला शक्तिहरूको उदय र पतनको कारक प्रायः नयाँ प्रविधि र त्यसले समाज र मानिसहरूमा थोपरेको तनावसँग जोडिएको भेटिन्छ ।

समयक्रमसँगै विशाल अन्तरराज्यीय राजमार्गहरू भएको अमेरिकालाई तेल र ग्यास तथा छापाखाना र टाइपराइटर युगको महाशक्तिको अवशेषको रूपमा रहन सक्नेजस्तो देखिन्छ । ट्रम्पको दोस्रो कार्यकाल सुुरु हुनासाथ थप प्रस्ट हुन सक्छ ।

ट्रम्पको यो कार्यकाल पहिलोको तुलनामा अझ उग्र हुन सक्छ । पहिलो कार्यकालमा त उनले धेरै समझदार र परम्परागत रिपब्लिकन र रिपब्लिकन मार्काका मानिसलाई प्रमुख पदहरूमा काम गर्न आकर्षित गरेका थिए । विदेश नीति क्षेत्रमा त्यो प्रयोग जारी नै देखिन्छ तर केही चिन्ताजनक संकेत पनि देखिएका छन् । राष्ट्रिय गुप्तचर संस्थाको निर्देशकको रूपमा कुनै कोणबाट पनि योग्यता नपुग्ने तुलसी गब्बार्डलाई नै हेर्न सकिन्छ ।

सी जिनपिङको लेनिनवादी शासनले जटिल वित्तीय निर्णय लिने शक्ति विज्ञहरूको हातमा नभइ समान विचारधारा वाहकको हातमा छ । आजको दिनमा पनि सीको नेतृत्वको चीनभन्दा ट्रम्पको नेतृत्वमा अमेरिका धेरै राम्रो छ ।

पदमा रहँदा ट्रम्प नसुध्रिएको देखिन्छ । उनी हरदम आवेगमा देखिन्छन् । यो उनकै लागि घातक हुनसक्छ । उनले जीवनभर झेलेको कानुनी समस्याले पनि यो कुरा देखाउँछ । अमेरिकी विदेश नीतिको सन्दर्भमा ख्याल गर्नुपर्ने कुरा व्यक्तिको रूपमा राष्ट्रपतिको स्वभाव र कर्मचारीतन्त्रको कौशल दुवै हो ।

राष्ट्रपतिले युद्ध र शान्तिसँग सम्बन्धित प्रमुख मुद्दाहरू हिम्मतसाथ निर्णय गर्न सक्छन्, जुन कर्मचारीतन्त्र आफैँले निर्णय गर्न सक्दैन । यस बाहेकका मामलामा त राज्य मामला तथा रक्षा विभागहरूमा सचिवहरू, उपसचिवहरू लगायत कर्मचारीतन्त्रको ठुलो फौजले आफैँ पनि अमेरिकी साम्राज्य चलाउँछन् ।

अमेरिकी प्रशासनमा यस्ता धेरै काबिल कर्मचारीहरू छन् । तिनीहरू डेमोक्र्याटिक तथा परम्परागत रिपब्लिकन दुवै प्रशासनमा छन् । यिनीहरूलाई बारम्बार ‘डिप स्टेट’ भन्दै गरिने दुर्व्यवहारका बाबजुद कुशल, योग्य र भावनात्मक रूपमा सन्तुलित रहेको पाएको छु । यिनीहरू आशा गर्न सकिने खालका छन् ।

ट्रम्पको दोस्रो कार्यकालमा भने यस्ता कर्मचारी धेरै हुने छैनन् । यस क्षेत्रमा स्थापित व्यक्तिहरूप्रति ट्रम्पको विषाक्त धारणाका कारण उनको कार्यकालमा औसत योग्यताका वा अयोग्यहरू नियुक्त हुने सम्भावना धेरै देखिन्छ । वैदेशिक मामलाका धेरै पद आवश्यकता अनुसार पूर्ति नै नहुन पनि सक्छन् । उनी संघीय कर्मचारी कटौती गर्ने कुरा गरिरहेका छन् । यो कृत्य अमेरिकी शक्ति घटाइदिने शालिन संयन्त्र बन्नेवाला छ ।

यस्तो अवस्थाका बाबजुद पतनको गति भने धिमा र अन्य प्रतिस्पर्धी शक्तिसँगको सापेक्षतामै हुनेछ । त्यस्ता शक्तिहरू पनि आफ्नै कारणले पतनकै बाटोमा छन् । १९औँ शताब्दीको अधिकांश समय ह्याप्सबर्ग र अट्टोमान साम्राज्य पतनकै बाटोमा थिए तर यसको अन्तिम पटाक्षेप भने पहिलो विश्वयुद्धमा गलत पक्षबाट लड्नाले भएको थियो ।

आफ्नै अधोगतिमात्रै चाहिँ महाशक्तिको अन्त्यका लागि काफी हुँदैन । ठुलो युद्ध वा एक्कासी आउने बर्बादीको कारण पनि कुनै समय यस्तो अवस्था हुन सक्छ । केही दशक ओरालो लागेका साम्राज्यहरू पनि फेरि आफ्नो पुरानो लयमा फर्किन सक्छन् । ठ्याक्कै कुनै साम्राज्य एकाएक समाप्त हुनेचाहिँ एकदमै बिरलै हुने गर्छ ।

रुसी र चिनियाँ यी दुवै देशका इतिहास कमजोर शासकका वंशका कथाले भरिएका छन्, जसलाई अर्को नयाँ वंशले विस्तापित गरेका छन् । यस्तो विस्थापनका पछाडि राष्ट्रिय पुनरुत्थान भेटिन्छ । सभ्यताहरू यसरी नै अनन्तजस्ता लाग्छन् । अमेरिकामा पनि यस्तै केही हुन सक्छ ।

एलन मस्कको सहयोगमा कर्मचारीतन्त्रमा व्यापक फेरबदल गरेर नयाँ र निम्छरो संस्थागत प्रणाली स्थापना गर्दै आश्चर्यलाग्दो रूपमा ट्रम्प त्यसको उत्प्रेरक हुन सक्छन् । पतनको हल्लालाई खासमा बढाइचढाइको रूपमा पनि लिन सकिन्छ । उदाहरणका लागि बेलायतको शक्ति ऐतिहासिक रूपमा त्यहाँको जलसेना ‘रोयल नेभी’ को शक्तिसँग अभिन्न रूपमा सम्बन्धित छ । यस्तो शक्तिको वृद्धि सन् १८९० सम्म आइपुग्दा नै रोकिएको थियो तर, त्यसले बेलायतलाई दुई वटा विश्वयुद्ध जित्न र त्यस्तो पतन सुरु भएको आधा शताब्दीपछि पनि पश्चिमी सभ्यतालाई बचाउन सकेन ।

भविष्य अन्योलग्रस्त हुन्छ अथवा के हुन्छ भन्ने अहिले नै थाहा हुँदैन, त्यसैका लागि हामीले निरन्तर काम गरिरहनु पर्छ । अमेरिकामा आज पनि भूराजनीतिक रूपमा विशाल फाइदा छन् । यो दुई ठुला महासागरले घेरिएको छ । यसको उत्तरमा मध्यम स्तरको क्यानेडियाली सभ्यताको पातलो घेरा छ । दक्षिणतर्फ मेक्सिकोसँगको सीमामा मात्रै थोरै समस्या छ । अमेरिकीलाई आफ्नो दक्षिणी समस्या चिन्ताजनक लाग्न त सक्छ तर रुस र चीनजस्ता अन्य महाशक्ति देशका ऐतिहासिक सीमा समस्याको तुलनामा यो मामुली समस्या हो ।

अमेरिकासँग हाइड्रो कार्बन तथा अन्य प्राकृतिक संसाधनको आफ्नै ठुलो भण्डार छ । बाँकी दुनियाँको पूरै जोड्दा पनि ठुलो जलयात्रा योग्य आन्तरिक नदी प्रणाली छ । उत्तरी अमेरिकाको समशीतोष्ण क्षेत्र युरेशिया वरपरका टापु क्षेत्रहरूमध्ये सबैभन्दा ठुलो, सुरक्षित र सबैभन्दा शक्तिशाली छ । अमेरिका युरेशिया क्षेत्रमा हुने युद्ध र अन्य चुनौतीहरूबाट धेरै हदसम्म सुरक्षित रहन्छ ।

मैले भनिहालेँ, पतन क्रमैसँग हुनेमात्र नभएर सापेक्षिक पनि हुन्छ । अमेरिका लोकतान्त्रिक देश हो । यसका समस्याहरू सबैले देख्ने गरी खुला छन् । चीनजस्ता अलोकतान्त्रिक मुलुकमा यस्तो हुँदैन । समस्याहरू धेरै गहिरो भैसकेका हुन्छ तर, तिनलाई छोपेर राखिएको हुनसक्छ ।

विविध कारणहरूका बाबजुद पनि भविष्यमा अमेरिकाको पतन नहुन सक्छ । यसको सट्टा सबै ठुला शक्तिहरूको क्रमिक पतन हुँदै जाने सम्भावना प्रबल छ । जसले गर्दा झनै अस्थिर र अशान्त भूराजनीति निम्तिन सक्छ ।

चीनको आर्थिक अवस्था नाजुक हालतबाट गुज्रिरहेको छ । जनसंख्या घट्दै गएको अवस्था छ । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार लाखौँ नयाँ आवास क्षेत्र खाली छन् । धेरै चिनियाँ परिवारले यसरी घटिरहेको ‘रियल स्टेट’ मा ठुलो लगानी गरेका छन् । स्थानीय सरकारहरू ऋणमा डुबेका छन् । नियमित रूपमा देशबाट अर्बौं डलर पलायन भइरहेको छ । युवा बेरोजगारी बढ्दै गएको छ ।

सी जिनपिङको लेनिनवादी शासनले जटिल वित्तीय निर्णय लिने शक्ति विज्ञहरूको हातमा नभइ समान विचारधारा वाहकको हातमा दिएको छ । यी सबै भविष्यमा हुने ठुलो सामाजिक अशान्तिका लागि बन्दै गरेका आधार हुन् । आजको दिनमा पनि सीको नेतृत्वको चीनभन्दा ट्रम्पको नेतृत्वमा अमेरिका धेरै राम्रो छ ।

त्यसपछि अर्को छ रुस । प्रत्येक महिना युक्रेनमा युद्ध लम्बिदै जाँदा रुसले ककेसस, पूर्वसोभियत मध्यएसिया, साइबेरिया, रुसी सुदूरपूर्वका भागमा पार्न सक्ने प्रभाव र क्षमतामा ह्रास भइरहेको छ । चीनको तुलनामा रुसमा कमजोर तरिकाले संस्थागत भएको राज्य छ । रुसका ११ प्रकारका समयरेखा वरपर जति उसको शक्ति खिइँदै जान्छ, त्यति नै पूर्वयुगोस्लाभियाझैँ कमजोर रूपमा देखा पर्दै जान्छ ।

पक्कै पनि मस्कोले पूर्वी युरोप र ककेसस क्षेत्रका निर्वाचनमा प्रभाव पार्न खोज्छ । त्यसको लागि उसले ठुलो खर्च व्यहोर्दैन तर, उसको प्रभाव घटेको निश्चित छ । जस्तैः सन् २०२३ मा अजरबैजानले नोगोर्नो–काराबाखमा गरेको आर्मेनियालीको जातीय सफायाबाट जोगाउन सकेन । तिनीहरू ऐतिहासिक रूपमा रुसका मित्र हुन् ।  

युक्रेनमा चलिरहेको युद्धबाट रूसले हाल अस्थायी रूपमा फाइदा उठाइरहेको छ । साथै यसले रूसी राज्यभित्रको गहिरो संकटलाई पनि सँगै देखाइरहेको छ । युक्रेनमा भ्लादिमिर पुटिनको आक्रमणले रूसी अभिजात वर्गका केही प्रमुख समूहलाई बाहिर पारिदिएको छ । तर पनि उनीहरूलाई पुटिनको शक्ति नगुमोस् भन्ने लागेको छ । किनभने रुसी राज्यलाई अक्षुण्ण राख्ने एकमात्र शक्ति पुटिनमात्रै हुन सक्छन् ।

सोभियत नेताहरूसँग शक्तिशाली कर्मचारीतन्त्र र बलियो समर्थकको रूपमा पोलिटब्युरो हुने गर्थ्यो । पुटिनसँग आजको दिनमा त्यसको पनि अभाव छ । आजको परिस्थितिमा अन्य दुई महाशक्ति रुस र चीनको तुलनामा संस्थागत रूपमा तथा आर्थिक रूपमा पनि अमेरिका धेरै बलियो छ ।

कहिलेकाहीँ कैफियतजस्तो देखिए पनि अमेरिकी लोकतन्त्र आफैँलाई नवीकरण गर्न सक्षम छ । युरोपको हकमा यो कुरा अलि भिन्न छ । उसको पूर्वी भागमा रुसको अस्थिर र आक्रामक उपस्थिति छ । दक्षिणमा उच्च जन्मदर भएको अफ्रिकी समाजबाट हुनेगरेको बसाइसराइ छ । त्यसैगरी दक्षिण र दक्षिणपूर्वमा मध्यपूर्वको गडबडी छ ।

बाँकी संसार बुढ्यौलीतर्फ बढेको बेला अफ्रिकामा भने युवा जनसंख्याको उभार चलिरहेको छ । मध्यपूर्व व्यापक द्वन्द्वमा छ । यी कारणहरूले बसाइसराइ गराइरहेका छन्, जसले शरणार्थीहरूलाई युरोपतिर धकेल्छन् । त्यहाँका रैथाले बासिन्दाको जनसंख्या वृद्धिदर भने शून्य नजिक छ । यसले बिस्तारै युरोपको जातीय संरचना परिवर्तन गरिरहेको छ । फलतः यसले युरोपभर लोकप्रियतावादी असन्तुष्टि बढाइरहेको छ ।

सिरिया मध्यपूर्वी राज्यको पछिल्लो त्यस्तो उदाहरण हो, जहाँ तानाशाहीको पतन धेरै उत्सवका साथ भएको थियो । यद्यपि दोस्रो विश्वयुद्धपछि फ्रान्सेलीहरू गएदेखि नै विभिन्न प्रकारका अत्याचार र अराजकता सहन बाध्य भएको सिरियामा स्थायित्वका लागि आवश्यक बलियो संस्थाहरूको अभाव छ ।

मध्यपूर्व जति हिंसाको चंगुलमा फस्दै जान्छ, युरोप भित्रिने शरणार्थीको संख्या त्यति नै बढ्दै जान्छ । यसै पनि युरोपको मध्य–दक्षिणपन्थी खेमा निरन्तर कमजोर हुँदै गइरहेको छ । विद्रोही लोकप्रियतावादी तथा कट्टर दक्षिणपन्थी शक्ति बिस्तारै नयाँ युरोपेली संस्थापन बन्दै गएको छ । सम्भवतः गठबन्धन निर्माणको क्रममा राजनीतिक केन्द्रतर्फ पनि सर्दैछ ।

युरोपमा संसदीय प्रणालीहरू वास्तवमा अन्तर–दलीय वार्तामार्फत केन्द्रको रूप कायम राख्न सक्षम हुन सक्छन् । यस विपरीत, अमेरिकाको ‘विजेताले सबै लिन्छ’ भन्ने राष्ट्रपति प्रणालीले नेतृत्वलाई स्पष्ट रूपमा ध्रुवीकृत गर्छ । यसले गर्दा राजनीति लोकप्रियतावादी दक्षिणपन्थी र प्रगतिशील वामपन्थीबिच घुम्छ ।

धेरै चुनावी चक्रहरूमा यसले दार्शनिक असंगति सिर्जना गर्छ । यसैबिच चीनको निरन्तर विस्तार र युद्धपोतहरूको तैनाथी साथै सस्तो ड्रोन र अन्य प्राविधिक प्रगतिको युगमा अमेरिकी सैन्य शक्ति अपेक्षाकृत रूपमा घट्दै गइरहेको छ ।

मानिस उत्साहित हुँदै ‘ब्रिक्स प्लस’ मुलुकहरूले यो विश्व शक्तिको शून्यता भर्ने कुरा गर्छन् । शीतयुद्धको समयमा असंलग्न आन्दोलनजस्तै आजको ‘ब्रिक्स प्लस’, जसमा ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका, इरान, इजिप्ट, इथियोपिया र संयुक्त अरब इमिरेट्स छन्– यिनीहरू पनि तिनीहरूले आयोजना गर्ने सम्मेलनभन्दा वास्तविकताको थोरैमात्र नजिक छन् ।

मैले सङ्कलन गरेका विविध कारणहरूका बाबजुद पनि भविष्यमा अमेरिकाको पतन नहुन सक्छ । यसको सट्टा बरु सबै ठुला शक्तिहरूको क्रमिक पतन हुँदै जाने सम्भावना प्रबल छ । जसले गर्दा झनै अस्थिर र अशान्त भूराजनीति निम्तिन सक्छ ।

यसको अर्थ ती सम्मेलनहरूमा भाग लिने र कभर गर्ने विश्व मिडियाबिना यो संगठन व्यावहारिक रूपमा अर्थहीन छ । शीतयुद्धको समयमा चलेको असंलग्न आन्दोलन, जसको पहिलो शिखर बैठक बेलग्रेडमा भएको थियो, त्यो आन्दोलन सुरुदेखि नै सोभियततिर ढल्किएको थियो । युगोस्लाभियाका जोसिप ब्रोज टिटो तथा इजिप्टका गामाल अब्देल नास्सेरका जतिसुकै ठुला भाषणका बाबजुद खास सत्य त्यही नै थियो ।

आज ब्राजिल वा दक्षिण अफ्रिकाजस्ता देशहरूसँग भारतको रणनीतिक सम्बन्ध कम छ । यसले ब्रिक्स प्लस मुलुकको समूहभित्रको विशाल भौगोलिक र भूराजनीतिक विविधतालाई प्रकाश पार्छ । सदस्य राष्ट्रहरूको प्रायः फरक र यदाकदा विरोधाभासी प्राथमिकता छन् । उदाहरणका लागि दक्षिण अफ्रिका इजरायलको कडा विरोधी हो ।

जबकि ‘ब्रिक्स प्लस’ मुलुकहरूको अर्को सदस्य संयुक्त अरब इमिरेट्स भने अनौपचारिक रूपमा इजरायल समर्थक मानिन्छ । यो भिन्नताले यस्तो विविध गठबन्धनभित्र एकीकृत भूराजनीतिक एजेन्डा निर्माण गर्ने चुनौतीहरूलाई राम्रोसँग देखाइरहेको छ ।

यस्तो सम्भावना झट्ट हेर्दा देखिएको भन्दा पनि रणनीतिक तर्कको हिसाबले अझ न्यून छ । ‘ब्रिक्स प्लस’ समूहले डलर क्षेत्रलाई छलेर यस समूहमा रहेका देशहरूलाई सहयोगी हुने व्यापारिक प्रणाली सिर्जना गर्न सक्छ तर तिनीहरूले अझै पनि पश्चिमलाई कमजोर पार्ने बाहेक व्यवस्थित राजनीतिक कार्यक्रमको तय गरिनसकेको हुनाले यस्तो प्रयासमा उनीहरूको सफलताले विश्वव्यापी अव्यवस्थामा मात्र योगदान पुर्‍याउन सक्छ ।

मैले सङ्कलन गरेका विविध कारणहरूका बाबजुद पनि भविष्यमा अमेरिकाको पतन नहुन सक्छ । यसको सट्टा बरु सबै ठुला शक्तिहरूको क्रमिक पतन हुँदै जाने सम्भावना प्रबल छ । जसले गर्दा झनै अस्थिर र अशान्त भूराजनीति निम्तिन सक्छ ।

प्रविधिले विश्वको भूगोललाई साँघुरो बनाएको छ । संसारमा अझ बढी चिन्ताका विषय थपिएका छन् । होहल्लाले धेरै असर पार्न थालेको छ । भविष्यमा संकट र अस्थिरताको अनुभूति हामीले कल्पना गर्नसक्ने भन्दा बढी हुनेछ । हामीले त्यसको कत्तिको सामना गर्न सक्छौँ ? अहिले नै भन्न सकिन्न ।

यतिचाहिँ पक्का हो कि विश्व राजनीति अराजकताको संघारमा जाँदै छ ।

(काप्लान अमेरिकी लेखक तथा अध्येता हुन् । भूराजनीतिबारे उनका धेरै महत्त्वपूर्ण पुस्तक प्रकाशित छन्, जसमा ‘कमिङ अफ एनार्की’, ‘मनसुन’, ‘रिभेन्ज अफ जियोग्राफी’ जस्ता पुस्तक धेरै चर्चित छन् । उनको ‘वेस्ट ल्याण्डः अ वर्ल्ड इन पर्मानेन्ट क्राइसिस’ नामको नयाँ पुस्तक भर्खरै प्रकाशित भएको छ ।)

(न्यु स्टेटसम्यानबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप