शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
टेस्ट क्रिकेट

चर्चामा रहेको ‘टू–टायर टेस्ट’ के हो ?

नेपाललाई कसरी हुन्छ फाइदा ?
बिहीबार, १७ माघ २०८१, ११ : ००
बिहीबार, १७ माघ २०८१

काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टू–टायर टेस्ट’ प्रणाली फेरि चर्चामा छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र राष्ट्रिय क्रिकेट संघसँगै विश्व क्रिकेटका हस्तीहरूले पनि ‘टू–टायर टेस्ट’ प्रणालीको विषयमा चरणबद्ध रूपमा छलफल बढाएका छन् ।

‘टू–टायर टेस्ट’ प्रणालीको चर्चा निकैअघि सुरु भएको थियो । तर, आईसीसीले खासै चासो नदेखाएपछि यसको चर्चा केही समयका लागि सेलाएको थियो । अहिले फेरि ‘टू–टायर टेस्ट’ प्रणालीको विषयमा गतिलै चर्चा सुरु भएको छ ।

विगतको तुलनामा अहिले यो विषयले धेरैको ध्यान तानेको छ । आईसीसीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड, इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड, क्रिकेट अस्ट्रेलियाजस्ता विश्वका बलिया क्रिकेट संघहरूसँग पनि यस विषयमा छलफल गरिरहेको छ ।

भारत, श्रीलंका, बंगलादेश र जिम्बाबेका राष्ट्रिय क्रिकेट बोर्डहरू सुरुमा ‘टू–टायर टेस्ट’ प्रणालीप्रति खासै सकारात्मक देखिएका थिएनन् । तर, आईसीसीसँगै विश्वका अधिकांश क्रिकेट बोर्ड यसप्रति सकारात्मक देखिएका छन् ।

यद्यपि, अर्जुन रणतुंगा, ग्राहम स्मिथ, क्लाइभ लोयडजस्ता प्रभावशाली क्रिकेटरहरू अहिले पनि यसप्रति सकारात्मक देखिएका छैनन् । अर्कोतिर, रवि शास्त्री, माइलक होल्डिङ, माइकल भनजस्ता चर्चित क्रिकेटर यसको पक्षमा देखिएका छन् । तर, ‘टू–टायर टेस्ट’ प्रणालीको विषयमा छिट्टै ठोस निर्णय आउन सक्ने अनुमान गरिएको छ ।

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) का अध्यक्ष मार्क निकोलसले विश्व क्रिकेट कनेक्ट्स एड्भाइजरी बोर्ड बैठकमा यो विषय प्रस्तुत गर्ने तयारी गरेका छन् । बोर्डमा आईसीसीका वर्तमान अध्यक्ष जय शाहको पनि उपस्थिति रहने छ । बैठक लर्डसमा खेलिने विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका क्रममा बस्ने बताइएको छ ।

mark nicolas

‘टू–टायर टेस्ट’ प्रणालीको अवधारणअनुरूप टेस्ट खेल्ने राष्ट्रहरूलाई वरीयताका आधारमा दुई समूहमा विभाजन गरिने छ । पहिलो श्रेणीमा वरीयताको माथिल्लो स्थानमा रहेका नौ वटा टोली रहनेछन् । दोस्रो श्रेणीमा भने तल्लो वरीयतामा रहेका टोली र आईसीसीको केही एसोसिएट सदस्य राष्ट्र रहनेछन् ।

‘टू–टायर टेस्ट’ प्रणालीका समर्थकहरू यो संरचनाले विश्व क्रिकेटको स्तरमा सुधार ल्याउने विश्वास राख्छन् । उनीहरूका अनुसार यो अवधारणाले तल्लो श्रेणीका टोलीहरूलाई आफूभन्दा बलिया प्रतिद्वन्द्वीहरूको सामना गर्ने अवसर प्रदान गर्नेछ ।

यो प्रणालीमा प्रमोशन र रेलिगेसनको प्रावधानसमेत रहने बताइएको छ । यो अवधारणाअनुरूप कमजोर प्रदर्शन गर्ने राम्रा टोली पनि रेलिगेसनमा पर्न सक्छन् भने राम्रो प्रदर्शन गर्ने एसोसिएट सदस्य राष्ट्र पनि माथि उक्लिन सक्छन् ।

त्यसैले यो प्रणाली नेदरल्यान्ड्स, स्कटल्यान्ड, नेपालजस्ता एसोसिएट सदस्य राष्ट्रका लागि फाइदाजनक हुनेछ । यसले विश्व क्रिकेटमा प्रगतिउन्मुख रहेका तुलनात्मक रूपमा कमजोर राष्ट्रलाई थप अवसर प्रदान गर्नेछ ।

यसका केही नकारात्मक पक्ष पनि छन् । सबैभन्दा ठुलो नकारात्मक पक्ष भनेको बलियो टोली र कमजोर टोली आपसमा भिड्दा उनीहरूबिच स्तरमा निकै अन्तर देखिनेछ । जसले गर्दा बलिया टोलीको प्रदर्शनमा असर पर्न सक्छ ।

299073.4

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) का अध्यक्ष मार्क निकोलसलाई ‘टू–टायर टेस्ट’ को सूत्र भने भारतको दिल्लीस्थित एक क्रिकेट समर्थक अमित शुक्लाले उपलब्ध गराएका हुन् । अमित सफ्टवेयर इन्जिनियर पनि हुन् ।

उनको अवधारणाअनुसार पहिलो श्रेणीमा आईसीसी वरीयताको माथिल्लो स्थानमा रहेका नौ राष्ट्र रहनेछन् । दोस्रो श्रेणीमा भने तुलनात्मक रूपमा कमजोर ६ वटा राष्ट्रलाई सहभागी गराइने छ । त्यसपछि पहिलो श्रेणीका प्रत्येक राष्ट्रले दोस्रो श्रेणीमा रहेका दुई–दुईवटा राष्ट्रसँग टेस्ट खेल्नेछन् ।

अमितले यसलाई उदाहरणबाट सम्झाउने प्रयास पनि गरेका छन् । उनको उदाहरणअनुसार माथिल्लो वरीयतामा रहेका अस्ट्रेलिया, भारत, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान, वेस्ट इन्डिज, श्रीलंका र बंगलादेश पहिलो श्रेणीमा रहनेछककन् ।

यसैगरी जिम्बाबे, नेदरल्यान्ड्स, अफगानिस्तान, नेपाल, आयरल्यान्ड र स्कटल्यान्ड अर्को श्रेणीमा रहनेछन् । यस्तो स्थितिमा पहिलो श्रेणीमा रहेको एउटा राष्ट्रले दोस्रो श्रेणीमा रहेको दुई वटा राष्ट्रसँग टेस्ट शृङ्खला खेल्नेछ ।

England_vs_South_Africa

उदाहरणका लागि पहिलो श्रेणीमा रहेको अस्ट्रेलियाले दोस्रो श्रेणीमा रहेको जिम्बाबे र नेदरल्यान्डसँग तथा पहिलो श्रेणीमा रहेको भारतले अफगानिस्तान र नेपालसँग टेस्ट शृङ्खला खेल्नेछ । पहिलो श्रेणीमा रहेको इङ्ल्यान्डले आयरल्यान्ड र स्कटल्यान्डसँग तथा पहिलो श्रेणीमा रहेको दक्षिण अफ्रिकाले जिम्बाबे र नेदरल्यान्ड्सँग टेस्ट खेल्नेछ ।

यसैगरी, पहिलो श्रेणीमा रहेको न्युजिल्यान्डले दोस्रो श्रेणीमा रहेको अफगानिस्तान र स्कटल्यान्डसँग तथा पहिलो श्रेणीमा रहेको पाकिस्तानले आयरल्यान्ड र नेपालसँग टेस्ट शृङ्खला खेल्नेछ । त्यसपछि पहिलो श्रेणीमा रहेको वेस्ट इन्डिजले अफगानिस्तान र नेदरल्यान्डसँग तथा पहिलो श्रेणीमा रहेको श्रीलंकाले आयरल्यान्ड र नेपालसँग टेस्ट शृङ्खला खेल्नेछ ।

यसैगरी, पहिलो श्रेणीमा रहेको बंगलादेशले भने दोस्रो श्रेणीमा रहेको जिम्बाबे र स्कटल्यान्डसँग टेस्ट शृङ्खला खेल्नेछ । 

अमितका अनुसार यो प्रणालीले कमजोर टोलीहरूको स्तर उकास्न मद्दत पुर्‍याउने छ । जसले गर्दा समग्रमा विश्व क्रिकेटकै स्तरमा वृद्धि हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप