बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : डढेलोको जोखिम

डढेलो नियन्त्रण : प्राकृतिक अनुकूलताले नेपाललाई दिएको साथ

‘डढेलो नियन्त्रण गर्न फायरफाइटिङ एकदमै आवश्यक भइसकेको छ’
बिहीबार, १७ माघ २०८१, ०९ : ३६
बिहीबार, १७ माघ २०८१

जाडो सकिएर गर्मी मौसमको तरखर हुँदै छ । विगतका वर्षलाई हेर्ने हो भने जाडो मौसम सकिन अझै एक महिना बाँकी नै छ । तर यसपालि माघको मध्य नपुग्दै गर्मी बढिसकेको छ । मौसम पूर्वानुमान गर्ने सरकारी निकायले समेत तापक्रमसम्बन्धी यस्तै रिपोर्ट दिएका छन् । 

गर्मी बढेसँगै जंगलमा डढेलो पनि लाग्न थालिसकेको छ । केही दिनअघि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकास्थित जंगलमा लागेको डढेलो यसको एउटा उदाहरण हो । जबकि, सामान्य अवस्थामा आगलागी हुने समय सुरु भएकै छैन । नेपालमा मार्चदेखि जुनसम्म धेरैजसो आगलागीका घटना भएका देखिन्छन् । यसै समयलाई मुख्यतः नेपालमा आगलागीको ‘सिजन’ मानिन्छ । 

नेपालमा वार्षिक औसत ३४/३५ हजार डढेलोका घटना हुने गरेको पाइएको छ । गुगल अर्थ फोटोको सहायताले हामीले हालसालै गरेको एउटा अध्ययनमा सन् २०१२ देखि २०२१ सम्म नेपालमा तीन लाखभन्दा धेरै आगलागी भएका पाइएका छन् । यसले डढेलोको भयावह अवस्थालाई देखाउँछ । यसले वनजंगल, जडीबुटी र पारिस्थितिक पद्धतिमा समस्या पारिरहेको छ भने व्यक्ति, समुदाय र राज्यलाई नै ठुलो क्षति पुर्‍याइरहेको छ । 

  • डढेलोका कारण 

विश्वमै हुने डढेलोका कारणलाई मुख्यतः दुई भागमा वर्गीकरण गर्न सकिन्छ । पहिलो, मानवीय र दोस्रो, प्राकृतिक । 

मानवीय कारणअन्तर्गत मानिसले गरेका क्रियाकलाप मुख्य हुन् । व्यक्तिले नियत नै राखेर, लापरबाही वा असावधानीका कारण हुने घटनालाई यसअन्तर्गत लिन सकिन्छ । कतिपय अवस्थामा प्राकृतिक रूपमै आगलागीको अवस्था सिर्जना हुन्छ । सुक्खा पातहरू, घाँस, वा पीट (एक प्रकारको कोइला) जस्ता जैविक पदार्थहरूका कारण ताप उत्पन्न हुने रासायनिक प्रक्रिया बन्छ । निश्चित परिस्थितिमा यसले त्यस्ता पदार्थलाई प्रज्वलित गर्छ, जसले आगो सल्किएर डढेलोको रूप लिन्छ । त्यसबाहेक चट्याङ, ज्वालामुखीलगायत प्राकृतिक प्रकोप पनि डढेलोका कारक बन्ने गरेका छन् ।

नेपालमा डढेलोका कारणहरूबारे वैज्ञानिक अनुसन्धान भएको पाइँदैन । तर, सामान्यतया सबैजसो घटना मानवीय कारण भएको देखिन्छ । किनभने, नेपालको हावापानीमा आगो उत्पन्न हुने त्यस्तो रासायनिक प्रतिक्रिया सम्भव देखिँदैन । त्यसैले मानवीय कारणलाई नियन्त्रित गर्न सके नेपालमा आगलागीका घटना कम गर्न सकिन्छ । 

खासगरी सामुदायिक वनमा रहेका वनमारा वा अन्य अनावश्यक वनस्पतिका झाडी, जसलाई हामी ‘प्लान्ट रेसिड्युअल’ भन्छौँ, त्यसलाई हटाउन जानीजानी डढेलो लगाइन्छ । यी मानवीय कारण हुन् । यो अनियन्त्रित हुँदा आगलागी हुन्छ । त्यसबाहेक खेतबारीका पातपतिङ्गर जलाउँदा त्यसले जंगलमा आगो सल्किन्छ । 

आगो लगाउँदा हावाहुरीले अनियन्त्रित रूपमा फैलाइदिन्छ । कहिलेकाहीँ नियतवश पनि आगो लगाउने गरेका घटना भएका पाइएका छन् भने कहिले मनसाय नभए पनि व्यक्तिकै कारण आगलागी भएका पाइएका छन् । 

जंगलको नजिक पिकनिक जाने र सकिएपछि राम्रोसँग आगो ननिभाउँदा पनि आगलागीको जोखिम उत्तिकै बढेको छ । चुरोट तथा बिँडी खाएर जथाभाबी फाल्दा पनि आगलागी हुने गरेको देखिन्छ । अहिलेसम्म पाइएका डढेलोका मुख्य कारण यिनै हुन् । 

  • डढेलो फैलावटको तुलनात्मक अवस्था

अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जल्समा महिनौँदेखि आगो लागेको छ । स्रोत र साधनले सम्पन्न अमेरिकी सरकारले समेत आगो नियन्त्रण गर्न सकेको छैन । तर, नेपालमा भने आगलागीमा घटना धेरै भए पनि यसको फैलावट धेरै छैन । अहिलेसम्म प्राकृतिक कारणले नै हामी आगलागीको कम जोखिममा छौँ ।  

खासगरी समुद्रनजिक भएका क्षेत्रमा हावाहुरी बढी चल्छ । समुद्र र जमिनमाथिको वायुको तापक्रममा फरक हुने भएकाले यसले एक्कासि न्यून चापीय वायु सिर्जना गर्छ, जसले तत्कालै टोर्नाडो वा हरिकनजस्ता सामुद्रिक हुरीको सिर्जना हुन्छ । आगो लागिरहेका बेलामा हुरी आए यसले आगोको लप्कालाई झन् फैलाउँछ, जसले डढेलो फैलिन्छ । त्यसैले ती क्षेत्र आगलागी वा डढेलोका लागि धेरै जोखिमयुक्त मानिन्छन् । 

नेपाल समुद्रबाट टाढा भएकाले माथि उल्लिखित जोखिम हुने सम्भावना कम छ । यहाँ हावाको गति एक्कासि तलमाथि हुँदैन, जसले डढेलोको फैलावट नियन्त्रित छ । त्यसैले नेपालमा डढेलोबाट हुने क्षति तुलनात्मक रूपमा कम हुने गरेको पाइन्छ । 

यो वर्ष हिउँदमा पानी परेन, त्यसैले माघ नलाग्दै सुक्खा र गर्मी दुवै बढ्न पुग्यो । पहिले १/२ डिग्रीमा झर्ने काठमाडौँको तापक्रम यस वर्ष ५/६ डिग्रीभन्दा तल झरेन । त्यसैले अरू क्षेत्रमा समेत तापक्रम बढेको छ र आगलागीसमेत सुरु भएको छ । यसको मुख्य कारण जलवायु परिवर्तन नै हो । जसका कारण हिउँ पर्ने ठाउँमा परेको छैन । पहाड र उच्च हिमाली भेगमा समेत यो वर्ष अहिलेसम्म हिउँ परेको छैन । यसले प्राकृतिक नियम नै तलमाथि भएको देखिएको छ । 

  • नेपालमा डढेलोको असर

डढेलोले मुख्यतः जंगली वनस्पति तथा जीवजन्तु नष्ट गर्छ । यसले परिस्थिति प्रणाली, जैविक विविधतामा असर गर्छ । डढेलोका कारण वनमा आश्रित व्यक्तिको जीवनस्तरमा असर पार्छ भने जंगलको आगो बस्ती वा बालीसम्म पुग्दा यसले जनधनको क्षतिसमेत हुने गरेको छ । 

तर, डढेलोको असर त्यति मात्रै छैन । यसले वातावरणमा पनि असर पार्छ । डढेलो लाग्दा कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ । यसले तापक्रम बढाउँछ । त्यति मात्रै नभई ब्ल्याक कार्बनसमेत उत्पन्न हुन्छ । यसले अल्पकालीन रूपमा तापक्रम बढाउँछ । यसले हिमालका ग्लेसियर पग्लिन्छ । त्यसैले नेपालमा हुने आगलागीले हिमालको ग्लेसियर पगाल्ने काम गरिरहेको अध्ययनहरूले देखाएका छन् । एकपटक ब्ल्याक कार्बन वायुमण्डलमा गएपछि त्यो वर्षा नभई सतहमा आउँदैन, त्यतिबेलासम्म यसले गर्मी बढाउन मद्दत गर्छ । 

  • डढेलोमा सावधानी र नियन्त्रणका उपाय

लामो समयदेखि डढेलो नियन्त्रणका लागि सरकारले काम गर्नुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौँ । जंगलमा रूखहरूको घनत्व बढ्दै गएको अवस्थामा आगलागी भइहाले कसरी नियन्त्रण गर्ने भन्नेमा हामी सचेत हुनुपर्छ । यसका लागि प्रत्येक प्रदेशमा एउटा फायरफाइटिङ हेलिकोप्टर राख्नैपर्छ भनेर हामीले सुझाव दिएका छौँ । त्यो सम्भव छैन भने कम्तीमा राष्ट्रियस्तरमै कम्तीमा दुई वटा फायरफाइटिङ हेलिकोप्टर चाहिन्छ । 

सन् २०२१ मा काठमाडौँको वरपर जंगलमा आगलागी भएको थियो त्यतिबेला आगलागी नियन्त्रण गर्न एउटा निजी कम्पनीको हेलिकोप्टरले महत्त्वपूर्ण भूमिका खेलेको थियो । तर अब फायरफाइटिङ एकदमै आवश्यक भइसकेको छ । 

आगलागी नियन्त्रण गर्ने सबैभन्दा सजिलो उपाय पानी नै हो । अहिले राष्ट्रिय निकुञ्जबाहेक पानीको स्रोत अन्त खासै छैन । त्यसैले सम्भावित आगलागी नियन्त्रणका लागि जंगलका ठाउँठाउँमा रिचार्ज पोखरी बनाउनुपर्छ । यसले जमिनमा पानी पठाएर मुहानहरू बुस्टअप गर्न सहयोग पुग्छ भने पोखरीमा पानी हुँदा वन्यजन्तुलाई पनि सहयोग हुन्छ । आगलागी निभाउन पनि सहयोग हुन्छ । साथै जैविक विविधता पनि कायम हुन्छ । 

त्यस्तै, पिकनिक स्पट क्षेत्रलाई रूखबिरुवा भएको ठाउँबाट टाढा राख्ने, कुनै संरचना नभएका ठाउँमा पकाउने स्थान बनाउने र अन्तिममा राम्रोसँग आगो निभाउने व्यवस्था मिलाउनुपर्छ । चुरोट बिँडीजस्ता चिजहरू राम्रोसँग निभाउनुपर्छ भन्ने चेतना विकास गराउनुपर्छ । 

जंगल छेउमा बसोबास छ भने त्यहाँ विशेष व्यवस्था गर्नुपर्छ । आगलागीको बढी जोखिमपूर्ण क्षेत्र पहिचान गरेर सरकारले क्रमशः कम्युनिटी लेभरमा इमर्जेन्सी तयारीको तालिम दिनुपर्छ । नेपाली सेना नेपाल प्रहरीहरूले समुदायसँग मिलेर यस्ता कार्यक्रम अगाडि बढाउन सक्छन् । त्यसरी तालिम दिएपछि उनीहरूलाई सुरक्षाका आवश्यक सामग्रीसमेत प्रदान गर्नुपर्छ । 

त्यस्तै सकेसम्म जैविक फोहोरलाई नजलाई मल बनाउन किसानहरूलाई प्रोत्साहन गर्नुपर्छ । यति गर्न सकियो भने आगलागीबाट हुने अल्पकालीन तथा दीर्घकालीन क्षतिलाई कम गर्न सकिन्छ ।

(नेपाल इनर्जी एण्ड इन्भायरमेन्ट डेभलपमेन्ट सर्भिस (निड्स) का अध्यक्षसमेत रहेका वायु गुणस्तरविद् डा. भूपेन्द्र दाससँगको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. भूपेन्द्र दास
डा. भूपेन्द्र दास
लेखकबाट थप