‘डढेलोको ९९ प्रतिशत कारण मानवीय हो, सचेतना एकदमै जरुरी छ’
काठमाडौँ । फागुन दोस्रो सातादेखि नै देशभरका विभिन्न क्षेत्रमा डढेलो लाग्न सुरु भइसेको छ । जाडो मौसम सकिएसँगै बोटबिरुवामा पालुवा आउने र पुराना पात झर्ने गर्छन् । जमिन पनि सुक्खा हुने हुँदा वसन्त ऋतुमा आगलागीका घटना बढ्ने गर्छ । यो वर्ष हिउँदमा पानी कम परेकाले डढेलोको जोखिम झनै बढ्ने देखिएको छ ।
सुक्खा मौसममा हुने आगलागी कसरी नियन्त्रण गर्नेलगायत यस्तै विषयमा केन्द्रित रहेर वन तथा भू–संरक्षण विभागकी सूचना अधिकारी सबनम पाठकसँग गरिएको कुराकानी :
- नेपालमा डढेलोको अवस्था र जोखिम कस्तो छ ?
नेपालमा डढेलोको अवस्था र जोखिम एकदमै विकराल छ । जलवायु परिवर्तनका कारण प्रत्येक वर्ष डढेलोको घटना बढिरहेका छन् । यसले हाम्रोजस्तो विकसित मुलुकमा ठुलो जोखिम थपेको छ ।
- डढेलोका मुख्य कारण के के हुन सक्छन् ?
सुक्खापन बढ्नाले डढेलो लाग्छ । जब पानी कम पर्छ, जंगलमा डढेलो लाग्न थाल्छ । खेतीपातीदेखि सम्पूर्ण जैविक विविधतामा असर नपर्ने गरी पानी पर्नुपर्ने हो, तर यो वर्ष हिउँदमा पानी नपर्दा सुक्खापन बढेको छ भने आगो लाग्ने सम्भावना पनि उत्तिकै छ ।
- डढेलोबाट प्रभावित क्षेत्र कुन कुन हुन् ?
डढेलो यहाँ लाग्छ भनेर किटानी गर्न त सकिँदैन । तर नेपालका सबै ठाउँ डढेलोबाट प्रभावित छन् । यहाँ आगो लाग्छ, यहाँ लाग्दैन भन्ने अवस्था छैन । तराईमा बढी आगलागी हुने गरेको देखिएको छ । तर पहाडी क्षेत्रमा पनि हावा कताबाट बग्छ, त्यसको आधारमा आगलागी हुने गरेको छ । पहाडका ओरालो क्षेत्रमा बढी आगो लागेको देखिन्छ ।
- डढेलोका कारण भएको क्षतिको अवस्था कस्तो छ ?
हामी आगलागीले जंगल मात्र क्षति भएको देख्छौँ । तर त्यो मात्रै होइन । यसले जंगलका कमिलादेखि जैविक विविधतामा समेत एकदमै असर पारेको छ । आगलागीले वन्यजन्तुलगायत सूक्ष्म जीवजन्तुमा क्षति गरेको छ । कीटजन्य, वनस्पति, जनावरहरूको क्षतिको विवरण निकाल्न सकिने अवस्था छैन । यसका लागि स्रोत साधनको आवश्यक पर्छ । यहाँ क्षति भयो भनेर सर्सर्ती निकालेका हुन्छौँ, तर विस्तृतमा निकाल्न सकिएको छैन ।
- डढेलो नियन्त्रणका लागि सरकारले के कस्ता पहल गर्दै आएको छ ?
डढेलो भनेको लाग्नै नदिने गरी व्यवस्थापन गर्नुपर्छ । त्यसका लागि सचेत नै गराउने हो । सानो आगोको झिल्कोले संसार डढाउँछ भन्ने कुरा भर्खरैको अमेरिकाको आगलागीबाट पाठ सिक्नुपर्छ ।
आगो लाग्नै नदिने सचेतना कार्यक्रम प्रदेशस्तरमा छ, बर्सेनि गरेका पनि छौँ । तर जति प्रभावकारी हुनुपर्ने हो, हुन सकेको देखिँदैन । किनकि, यसमा आमनागरिक नै अग्रसर हुनुपर्छ । यसका लागि विद्यालय शिक्षाबाटै नै सुरु गर्नुपर्छ । आगो लगाउनु हुँदैन भनेर सानैबाट सिकाउनुपर्ने हुन्छ । त्यसपछि मात्रै प्रभावकारिता देखिन्छ ।
- अहिले समुदाय र प्रदेश संरचनामा वन जंगल छन् । स्वामित्वअनुसार जंगलको आगलागी नियन्त्रणको समन्वय कसरी भइरहेको छ त ?
सातै प्रदेशमा यससम्बन्धी हाम्रो कार्यक्रम छ । सातै प्रदेशमा ८४ वटा डिभिजन छन् । सो मातहत सब डिभिजन पनि छन्, सचेतना कार्यक्रम पनि छ । त्यसमा पनि सामुदायिक वनमा पाँचदेखि १० बर्से कार्ययोजना छन् । जसमा वर्षभर के गर्ने भनेर योजना बनाइएको हुन्छ । आगलागीको विषय पनि सम्बोधन भएको छ । फ्रन्टमा उहाँहरू हुनुहुन्छ । उहाँहरूसँगको समन्वय राम्रो भइरहेको छ ।
- डढेलो जोखिम कसरी न्यूनीकरण गर्न सकिन्छ त ?
न्यूनीकरण भनेकै सचेतना हो । नेपालको वन क्षेत्रमा हुने ९९ प्रतिशत आगलागी मानिसकै लापरबाहीबाट भएको देखिएको छ । एक प्रतिशत मात्रै प्राकृतिक रूपमा भएको छ । डढेलो जोखिम न्यूनीकरण गर्न प्रत्येक पालिकामा सचेतना कार्यक्रम हुनु आवश्यक छ । वन मन्त्रालयले गरेको प्रदेशगत र ८४ वटा डिभिजनको कार्य सरकारी काम हो भन्ने मात्रै छ । पालिका र समुदायस्तरमा सचेतना कार्यक्रम हुनु आवश्यक छ । यसले उहाँहरूमा अपनत्व बोध हुन्छ र प्रभावकारी देखिन्छ ।
- डढेलोका कारण पानीको स्रोतमा अल्पकालीन र दीर्घकालीन कस्तो असर पर्छ ? नेपालमा यसको अवस्था कस्तो छ ?
डढेलोले पानी स्रोतमा असर पार्छ नै । किनभने बोटबिरुवा नभएर पानी हुँदैन । पहिला पहाडी क्षेत्रमा रूखैरूख भएका ठाउँहरूमा कुवा हुन्थे । तर ती कुवा अहिले मासिँदै छन् । जहाँ वनस्पति मासिँदै जान्छ, त्यहाँ पानीका स्रोतहरू पनि सुक्छन् । डढेलोले बोटबिरुवा मासिँदा पानीका मुहान सुक्छन् । पहिले र अहिले पहाडमा धेरै खोलानाला सुकेका छन् । सानो खोलामा पनि ठुलै बाढी आउन थालेका छन् । यसको कारण भनेकै वनस्पतिहरू मासिँदै जानु हो । डढेलोले दीर्घकालीन रूपमा पानीको स्रोतमा असर पार्छ ।
- नेपालमा वनमारा घारी मास्न आगो लगाउने चलन छ, जुन जंगलसम्म फैलिने गरेको छ । यस्ता घारी मास्न अरू उपाय छैन ?
वनमारा मास्न आगो लगाउन थाल्यौँ भने वरपरका वनस्पति सखाप हुन्छन् । यसका लागि ‘वनपथ’ अर्थात् अग्निरेखा बनाउनुपर्छ । अग्निरेखाले एक ठाउँमा लगाएको आगो अर्को ठाउँमा जान दिँदैन । आगलागीको सिजनअगावै प्रत्येक वर्ष वनमारालाई सफा गर्नुपर्छ । पातपतिङ्गर बर्सेनि सोर्नुपर्छ । यसबाट कम्पोस्ट मल बनाउन सकिन्छ ।
- डढेलो फैलिन नदिन खेतबारीका पराल र भुसलाई कसरी अर्ग्यानिक तरिकाले डिस्पोज गर्ने ?
खेतबारीबाट आएका पराल, खोस्टा, छ्वालीजस्ता वस्तुहरूबाट आगो लागाउनुभन्दा कम्पोस्ट मल बनाउनु उपयुक्त हुन्छ । यसमा कृषि क्षेत्रका निकायले सघाउनुपर्छ । यसो गर्न सके मल पनि हुन्छ, आगलागी पनि नियन्त्रण गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा
-
आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग
-
सामाजिक सञ्जाल सञ्चालन र नियमनसम्बन्धी विधेयकका प्रावधानहरूमाथि रास्वपाको गम्भीर ध्यानाकर्षण
-
मेयर आले बुद्धिचाल च्याम्पियन
-
१० बजे १० समाचार : रविबारे प्रस्तावको विपक्षी दलमा अब्जेक्सन, विपिनबारे अफवाह भाइरल
-
राष्ट्रिय र्याफ्टिङ च्याम्पियनशीपको उपाधि बागमती प्रदेशलाई