बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : डढेलोको जोखिम

‘डढेलोको ९९ प्रतिशत कारण मानवीय हो, सचेतना एकदमै जरुरी छ’

डढेलोले दीर्घकालीन रूपमा पानीको स्रोतमा असर पार्छ : सबनम पाठक
बिहीबार, १७ माघ २०८१, ०९ : २३
बिहीबार, १७ माघ २०८१

काठमाडौँ । फागुन दोस्रो सातादेखि नै देशभरका विभिन्न क्षेत्रमा डढेलो लाग्न सुरु भइसेको छ । जाडो मौसम सकिएसँगै बोटबिरुवामा पालुवा आउने र पुराना पात झर्ने गर्छन् । जमिन पनि सुक्खा हुने हुँदा वसन्त ऋतुमा आगलागीका घटना बढ्ने गर्छ । यो वर्ष हिउँदमा पानी कम परेकाले डढेलोको जोखिम झनै बढ्ने देखिएको छ । 

सुक्खा मौसममा हुने आगलागी कसरी नियन्त्रण गर्नेलगायत यस्तै विषयमा केन्द्रित रहेर वन तथा भू–संरक्षण विभागकी सूचना अधिकारी सबनम पाठकसँग गरिएको कुराकानी :

  • नेपालमा डढेलोको अवस्था र जोखिम कस्तो छ ?

नेपालमा डढेलोको अवस्था र जोखिम एकदमै विकराल छ । जलवायु परिवर्तनका कारण प्रत्येक वर्ष डढेलोको घटना बढिरहेका छन् । यसले हाम्रोजस्तो विकसित मुलुकमा ठुलो जोखिम थपेको छ । 

  • डढेलोका मुख्य कारण के के हुन सक्छन् ? 

सुक्खापन बढ्नाले डढेलो लाग्छ । जब पानी कम पर्छ, जंगलमा डढेलो लाग्न थाल्छ । खेतीपातीदेखि सम्पूर्ण जैविक विविधतामा असर नपर्ने गरी पानी पर्नुपर्ने हो, तर यो वर्ष हिउँदमा पानी नपर्दा सुक्खापन बढेको छ भने आगो लाग्ने सम्भावना पनि उत्तिकै छ ।  

  • डढेलोबाट प्रभावित क्षेत्र कुन कुन हुन्  ?

डढेलो यहाँ लाग्छ भनेर किटानी गर्न त सकिँदैन । तर नेपालका सबै ठाउँ डढेलोबाट प्रभावित छन् । यहाँ आगो लाग्छ, यहाँ लाग्दैन भन्ने अवस्था छैन । तराईमा बढी आगलागी हुने गरेको देखिएको छ । तर पहाडी क्षेत्रमा पनि हावा कताबाट बग्छ, त्यसको आधारमा आगलागी हुने गरेको छ । पहाडका ओरालो क्षेत्रमा बढी आगो लागेको देखिन्छ । 

  • डढेलोका कारण भएको क्षतिको अवस्था कस्तो छ ? 

हामी आगलागीले जंगल मात्र क्षति भएको देख्छौँ । तर त्यो मात्रै होइन । यसले जंगलका कमिलादेखि जैविक विविधतामा समेत एकदमै असर पारेको छ । आगलागीले वन्यजन्तुलगायत सूक्ष्म जीवजन्तुमा क्षति गरेको छ । कीटजन्य, वनस्पति, जनावरहरूको क्षतिको विवरण निकाल्न सकिने अवस्था छैन । यसका लागि स्रोत साधनको आवश्यक पर्छ । यहाँ क्षति भयो भनेर सर्सर्ती निकालेका हुन्छौँ, तर विस्तृतमा निकाल्न सकिएको छैन । 

  • डढेलो नियन्त्रणका लागि सरकारले के कस्ता पहल गर्दै आएको छ ? 

डढेलो भनेको लाग्नै नदिने गरी व्यवस्थापन गर्नुपर्छ । त्यसका लागि सचेत नै गराउने हो । सानो आगोको झिल्कोले संसार डढाउँछ भन्ने कुरा भर्खरैको अमेरिकाको आगलागीबाट पाठ सिक्नुपर्छ । 

आगो लाग्नै नदिने सचेतना कार्यक्रम प्रदेशस्तरमा छ, बर्सेनि गरेका पनि छौँ । तर जति प्रभावकारी हुनुपर्ने हो, हुन सकेको देखिँदैन । किनकि, यसमा आमनागरिक नै अग्रसर हुनुपर्छ । यसका लागि विद्यालय शिक्षाबाटै नै सुरु गर्नुपर्छ । आगो लगाउनु हुँदैन भनेर सानैबाट सिकाउनुपर्ने हुन्छ । त्यसपछि मात्रै प्रभावकारिता देखिन्छ । 

  • अहिले समुदाय र प्रदेश संरचनामा वन जंगल छन् । स्वामित्वअनुसार जंगलको आगलागी नियन्त्रणको समन्वय कसरी भइरहेको छ त ? 

सातै प्रदेशमा यससम्बन्धी हाम्रो कार्यक्रम छ । सातै प्रदेशमा ८४ वटा डिभिजन छन् । सो मातहत सब डिभिजन पनि छन्, सचेतना कार्यक्रम पनि छ । त्यसमा पनि सामुदायिक वनमा पाँचदेखि १० बर्से कार्ययोजना छन् । जसमा वर्षभर के गर्ने भनेर योजना बनाइएको हुन्छ । आगलागीको विषय पनि सम्बोधन भएको छ । फ्रन्टमा उहाँहरू हुनुहुन्छ । उहाँहरूसँगको समन्वय राम्रो भइरहेको छ । 

  • डढेलो जोखिम कसरी न्यूनीकरण गर्न सकिन्छ त ? 

न्यूनीकरण भनेकै सचेतना हो । नेपालको वन क्षेत्रमा हुने ९९ प्रतिशत आगलागी मानिसकै लापरबाहीबाट भएको देखिएको छ । एक प्रतिशत मात्रै प्राकृतिक रूपमा भएको छ । डढेलो जोखिम न्यूनीकरण गर्न प्रत्येक पालिकामा सचेतना कार्यक्रम हुनु आवश्यक छ । वन मन्त्रालयले गरेको प्रदेशगत र ८४ वटा डिभिजनको कार्य सरकारी काम हो भन्ने मात्रै छ । पालिका र समुदायस्तरमा सचेतना कार्यक्रम हुनु आवश्यक छ । यसले उहाँहरूमा अपनत्व बोध हुन्छ र प्रभावकारी देखिन्छ । 

  • डढेलोका कारण पानीको स्रोतमा अल्पकालीन र दीर्घकालीन कस्तो असर पर्छ ? नेपालमा यसको अवस्था कस्तो छ ? 

डढेलोले पानी स्रोतमा असर पार्छ नै । किनभने बोटबिरुवा नभएर पानी हुँदैन । पहिला पहाडी क्षेत्रमा रूखैरूख भएका ठाउँहरूमा कुवा हुन्थे । तर ती कुवा अहिले मासिँदै छन् । जहाँ वनस्पति मासिँदै जान्छ, त्यहाँ पानीका स्रोतहरू पनि सुक्छन् । डढेलोले बोटबिरुवा मासिँदा पानीका मुहान सुक्छन् । पहिले र अहिले पहाडमा धेरै खोलानाला सुकेका छन् । सानो खोलामा पनि ठुलै बाढी आउन थालेका छन् । यसको कारण भनेकै वनस्पतिहरू मासिँदै जानु हो । डढेलोले दीर्घकालीन रूपमा पानीको स्रोतमा असर पार्छ । 

  • नेपालमा वनमारा घारी मास्न आगो लगाउने चलन छ, जुन जंगलसम्म फैलिने गरेको छ । यस्ता घारी मास्न अरू उपाय छैन ? 

वनमारा मास्न आगो लगाउन थाल्यौँ भने वरपरका वनस्पति सखाप हुन्छन् । यसका लागि ‘वनपथ’ अर्थात् अग्निरेखा बनाउनुपर्छ । अग्निरेखाले एक ठाउँमा लगाएको आगो अर्को ठाउँमा जान दिँदैन । आगलागीको सिजनअगावै प्रत्येक वर्ष वनमारालाई सफा गर्नुपर्छ । पातपतिङ्गर बर्सेनि सोर्नुपर्छ । यसबाट कम्पोस्ट मल बनाउन सकिन्छ । 

  • डढेलो फैलिन नदिन खेतबारीका पराल र भुसलाई कसरी अर्ग्यानिक तरिकाले डिस्पोज गर्ने ? 

खेतबारीबाट आएका पराल, खोस्टा, छ्वालीजस्ता वस्तुहरूबाट आगो लागाउनुभन्दा कम्पोस्ट मल बनाउनु उपयुक्त हुन्छ । यसमा कृषि क्षेत्रका निकायले सघाउनुपर्छ । यसो गर्न सके मल पनि हुन्छ, आगलागी पनि नियन्त्रण गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप