बजेट विवाद : सरकारले वातावरण नबनाए प्रदेशसभा चल्न नदिने माओवादीको चेतावनी
मकवानपुर । प्रदेशसभाको बजेट अधिवेशन अन्त्यसँगै गत असोज १६ बाट बागमती प्रदेशसभाको गतिविधि ठप्प छ ।
सदनका लागि पर्याप्त ‘बिजनेस’ नभएपछि विपक्षी दलले माग गरे पनि सरकारले बैठक राख्न सकेको थिएन । तर, चार महिनापछि माघ १८ का लागि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले माघ १८ गते बिहान ११ः०० बजेका लागि अधिवेशन बैठक आह्वान गरेका हुन् ।
बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको पन्ध्रौँ अधिवेशन आह्वान गरेका हुन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।
प्रदेशसभा आह्वान भए पनि सत्ता र प्रतिपक्षबिचको अन्तर्द्वन्द्वले समस्या हुने देखिएको छ । बजेटमाथिको विवादको असर प्रदेशसभाको अधिवेशनमा समस्याका रूपमा देखिने भएको हो । सत्तापक्षले सहजै प्रदेशसभा सञ्चालनको वातावरण तयार नगरेको प्रतिपक्षको आरोप छ ।
सरकारको रणनीति कुर्दै माओवादी
प्रदेशसभा सञ्चालनमा सरकारको उपस्थितिका आधारमा अघि बढ्ने माओवादी केन्द्रले तयारी गरेको छ । बैठक सञ्चालन हुन नसक्ने बताउँदै आएको माओवादीले केन्द्र सरकारको रणनीतिका आधारमा अघि बढ्ने योजना बनाएको छ ।
माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार सरकारको रणनीतिअनुसार प्रतिपक्षको भूमिका निर्धारण हुन्छ । सरकारले वातावरण तयार बनाए संसद् अघि बढ्न सक्ने उनले बताए । सरकारले प्रदेशसभा सञ्चालनका लागि प्रतिपक्षसँगको छलफल गरी उचित निर्णय गराए मात्र बैठकका कार्यक्रम अघि बढ्ने उनको भनाइ छ । प्रतिपक्ष दलहरूसँगको सहमति कार्यान्वयनमा सरकारले उदासीन भएको उनले आरोप लगाए ।
‘विषेशगरी प्रदेशस्तरमा बनेको कार्यदलको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ । सो कार्यदलको प्रतिवेदनमा समावेश भएको बजेट कार्यान्वयनका सवालमा उचित निर्णय हुनुपर्छ,’ उनले भने, ‘प्रदेशसभाका सदस्यहरूको सिफारिसमा परेको योजनामा बजेट थप गर्ने सहमतिसमेत भएको थियो । त्यसमा पनि सरकारले निर्णय गर्नुपर्छ । विपद् व्यवस्थापनका सन्दर्भमा असोजपछिका बैठकहरूले विषयमा सरकारले ठोस कदम चाल्न सकेको छैन । विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले मृतकलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउनेबाहेक अन्य काम गर्न सकेको छैन ।’
विपद् प्रभावित नागरिकको अस्थायी आवास निर्माणका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत सरकारले नबढाएको उनले बताए । पुनर्निर्माणमा स्रोत सुनिश्चितता गर्न सरकारले नसकेको उनको ठहर थियो ।
राप्रपाले सशक्त भूमिका देखाउँछ: नेता थापा
अर्को प्रतिपक्ष दल राप्रपाले प्रदेशसभामा ठुला पार्टी हाबी भएका आरोप लगाएको छ । पार्टीका संसदीय दलका नेता उद्धव थापाले प्रदेशसभा सञ्चालनको विषयमा सत्ता र प्रतिपक्षबिचको समस्या हल गरेर अघि बढ्नुपर्ने उनले बताए ।
संसद् सञ्चालन गरी नागरिकका समस्या हल गर्न अघि बढ्नुपर्ने उनको भनाइ थियो । बजेट कार्यान्वयनको सन्दर्भमा बनेको कार्यदलको प्रतिवेदन कार्यान्वयन हुन नसकेको र सरकारले प्रतिपक्षको साझा मागलाई सम्बोधन नगरेको उनले बताए ।
‘संसद्लाई सक्रिय र नागरिकका माग मुखरित हुने गरी सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘हिजो बजेट बनाउने अहिले प्रतिपक्षमा छन् । हिजो प्रतिपक्षको हिसाबले सम्झौता गर्नेहरू अहिले सरकार चलाइरहेका छन् । अझै पनि उहाँहरूलाई नै पुगेन भन्ने छ ।’ साना दल तथा अरूलाई देखाएर ठुला दलहरूले तर मार्ने काम गरिरहेका उनको आरोप थियो ।
बजेटका सन्दर्भमा निरन्तर प्रतिपक्षमा बसेको राप्रपाचाहिँ वास्तविक पीडित रहेको उनको जिकिर थियो । ‘ठुला दलहरू सत्ता र प्रतिपक्षको नाममा स्वार्थ सिद्ध गर्न केन्द्रित छन्, राप्रपा संसदबाटै आफ्ना विषयहरू सशक्त उठाउने र आवश्यक परे संसद् बन्द गर्नेसम्मको हैसियत राख्छ,’ थापाले बताए ।
नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले भने सरकार गैँडाको शैलीमा बढिरहेको बताए । सरकार आफ्नै शैलीमा चल्दा नागरिकका समस्या समस्या समबोधन हुन नसकेको उनको भनाइ थियो । सरकारले दुई पटक बजेट कार्यान्वयनका विषयमा सहमति गरेर पनि कार्यान्वयन नगरेको र एकलौटी चलेको उनको आरोप थियो ।
सरकारको काम उचित नरहेकाले आगामी प्रदेशसभाको अधिवेशन बैठकमा प्रतिपक्ष दलहरूबिच छलफल गरेर अघि बढ्ने तयारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविबारे प्रस्तावको विपक्षी दलमा अब्जेक्सन, विपिनबारे अफवाह भाइरल
-
राष्ट्रिय र्याफ्टिङ च्याम्पियनशीपको उपाधि बागमती प्रदेशलाई
-
जनताको अवस्थामा अझै परिवर्तन आएको छैन : अध्यक्ष दाहाल
-
नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक
-
नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा
-
काठमाडौँमा छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु