बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय

२३ औँ स्मृति दिवसमा इस्कन्द शर्माको योगदानबारे चर्चा

बुधबार, १६ माघ २०८१, २१ : ४०
बुधबार, १६ माघ २०८१

काठमाडौँ । रुकुमको कम्युनिस्ट पार्टीका संस्थापक इस्कन्द शर्माको २३ औँ स्मृति दिवसमा उनको योगदानको चर्चा गरिएको छ । 

बुधबार राजधानीमा आयोजित कार्यक्रममा कम्युनिस्ट आन्दोलनमा उनले खेलेको भूमिकाबारे सहभागीले चर्चा गरेका हुन् । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता हेमन्त प्रकाश ओलीले माओवादी आन्दोलनमात्रै नभएर सिंगो कम्युनिस्ट आन्दोलनमा इस्कन्द शर्माबाट शिक्षा प्राप्त भएको बताए । उनले प्रतिबन्धकालमा पनि शर्माले कम्युनिस्टहरूलाई संरक्षण र निकै सहयोग गरेको उनले स्मरण गरे । 

लुम्बिनी प्रदेशका पूर्वसभामुख तथा संघीय सांसद पूर्णबहादुर घर्तीले नयाँ पुस्तालाई कम्युनिस्ट आन्दोलनमा अघि बढाउन शर्माको भूमिका उल्लेखनीय रहेको बताए । उनले शर्माबाट धेरै कुरा सिक्ने सकिने समेत सो क्रममा बताए । 

माओवादी केन्द्रका नेता गणेशमान पुनले पनि शर्माबाट आफूले धेरै कुरा सिक्न पाएको बताए भने चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीले इस्कन्द शर्मा रुकुम कम्युनिस्ट आन्दोलनको प्रेरणाको स्रोत भएको बताए । यस्तै माओवादी केन्द्र एसिया प्रदेश समितिका अध्यक्ष शनिकुमार ओलीले शर्मा रुकुम कम्युनिस्ट आन्दोलनमा खेलेको भूमिका सराहनीय रहेको बताए । यस्तै एसिया प्रदेश समिति सहइन्चार्ज ओम शर्माले पनि इस्कन्द शर्मा रुकुमको कम्युनिस्ट आन्दोलनका संस्थापक मात्रै नभएर समाजसेवामा पनि उत्तिकै सक्रिय व्यक्तित्व रहेको स्मरण गरे । 

यस्तै कार्यक्रमको अन्त्यमा शर्माका छोरा तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बुबाकै प्रेरणाले माओवादी आन्दोलनलाई आफूहरूले गति दिन लागिपरेको बताए । समाजलाई रूपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले युवाहरु यस अभियानमा सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिए । 

स्मृति दिवसको अवसरमा शर्माका सिङ्गो परिवार र रुकुमेली कम्युनिस्ट आन्दोलनका सहयात्री तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप