बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय

अमेरिकाको  हिस्सा बन्न चाहँदैनन् अधिकांश ग्रीनल्याण्डबासी

बुधबार, १६ माघ २०८१, १६ : १८
बुधबार, १६ माघ २०८१

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार ग्रीनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउने कुरा गर्दै आएका छन् । ग्रीनल्याण्डका जनता साँच्चै अमेरिकाको हिस्सा बन्न चाहन्छन् त ? 

हालै भएको एउटा जनमत सर्वेक्षणले ग्रीनल्यान्डबासीको चाहना उजागर गरेको छ । यसले ट्रम्पलाई झट्का दिने निश्चितप्रायः छ । मंगलबार जारी गरिएको सर्वेक्षणको नतिजाअनुसार ८५ प्रतिशत जनता ग्रीनल्याण्ड अमेरिकाको हिस्सा बनोस् भन्ने चाहँदैनन् । ग्रीनल्याण्ड डेनमार्कको एक क्षेत्र हो । सर्वेक्षणसँग सम्बन्धित जानकारी डेनिस पत्रिका बर्लिङ्स्केले दिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यस महिनाको सुरुमा ग्रीनल्याण्ड अमेरिकी सुरक्षाको लागि महत्त्वपूर्ण भएको र डेनमार्कले रणनीतिक रूपमा महत्त्वपूर्ण टापुको नियन्त्रण त्याग्नुपर्ने बताएका थिए । तर डेनिस पत्रिकाद्वारा गरिएको पोलस्टर भेरियन सर्वेक्षणले भने केवल ६ प्रतिशत ग्रिनल्यान्डबासी मात्रै यसको पक्षमा छन् । अर्को ९ प्रतिशतले यसबारे कुनै राय राखेका छैनन् । सोमबार मात्रै डेनमार्कले ग्रिनल्यान्डमा आफ्नो सैन्य उपस्थिति बढाउन १४ अर्ब ६० करोड क्राउन (२ अर्ब ४ करोड डलर अमेरिकी डलर)  खर्च गर्ने बताएको छ ।

मेक्सिको भन्दा ठुलो भू–भाग र ५७ हजार जनसङ्ख्या भएको ग्रीनल्याण्डलाई २००९ मा व्यापक स्वशासन स्वायत्तता प्रदान गरिएको थियो । ग्रीनल्याण्डका प्रधानमन्त्री मुट एगेडेले स्वतन्त्रताको पक्षमा जोड दिएका छन् । उनले बारम्बार टापु बिक्रीको लागि छैन र यसका जनतालाई आफ्नो भविष्यको निर्णय गर्ने अधिकार छ भनेर भनिरहेका छन् । युरोपबाट उत्तरी अमेरिका जाने सबैभन्दा छोटो मार्ग यही टापु हुँदै जाने भएकोले पनि ग्रिनल्याण्ड अमेरिकाको लागि रणनीतिक महत्वको ठाउँ हो ।

फ्रान्सले ग्रीनल्याण्डमा सेना पठाउने

ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको टिप्पणीको प्रतिक्रियामा फ्रान्सले ग्रीनल्याण्डमा सेना तैनाथ गर्ने विचार गरिरहेको भन्दै टर्कीको समाचार आउटलेट अनाडोलु एजेन्सीले एउटा समाचार छापेको थियो । फ्रान्सले डेनमार्कसँग यस विषयमा छलफल गरेको फ्रान्सेली विदेशमन्त्री जीन–नोएल ब्यारोटले पुष्टि गरेका छन् । तर तत्काल कारबाहीको कुनै योजना नभएकोमा उनले जोड दिएका थिए । तर यो डेनमार्कको इच्छा नभएको उनले बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप