बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय
खोप अभियान

कर्णालीका १ लाख २० हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बुधबार, १६ माघ २०८१, १५ : ५९
बुधबार, १६ माघ २०८१

सुर्खेत । कर्णालीका १ लाख २० हजार ५१० जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाइने भएको छ । नियमित खोपको लक्षित समूह अन्तर्गतका २१ हजार ६५७ जना किशोरी र अभियानको लक्षित समूह अन्तर्गतका ९८ हजार ८५८ किशोरीलाई एचपीभी खोप लगाइने भएको हो । 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार नियमित खोपको लक्षित समूह अन्तर्गत कक्षा ६ मा अध्ययनरत २० हजार २२३ र अभियानको लक्षित समूह अन्तर्गत कक्षा ७ देखि १० मा अध्ययनरत ७९ हजार १३४ किशोरीलाई उक्त खोप लगाइने छ । निर्देशनालयको तथ्याङ्कमा कर्णालीका २१ हजार १५३ जना छात्राहरू विद्यालयको पहुँच बाहिर छन् । विद्यालय नजाने छात्राहरूलाई पनि खोप लगाइने छ । त्यस्ता छात्राहरू १० वर्ष उमेर समूहका १ हजार ४३४ र ११ देखि १४ वर्ष उमेर समूहका १९ हजार ७१९ रहेका छन् । यद्यपि शिक्षा सम्बद्ध निकायहरुले भने पछिल्लो समय अधिकांश छोरीहरू विद्यालयको पहुँचमा पुगेको तथ्याङ्कहरू देखाउँछन् । 

खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने छ । यद्यपि कर्णालीका हिमाली क्षेत्रहरूमा भौगोलिक कठिनाइका कारण केही ढिलाइ पनि हुन सक्ने निर्देशनालयले जनाएको छ । 

कुन जिल्लाका कतिलाई लगाइँदै छ खोप ?

photo-1

खोपको औचित्य 

नेपालमा पाठेघरको मुखको क्यान्सरका बिरामी हुने र मृत्यु हुनेको सङ्ख्या उच्च रहेको छ । नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको छ । त्यस्तै हरेक वर्ष १ हजार ३१३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ ।

‘महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण हो,’ स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले भने, ‘क्यान्सरबाट महिलाको मृत्यु हुने  पहिलो मुख्य कारण रहेको हो ।’

उनका अनुसार स्वास्थ्य संस्थाले कक्षा ६ देखि १० सम्म अध्ययन हुने हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर ती कक्षाका सबै छात्राहरूलाई एचपीभी खोप दिने छ ।  विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरू र छुट भएका कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट एचपीभी खोप दिने उनले बताए । 

विद्यालय नभएका गाउँ, टोल र पिछडिएका वर्ग/समुदायको पहुँचको लागि थप खोप केन्द्रबाट एचपीभी खोप अभियान सञ्चालन हुने महिनामा उक्त खोप दिने व्यवस्था गरिने पनि उनको भनाइ छ । प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. सुवास शर्माले विश्वमा महिलाहरूमा हुने क्यान्सर मध्येमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरको रूपमा रहेको बताए । 

यो रोग ह्यूमन प्यापिलोमा भाइरसबाट सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, म्युकस मेम्ब्रेन, यौनाङ्गबाट निस्कने तरल पदार्थसँगको सम्पर्कबाट सर्ने गर्छ । साथै मुख्य गरेर उक्त भाइरसबाट सङ्क्रमित व्यक्तिसँग यौन सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने उनले बताए । 

  • लक्षणहरू

डा. शर्माका अनुसार यौन क्रियाकलापमा सक्रिय अधिकांश महिला जीवनकालमा एचपीभीबाट सङ्क्रमित हुन्छन् तर एचपीभी सङ्क्रमण भएको सुरुको अवस्थामा कुनै पनि लक्षण, चिन्हहरू देखिँदैनन् । यस्तै मानव शरीरमा क्यान्सर गराउने उच्च जोखिम भएका एचपीभी भाइरसको पटक–पटक सङ्क्रमण भएर २० वर्षसम्म सङ्क्रमण रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ । 

‘पाठेघरको मुखको क्यान्सर भएमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअलपता हुने, कमजोर महसुस हुने जस्ता लक्षण तथा चिन्हहरू देखिन्छन्,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप