मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

उमेरको ‘मिसन–८४’ होइन, भिजनसहितको ‘मिसन–८४’ बनाऔँ

बुधबार, १६ माघ २०८१, १५ : १५
बुधबार, १६ माघ २०८१

अब त अति भइसक्यो । देउवादाइ, ओली बा ! तपाईंहरू राजनीतिबाट बिदा लिनुस्; भजन–कीर्र्तन गर्दै र सुन्दै तीर्थयात्रा गर्नुस्; तपाईंहरूको जोडी गजबको सुहाउँदो देखिन्छ— यसो भन्नेहरू देशमा धेरै भइसके होलान् तर देउवादाइ सकिनसकी घिस्रिँदै पुनः एकपटक देशका लागि ३९औँ प्रधानमन्त्री र आफ्नो राजनीतिक जीवनकालमा छैटौँपटक प्रधानमन्त्री बन्ने कछुवा गतिमा देखिन्छन् । 

देशका बहालवाला ३८औँ प्रधानमन्त्री केपी शर्मा ओलीको उमेर ०८१ फागुन ११ गते ७४ वर्ष पुग्नेछ । देशमा राणातन्त्र अन्त्यपश्चात्को साढे सात दशकमा सातैपटक संविधान फेर्दा पनि आम नागरिकले अवस्था फेरिएको महसुस गर्न सकेका छैनन् । देशमा पटकपटक हिंसात्मक तथा अहिंसात्मक आन्दोलन भए । ती आन्दोलनले नागरिकका राजनीतिक अधिकारको सुनिश्चितता गरे पनि नागरिकको जीवनस्तरमा कुनै सार्थक परिवर्तन भएको छैन । 

प्रजातन्त्र पुनस्र्थापना (०४६ को परिवर्तन) पछि मुलुकमा ६ वटा आमनिर्वाचन भए । एकपछि अर्काे निर्वाचनले समयसापेक्ष प्रगतिशील विचार र विधिको शासनलाई आत्मसात गर्दै लैजानुपर्ने हो तर पटक–पटक उही पुराना नेता नेतृत्वमा आउने क्रम बढेको छ । उनीहरुबिचको खिचातानीले गर्दा देशले अग्रगति लिन सकेको छैन । उनीहरुकै ‘सिन्डिकेट’का कारण जनताले पनि नयाँ जनप्रतिनिधि छान्ने अवसर पाएका छैनन् । 

आज देशमा स्थापित र अस्तित्वमा रहेका जति पार्टी छन्, ती पार्टी युवाकै बलबुतामा खोलिएको र हाँकिएको इतिहास छ । बीपी कोइराला ३३ वर्षमै कार्यवाहक सभापति, ३९ वर्षमा पार्टी सभापति र ४६ वर्षको हुँदा नेपालको प्रधानमन्त्री भइसकेका थिए ।

०८४ को निर्वाचनलाई राजनीतिक पार्टीहरूले मिसन ८४ को एजेन्डा बनाएका त छन् तर पुरानै नेताबाट नयाँ भिजनको खाका कोरिँदैन । सम्भवतः मिसन ८४ मा ८४ वर्ष पुगेका नेताले पनि भाग लिनेछन् । २०८४ मा हुने निर्वाचन होस् वा २०८९ हुने निर्वाचन होस्, जहिलेसम्म राजनीतिक पार्टीहरूमा देखिने गरी उल्लेखनीय परिवर्तन हुँदैन तबसम्म पार्टीभित्रका पुरानै पात्रले पदीय मर्यादा क्रमको हवाला दिँदै चक्काजाम गरिरहन्छन् र सुयोग्य युवाहरूले नेतृत्वको अवसर प्राप्त गर्दैनन् । अहिले राजनीतिक पार्टीहरूभित्र पनि एकखाले बहस चलिरहेको छ भन्ने सुनिन्छ, ‘युवाले हुँदैन । अनुभवी र योगदानमा आधारित नेता नै उपयुक्त हो ।’ 

उमेरका हिसाबले मात्रै युवा भएर हुँदैन भन्न खोजिएको हो भने यो कुरासँग आंशिक सहमत हुन सकिएला, पूरै सहमत हुन सकिँदैन । राष्ट्रिय राजनीतिमा हामी संस्कार र आचरणको खडेरीबाट ज्यादा प्रताडीत छौँ । हाम्रो राजनीतिमा उमेर वा युवाको कुरा मात्र होइन उमेरसँगै विश्वदृष्टिको कुरा पनि जोडिएर आएको छ । युवा नेतृत्वमा राजनीतिक संस्कार र आचरण प्रधान हुनुपर्छ । दोस्रो कुरा, देशको अर्थतन्त्र उकास्ने स्पष्ट नीति–योजना र कूटनीति पनि एउटा नेतासँग हुनुपर्छ । 

नागरिकका असन्तुष्टिको सही कारण पत्ता लगाई संविधानमा व्यवस्था भए अनुरुप रोजगार, शिक्षा, स्वास्थ्य, सांस्कृतिक पहिचान आदि जस्ता आकांक्षा पूरा गर्ने कर्तव्य युवा राजनीतिकर्मीको हो । 

जनताले खोजेको नेतृत्व पुस्तान्तरण 

आज देशमा स्थापित र अस्तित्वमा रहेका जति पार्टी छन्, ती पार्टी युवाकै बलबुतामा खोलिएको र हाँकिएको इतिहास छ । बीपी कोइराला ३३ वर्षमै कार्यवाहक सभापति, ३९ वर्षमा पार्टी सभापति र ४६ वर्षको हुँदा नेपालको प्रधानमन्त्री भइसकेका थिए । पार्टी सभापति शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा ४८ वर्षका थिए ।

माओवादी पार्टीका अध्यक्ष प्रचण्डले भूमिगत राजनीति गर्दा ३५ वर्षमै पार्टीको महासचिव भएका थिए । नारायणकाजी श्रेष्ठ पनि ३५ वर्षमै तत्कालीन एकता केन्द्रको महासचिव भएका थिए । मदन भण्डारी ४० वर्षको उमेरमा महासचिव बनेका थिए । वैकल्पिक राजनीतिका प्रणेता उज्ज्वल थापा ३६ वर्षकै उमेरमा विवेकशील साझा पार्टी अध्यक्ष भएका थिए । 

उज्ज्वल थापाले संस्थाप अध्यक्ष हुँदै पहिलो अधिवेशनबाट निर्वाचित भएर एक कार्यकाल नेतृत्व गरेपश्चात् मिलन पाण्डेलाई नेतृत्व हस्तान्तरण गरे । नेपाली राजनीतिमा बाँचुन्जेल घिसिपिटी गर्दै पावरमा बसिरहने कुसंस्कारयुक्त परम्परा तोड्न एक वा दुईभन्दा बढी कार्यकालको नेतृत्व नगर्ने स्वर्गीय नेता उज्ज्वल थापा नेपाली राजनीतिमा पहिलो उदाहरणीय पात्र हुन् । उनले आफूपछिको पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने थितिको सुरुवात त गरे, तर त्यो पुराना नेताहरूका लागि उदाहरणीय बन्न सकेन । 

हाम्रा अग्रज नेताहरू विश्व राजनीतिलाई हेरेर पनि आफूले राजनीतिक रूपमा विश्राम लिनुपर्छ भन्ने सिक्नुपर्छ । सान्ना मरिन ३६ वर्षकै उमेरमा फिनल्यान्डको प्रधानमन्त्री बनेकी थिइन् । इम्यानुअल म्याक्रोन ४० वर्षकै उमेरदेखि फ्रान्सको नेतृत्व गरे । ग्याब्रियल बोरिक ३६ वर्षमै चिलीको सरकार प्रमुख बने । अस्ट्रियाका चान्सलरले ३१ वर्षमा देशको नेतृत्व सम्हालेका थिए । भाइस–चान्सलरलाई निर्वाचन प्रभावित पार्ने सन्दर्भमा कुराकानी गरेको भनेर समाचार सार्वजनिक भएपछि उनले नैतिकताका आधारमा केही समयअघि राजीनामा दिए । हाम्रा देशका नेताहरू ठुल्ठुला काण्डमा मुछिँदा र जोडिँदा पनि नैतिकताका आधारमा राजीनामा दिँदैनन् । 

कांग्रेस, एमाले र माओवादीभित्र परिवर्तन 

युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक विधिद्वारा महामन्त्री र जनअनुमोदनमार्फत नागरिकका सर्वाधिक लोकप्रिय जनप्रतिनिधि बने । 

अहिले नेपाली कांग्रेसभित्र नीति र नेतृत्व दुवैमा परिवर्तनको आवश्यकता रहेको भन्दै गगन थापाले पार्टी सभापति देउवाको स्थान लिने र भावी प्रधानमन्त्रीका रूपमा आफूलाई अब्बल साबित गर्न जबर्जस्त गृहकार्य गर्दै छन् । यो खालको प्रयत्न र पहल आवश्यक छ । 

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले उमेर हदका कारण पनि सक्रिय राजनीतिबाट विश्राम लिनुपर्छ । चार दशकदेखि एउटै पुस्ताबाट शासित नेपाली नागरिकलाई केही हदसम्म राहत मिल्नेछ । सुखी नेपाली समृद्ध नेपालको खाका कोर्ने पालो योगेशहरूको काँधमा आउनुपर्छ । 

माओवादीले आफ्नो खस्किँदै गएको साख जोगाउन सत्तामोहबाट पर रहेर जनतासम्म पुग्नुपर्छ । पार्टीमा युवा आवाज र नेतृत्वलाई महत्त्व दिइनुपर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश भट्ट आश्रिन
सुरेश भट्ट आश्रिन
लेखकबाट थप