सचिन, पोन्टिङ र द्रविडको कीर्तिमानलाई ओझेलमा पारे स्मिथले

काठमाडौँ । पछिल्लो टेस्ट शृङ्खलामा भारतलाई हराएपछि उत्साही देखिएको अस्ट्रेलियाको क्रिकेट टोली अहिले श्रीलंका भ्रमणमा छ । श्रीलंका भ्रमणका क्रममा अस्ट्रेलियाले आयोजक राष्ट्रसँग टेस्ट शृङ्खला खेल्दैछ । दुई टेस्टको यो शृङ्खला पनि आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपकै एउटा अंग हो ।
त्यसमध्ये पहिलो टेस्ट बुधबारदेखि गालेमा सुरु भएको छ । पहिलो टेस्टमा अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको छ । पहिलो टेस्टको पहिलो दिन अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले एउटा गतिलो कीर्तिमान आफ्नो नाममा पारेका छन् ।
टोलीको कप्तानसमेत रहेका स्मिथले एक रन बनाएसँगै उक्त कीर्तिमान आफ्नो नाममा पारेका हुन् । एक रन बनाएसँगै उनले सचिन तेन्दुल्कर, युनिस खान, रिकी पोन्टिङ, राहुल द्रविडजस्ता महान् खेलाडीलाई पछि पारे ।
स्मिथले टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पुरा गर्ने ब्याट्सम्यानको सूचीमा सचिनलाई पछि पारेका हुन् । श्रीलंकाविरुद्धको पहिलो टेस्ट सुरु हुनुअघि ३५ वर्षीय स्मिथले टेस्ट क्रिकेटमा नौ हजार नौ सय ९९ रन बनाएका थिए । श्रीलंकाविरुद्धको पहिलो टेस्टमा उनी अर्धशतक बनाउँदै क्रिजमा छन् । टेस्ट क्रिकेटमा उनले बनाएको यो ४२औँ अर्धशतक हो ।
उनी टेस्ट क्रिकेटमा १० हजार रन पुरा गर्ने विश्वकै १५औँ खेलाडी पनि बनेका छन् । यस्तो उपलब्धि हासिल गर्ने उनी अस्ट्रेलियाका चौथो ब्याट्सम्यान हुन् । यसअघि, अस्ट्रेलियाका लागि एलन बोर्डर, स्टिभ वा र रिकी पोन्टिङले टेस्ट क्रिकेटमा १० हजार रन पुरा गरेका थिए ।
विश्व टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पुरा गर्ने ब्याट्सम्यानको सूचीमा भने उनी दोस्रो स्थानमा आसीन छन् । यो सूचिमा पहिलो स्थानमा वेस्ट इन्डिजका महान् ब्याट्सम्यान ब्रायन लारा रहेका छन् । लाराले एक सय ११ टेस्टमा १० हजार रन पुरा गरेका थिए ।
स्मिथले भने एक सय १५ टेस्ट खेल्दै यो उपलब्धि हासिल गरेका हुन् । श्रीलंकाका प्रभावशाली पूर्वब्याट्सम्यान कुमार सांगाकाराले पनि एक सय १५ टेस्ट खेल्दै १० हजार रन पुरा गरेका थिए । पाकिस्तानका युनिस खानले एक सय १६ टेस्टमा यो उपलब्धि हासिल गरेका थिए ।
यसैगरी, रिकी पोन्टिङले एक सय १८ टेस्टमा, जो रुटले एक सय १८ टेस्टमा, राहुल द्रविडले एक सय २० टेस्टमा र सचिन तेन्दुल्करले एक सय २२ टेस्टमा १० हजार रनको कोशेढुंगा पार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित