सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

सचिन, पोन्टिङ र द्रविडको कीर्तिमानलाई ओझेलमा पारे स्टिभन स्मिथले

बुधबार, १६ माघ २०८१, १५ : ०१
बुधबार, १६ माघ २०८१

काठमाडौँ । पछिल्लो टेस्ट शृंखलामा भारतलाई हराएपछि उत्साही देखिएको अस्ट्रेलियाको क्रिकेट टोली अहिले श्रीलंका भ्रमणमा छ । श्रीलंका भ्रमणका क्रममा अस्ट्रेलियाले आयोजक राष्ट्रसँग टेस्ट शृंखला खेल्दैछ । दुई टेस्टको यो शृंखला पनि आईसीसी वल्र्ड टेस्ट च्याम्पियनसिपकै एउटा अंग हो । 

त्यसमध्ये पहिलो टेस्ट बुधबारदेखि गालेमा सुरु भएको छ । पहिलो टेस्टमा अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको छ । पहिलो टेस्टको पहिलो दिन अस्ट्रेलियन ब्याट्सम्यान स्टिभन स्मिथले एउटा गतिलो कीर्तिमान आफ्नो नाममा पारेका छन् ।

टोलीको कप्तानसमेत रहेका स्मिथले एक रन बनाएसँगै उक्त कीर्तिमान आफ्नो नाममा पारेका हुन् । एक रन बनाएसँगै उनले सचिन तेन्दुल्कर, युनिस खान, रिकी पोन्टिङ, राहुल द्रविडजस्ता महान खेलाडीलाई पछि पारे । 

स्मिथले टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पुरा गर्ने ब्याट्सम्यानको सूचिमा सचिनलाई पछि पारेका हुन् । श्रीलंकाविरुद्धको पहिलो टेस्ट सुरु हुनुअघि ३५ वर्षीय स्मिथले टेस्ट क्रिकेटमा नौ हजार नौ सय ९९ रन बनाएका थिए । श्रीलंकाविरुद्धको पहिलो टेस्टमा उनी अर्धशतक बनाउँदै क्रिजमा छन् । टेस्ट क्रिकेटमा उनले बनाएको यो ४२औँ अर्धशतक हो । 

उनी टेस्ट क्रिकेटमा १० हजार रन पुरा गर्ने विश्वकै १५औँ खेलाडी पनि बनेका छन् । यस्तो उपलब्धि हासिल गर्ने उनी अस्ट्रेलियाका चौथो ब्याट्सम्यान हुन् । यसअघि, अस्ट्रेलियाका लागि एलन बोर्डर, स्टिभ वाँ र रिकी पोन्टिङले टेस्ट क्रिकेटमा १० हजार रन पुरा गरेका थिए । 

विश्व टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पुरा गर्ने ब्याट्सम्यानको सूचिमा भने उनी दोस्रो स्थानमा आसिन छन् । यो सूचिमा पहिलो स्थानमा वेस्ट इन्डिजका महान ब्याट्सम्यान ब्रायन लारा रहेका छन् । लाराले एक सय ११ टेस्टमा १० हजार रन पुरा गरेका थिए । 

स्मिथले भने एक सय १५ टेस्ट खेल्दै यो उपलब्धि हासिल गरेका हुन् । श्रीलंकाका प्रभावशाली पूर्वब्याट्सम्यान कुमार सांगाकाराले पनि एक सय १५ टेस्ट खेल्दै १० हजार रन पुरा गरेका थिए ।  पाकिस्तानका युनिस खानले एक सय १६ टेस्टमा यो उपलब्धि हासिल गरेका थिए । 

यसैगरी, रिकी पोन्टिङले एक सय १८ टेस्टमा, जो रुटले एक सय १८ टेस्टमा, राहुल द्रविडले एक सय २० टेस्टमा र सचिन तेन्दुल्करले एक सय २२ टेस्टमा १० हजार रनको कोशेढुंगा पार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप