सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

पाथीभरा केबलकार निर्माण : आन्दोलनरत पक्षसँग वार्ताको माध्यमबाट समस्या समाधान गर्न सांसद भट्टराईको माग

बुधबार, १६ माघ २०८१, १४ : ५८
बुधबार, १६ माघ २०८१

काठमाडौँ । प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले पाथीभरा केबलकार निर्माणका क्रममा भएको झडपमा घाइते भएकाको उपचारको व्यवस्था गरी अविलम्ब वार्ताको माध्यमबाट समस्या समाधान गर्न माग गरेका छन् ।  बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ताप्लेजुङमा निर्माणाधीन पाथीभरादेवी मुकुम्लुङ केबलकार सम्बन्धमा धारणा सार्वजनिक गर्दै ताप्लेजुङ का सांसद भट्टराईले यस्तो माग गरेका हुन् । 

सांसद भट्टराईले लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकार सबैको भएको भएपनि शान्तिपूर्वक र सूसभ्य हुनुपर्ने बताए । उनले केबलकार निर्माण कम्पनी र स्थानीयको समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्ने बताए । उनले परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित नगर्ने भन्दै आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन आग्रह गरे । उनले सरकारसँग पनि गिरफ्तार भएका व्यक्तिहरू रिहा गरी घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गरे । 

सांसद भट्टराईले केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय करलगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुनेगरी सर्वपक्षीय समिति निर्माण गर्नुपर्ने बताए । उनले केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कारबाहीलाई सहभागितामूलक तथा पारदर्शी ढंगले अघि बढाउन माग गरे । उनले केबलकार कम्पनीले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निःशुल्क सेवा दिने घोषणा गर्नुपर्ने बताए । 

सांसद भट्टराईले प्रभावित क्षेत्रका नागरिकहरूलाई सुलभ शेयरको व्यवस्था गर्नुपर्ने बताए । उनले रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरे । उनले केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियतका साथै स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्नेमा उल्लेख गरे । उनले पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्बाध रूपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष स्थापना गर्नुपर्ने बताए । उनले सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जगेर्ना र संवर्द्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माणका साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न क्रियाकलापहरू अघि बढाउन माग गरे ।

उनले भने,‘लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सूसभ्य हुनुपर्दछ । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्दछ। परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित गर्दैन । यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गर्दै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु ।’ 

सांसद भट्टराईले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पूरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार कम्पनीले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम सुरु गरेको उल्लेख गरे । पाथीभराको मुख्य मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने उनले बताए । उनले पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेण्ट नबन्ने र बन्न नदिने प्रतिबद्धता जनाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप