सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक १५ वर्षमा १८ किलोमिटर पिच
![सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक १५ वर्षमा १८ किलोमिटर पिच](https://npcdn.ratopati.com/media/news/saljhandi-sadak_blVc56NSeH.jpg)
बुटवल । २०६६ सालबाट सुरु भएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ ।
रुपन्देहीको सालझन्डीबाट बागलुङको ढोरपाटनसम्म जोड्ने उद्देश्यले अघि बढाइएको यो योजना अन्तर्गत १५ वर्षमा १८ किलोमिटर पिच भएको छ ।
कुल १९७ किलोमिटर लम्बाइको सडकमध्ये हालसम्म १८ किलोमिटर पिच भएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक परियोजना कार्यालयले जनाएको छ । यो सडकको १५ किलोमिटर मध्यपहाडी लोकमार्गमा पर्छ भने बाँकी १८२ किलोमिटर सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक परियोजनाले निर्माण गर्नुपर्ने छ ।
सालझण्डीको कञ्चन खोलामा ५ किमी र अर्घाखाँचीमा १४ किमी सडक पिच भएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाले जनाएको छ । ७० किलोमिटर पिच गर्न विभिन्न ४ ठाउँमा बहुवर्षे ठेक्का लगाएर ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।
आयोजना प्रमुख गागल बहादुर भण्डारीले सरकारले आवश्यक बजेट विनियोजन नगर्दा पिचको काम कम देखिएको दाबी गरे । पर्याप्त बजेट विनियोजन नहुनु, ठेकदारको अटेरीपन, अर्घाखाँचीको सन्धिखर्कमा स्थानीयसँग विवाद लगायतका कारण सुस्त गतिमा काम अघि बढेको उनले बताए ।
आयोजना अन्तर्गत रुपन्देहीमा ५ किलोमिटर, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र बागलुङ जिल्लामा ५० किलोमिटर सडक पर्दछ ।
- हाल कहाँ–कहाँ काम भइरहेको छ ?
लुम्बिनी र गण्डकी प्रदेशका गरी ५ जिल्लालाई छुने यो सडक निर्माणको काम विभिन्न ठाउँमा भइरहेको छ । पाल्पाको खुसार्नेदेखि अर्घाखाँचीको पटैटीसम्म २२ किलोमिटर पिच गर्न ठेक्का सम्झौता भएको छ । पाल्पाको खुसार्नेदेखी कन्चन खोलासम्म १३ किलोमिटर पिचको ठेक्का भएको छ । गुल्मीको पुर्कोट दहदेखि अर्खावाङ्गसम्मको १९ किलोमिटर, गुल्मीको सिर्सनीदेखि गर्गरसम्म ७ किलोमिटर, अर्घाखाँचीको माटे भन्डारादेखि गुल्मीको पुर्कोटदह सिर्सनीसम्म २६ किलोमिटर बहुवर्षे ठेक्काका आधारमा काम भइरहेको छ ।
उक्त परियोजनामा पुलका लागि ५ लाख रुपैयाँमात्रै बजेट विनियोजित भएको छ । पछिल्लो समय मदन भण्डारी लोकमार्ग समेत जोडेर हेर्दा कुल १९७ किलोमिटरमध्ये १० वटा पुल निर्माण गर्नुपर्ने भए पनि ८ वटा निर्माण भएको उक्त सडक परियोजनाकी सूचना अधिकारी कृष्टिना थापाले बताइन् ।
तर दुई वटा पुल निर्माण नहुँदै समस्या देखिएपछि अर्को डिजाइन गर्न फाइल आएको उनले खुलाइन् । बागलुङ दोवल खोलाको पुल डिजाइन २०७४ सालमा भए पनि तर ठेक्का नलगाउँदै ०७७ सालमा आएको बाढीले खोलाको स्वरूप नै परिवर्तन गरेको थियो । ढोरपाटन नगरपालिकामा पर्ने दोवल खोलाको पुल र बहुला बाँसेको पुलको नक्सा डिजाइन नमिलेपछि फेरि अर्को नक्सा बनाउनुपर्ने भएको हो ।
करिब ३ वर्षपछि पुन सालझन्डी–ढोरपाटन सडक आयोजनालाई नै पुल डिजाइन गर्न जिम्मेवारी दिइएको छ । यद्यपि बजेट भने जम्मा ५ लाख रुपैयाँमात्र विनियोजन भएको हो । बजेट अभावका कारण ती दुई पुलको ठेक्का लगाउन तत्काल सम्भव नरहेको आयोजना प्रमुख भण्डारीले बताए ।
यो सडक निर्माण भएपछि अर्घाखाँचीबाट बुटवल आउन २७ किलोमिटर दूरी कम पर्छ । यस्तै बुटवलबाट अर्घाखाँची र गुल्मीको यात्रा पनि छोटो हुनेछ । यो सडक निर्माण भएपछि लुम्बिनी आएका पर्यटकहरूलाई नेपालको एकमात्र सिकार आरक्ष बागलुङको ढोरपाटनमा लैजान सकिने बुटवलका पर्यटन व्यवसायी माधव नेपालले बताए ।
- बजेट कार्यान्वयनको अवस्था
८ अर्बको डीपीआर भएको सडक निर्माणमा ढिलाइसँगै लागत पनि बढ्दै गएको छ । ८ अर्बको अनुमानित लागत रहेको सडक परियोजनाको बजेट ११ अर्ब पुग्ने आयोजना प्रमुख भण्डारीको भनाइ छ ।
यो आयोजनाका लागि पछिल्लो ५ वर्षमा २ अर्ब ३ करोड २१ लाख रुपैयाँ खर्च भएको छ । उक्त सडक परियोजनाकी सूचना अधिकारी कृष्टिना थापाका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २३ करोड बजेट विनियोजन भएकोमा २१ करोड ५७ लाख रुपैयाँ खर्च भएको थियो ।
आर्थिक वर्ष २०७८/०७९ मा ४३ करोड बजेट विनियोजन भएकोमा ४० करोड ६६ लाख खर्च भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा ५३ करोड १७ लाख बजेटमध्ये ५३ करोड १३ लाख खर्च हुँदा आर्थिक वर्ष २०८०/०८१ मा ५० करोड ८७ लाख बजेटमध्ये ५० करोड ८५ लाख रुपैयाँ खर्च भएको छ ।
चालु आर्थिक वर्षमा ४५ करोड ७९ लाख बजेटमध्ये हालसम्म ३७ करोड खर्च भइसकेको छ । चालु आर्थिक वर्षको ४५ करोडमध्ये १७ करोड गत वर्ष काम गरेको ठेकदारलाई भुक्तानी गर्नुपर्ने र बाँकी २८ करोडमा नयाँ काम गर्नुपर्ने कार्यालयका अधिकारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्धवार्षिक समीक्षामा जहिल्यै घटाइन्छ बजेट
-
१० बजे १० समाचार : भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरणले दुवै देशमा हलचलदेखि अध्यादेश पास गर्न पार्टी फुटाउने खेलसम्म
-
हेटौँडा सिमेन्टको ‘रोप–वे’ लिलाम बिक्री, प्राप्त रकमले कच्चा पदार्थ खरिद गरिने
-
बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री उपचारपछि डिस्चार्ज
-
कर्णालीको प्रगतिको बाटो काठमाडौँले देखाएको हुनु हुँदैन : आहुति
-
हेटौँडा गोरु तस्करी प्रकरण : इन्चार्ज फुयाँलसहित ३ जना जिल्ला तानिए