आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

नेपाल स्टार्टअप र एसएमई सम्मेलन नवीन उत्पादन र लगानीकर्तालाई अवसर : सभापति देउवा

बुधबार, १६ माघ २०८१, १२ : ३०
बुधबार, १६ माघ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल स्टार्टअप र एसएमई सम्मेलन नवीन उत्पादन र लगानीकर्ताका लागि एक अवसर भएको बताएका छन् ।

ललितपुरको सानेपामा बुधबार नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले सम्मेलनले विभिन्न नवीन उत्पादन, सेवाहरूको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्ने बताए । 

सभापति देउवाले नवप्रवर्तन र उद्यमशीलताका माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । 

“खासगरी केही गरौँ भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने विषयमा यो कार्यक्रममा छलफल हुने विश्वास मैले लिएको छु‚’’ उनले भने । 

गाउँ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको आवश्यकता भएको देउवाको भनाई थियो । सभापति देउवाले थोरै लगानीमै स्टार्टअप व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिनेसमेत उल्लेख गरे ।

“यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ‚” उनले भने ।

उनले यही अवस्थालाई मध्यनजर गरी नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले हामीले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएकासमेत जानकारी गराएका छन् ।

सम्मेलनमा अतिथिहरूलाई स्वागत गर्दै विभागका संयोजक उर्मिला थपलियाले यस सम्मेलनले नेपालको डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र साना उद्यमीलाई प्रोत्साहन गर्नका योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

“दुई दिनसम्म सञ्चालन हुने यो सम्मेलनले विभिन्न क्षेत्रका सिकाई, अनुभव र विचारबाट एक अर्कामा ज्ञानको प्रवाह हुने र युवा उद्यमी एवम् नयाँ पुस्ता जोडिँदा पार्टीलाई समेत टेवा पुग्नेछ‚” उनले भनिन् । 

बुधबार र बिहीबार गरी नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रूपान्तरणलगायतका विभिन्न ६ वटा विषयमा विभिन्न सेसनमा छलफल हुनेछ । सम्मेलनको निष्कर्षबाट प्रतिवेदन र पुस्तक तयार गर्ने, उद्यमशीलता र आर्थिक वृद्धिमा योगदान दिने युवाहरूको नेटवर्क निर्माण, नीतिगत सुधार र प्रदर्शनी मार्फत स्थानीय उत्पादनहरूको प्रचार–प्रसार एवम् बिक्रीमा वृद्धि गर्ने लगायत लक्ष्य राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप