बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय

आवासीय चिकित्सकहरूले माइतीघर मण्डलामा धर्ना दिने

बुधबार, १६ माघ २०८१, ११ : १५
बुधबार, १६ माघ २०८१

काठमाडौँ । दुईमन्त्रीबिच भएको सहमतिको विरोधमा स्नातकोत्तर तह अध्ययनरत आवासीय चिकित्सकहरूले माइतीघर मण्डलामा धर्ना दिने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईबिच उनीहरूलाई प्रदान गरिने निर्वाह भत्ताका विषयमा तीन बुँदे निर्णय गरेका थिए । त्यसको विरोधमा आवासीय चिकित्सकहरूले हिजोदेखि आन्दोलन थालेका छन् । आज दिउँसो १२ बजेतिर माइतीघरमण्डलामा धर्ना दिन लागिएको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका प्रवक्ता डाक्टर सञ्जय बरालले जानकारी दिए ।

आफूहरू चरम श्रम शोषण गर्ने खालको निर्णय गरिएको भन्दै निर्णायक आन्दोलनमा होमिएको बताए । माघ १४ गते सोमबार शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले तीन बुँदे निर्णय गरेर कार्यान्वयनका लागि सम्बद्ध निकायलाई पठाउने भनेका थिए । सहमति अनुसार आवासीय चिकित्सकहरूको निर्वाह भत्ता पहिलो वर्ष न्यूनतम २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो ३५ हजार रुपैयाँका दरले मासिक दिनुपर्ने उल्लेख छ । सशुल्कतर्फ निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकहरूको हकमा उक्त शुल्क तोकिएको हो ।

दुई मन्त्रीले सहमति गरेर तोकेको न्यूनतम शुल्कबारे आवासीय चिकित्सकहरूले असन्तुष्टि व्यक्त गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन् । विगत १६ महिनादेखि राख्दै आएका मागहरू २४ घण्टाभित्र सम्बोधन नगरिएको खण्डमा अस्पतालहरूमा अत्यावश्यक बाहेकका अन्य सेवाहरू ठप्प पार्ने चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप