निकट भविष्यमा विश्व व्यवस्थाको नेतृत्व गर्ने चीनको महत्त्वाकाङ्क्षा
विश्वको पहिलो ठुलो अर्थतन्त्र भएको मुलुक अमेरिकाको अर्थतन्त्र खासगरी सेवा क्षेत्रमा आधारित छ भने दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक चीनको अर्थतन्त्र खासगरी उत्पादन, निर्यात र पूर्वाधार विकासमा आधारित छ । सामरिक शक्तिका हिसाबले पनि अमेरिका विश्वको सर्वशक्तिमान मुलुक हो भने चीन रुसपछिको तेस्रो शक्ति राष्ट्र मानिन्छ । यद्यपि चीनको अर्थतन्त्र विकेन्द्रित र खुला भए पनि राजनीति र प्रशासन भने केन्द्रीकृत वा बन्द रहेको हुँदा यकिन गर्न भने गाह्रो छ ।
चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको शतवार्षिकी (सन् २०२१) सम्म ठुलो संख्यामा गरिबी न्यूनीकरण गर्ने उद्देश्य चीनले लिएको थियो । सन् २०२१ सम्म ठुलो संख्यामा गरिबी न्यूनीकरण भएको भने तथ्यले प्रमाणित गरिसकेको छ । यस्तै, चिनियाँ क्रान्ति सम्पन्न भएको शतवार्षिकी (सन् २०४९) सम्म विश्वको पहिलो शक्ति राष्ट्र बन्ने उद्देश्यमा चीन अघि बढरहेको छ । यो अवधिमा चीन विश्वको पहिलो शक्ति राष्ट्र बन्न सक्छ कि सक्दैन ? त्यो हेर्न अझै २४ वर्ष पर्खनुपर्छ ।
अन्तर्राष्ट्रिय बजारका हिसाबले हेर्ने हो भने चीन अमेरिकाको पहिलो बजार हो भने अमेरिका चीनको तेस्रो बजार हो । संयुक्त राष्ट्र सङ्घमा दुवै मुलुकहरू भिटो अधिकार प्राप्त राष्ट्र हुन् । चीन, भारत र अमेरिकाका बिचमा विभिन्न व्यापारसम्बन्धी सन्धि भएका छन् । ब्रिक्स र ग्लोबल साउथमा चीन र भारत सँगै छन् ।
अर्कातर्फ चीन र अमेरिकाको ‘टसल’ मुख्य गरी ताइवान र साउथ चाइना सीको सवालमा बेलाबेला छछल्किने गर्र्छ । उनीहरूबिचको सम्बन्ध आकर्षण, प्रभाव र दबाबको सिद्धान्तमा आधारित देखिन्छ ।
चिनियाँ क्रान्ति सम्पन्न भएको शतवार्षिकी (सन् २०४९) सम्म विश्वको पहिलो शक्ति राष्ट्र बन्ने उद्देश्यमा चीन अघि बढरहेको छ । यो अवधिमा चीन विश्वको पहिलो शक्ति राष्ट्र बन्न सक्छ कि सक्दैन ? त्यो हेर्न अझै २४ वर्ष पर्खनुपर्छ ।
अमेरिका र चीन बिचको सम्बन्धको इतिहास लामो छैन । अमेरिकी राजनीतिज्ञ, कूटनीतिज्ञ तथा पूर्वविदेश मन्त्री हेनरी किसिन्जरले सन् १९७१ मा चीनको गोप्य भ्रमण गरी दुई देशबिचको सम्बन्धमा ऐतिहासिक सुधार ल्याएका थिए । सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनको भ्रमण गरी चीन र अमेरिका बिचको सहसम्बन्धलाई स्थापित गरे । यिनै घटनाहरूको आधारशिलामा सन् १९७९ मा अमेरिकी राष्ट्रपति जिमी कार्टर र चीनका सर्वाेच्च नेता देङ स्याओ पिङ बिचको समझदारीपछि औपचारिक रूपमा दौत्यसम्बन्ध स्थापित भयो, तर यी यावत् सवालमा समकालीन विश्वमा शक्ति राष्ट्र रुस र नवउदीयमान शक्ति राष्ट्र भारतको भूमिका भने दुवै राष्ट्रका लागि महत्त्वपूर्ण हुने देखिन्छ ।
आधुनिक चीनका निर्माता तथा आर्थिक स्वतन्त्रताका पक्षधर देङ स्याओ पिङ बारम्बार भन्ने गर्थे— ताओ गुवाङ, याङ हुई अर्थात् (हाइड योर पावर, वेट योर टाइम) तपाईंको शक्ति लुकाउनुहोस् र सही समय कुर्नुहोस् । यो सिद्धान्तलाई चीनले गुरुमन्त्रका रूपमा अंगीकार गरेको पाइन्छ । त्यसैले होला, चीनले आफूलाई विकासशील राष्ट्र भन्छ । ‘ड्रागन डिप्लोमेसी’ जस्तो बुद्धिमतापूर्ण र आक्रामक कूटनीति सञ्चालन समेत गरेको छ ।
सन् २०४९ पछि विश्वको पहिलो शक्ति राष्ट्र बन्नका लागि चीनले केही रणनीतिक महत्त्वका प्रयास वा अभियान कार्यान्वयनमा ल्याएको छ । जसलाई पश्चिमा मुलुकले चीनको ‘सफ्टपावर रणनीति’ भन्ने गरेका छन् । जुन देहाय बमोजिम छन् ।
१) बीआरआई
चीनले सन् २०१३ मा सुरु गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना मुख्य गरी विश्वव्यापी रूपमा पूर्वाधार विकास, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक सहकार्य विस्तार गर्ने गरी ‘कनेक्टभिटी’ बढाउने एउटा बृहत् रणनीतिक योजना हो । यो परियोजनामा एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपका गरी करिब १ सय ५० भन्दा बढी देशहरू सहभागी भइसकेका छन् । कतिपय सन्दर्भमा विश्वको पहिलो शक्तिको रूपमा रहेको अमेरिकाको इन्डो ‘प्यासिफिक स्ट्राटेजिक’ परियोजनाको काउन्टर परियोजनाका रूपमा बीआरआईलाई बुझ्ने गरिन्छ ।
हालै प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपाल र चीनबिच ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’मा हस्ताक्षर भएको छ । नेपालमा यो परियोजना ऋण, अनुदान वा सहयोगमध्ये केमा सञ्चालन हुने हो भन्ने विषय प्रस्ट छैन । सायद भविष्यमा हस्ताक्षरित योजनाहरूका बारेमा बेग्लाबेग्लै डिल भई ऋण, अनुदान वा सहयोगमध्ये केमा कुन योजना सञ्चालन गर्ने हो भन्ने विषय बाँकी रहेको देखिन्छ ।
२) जीडीआई
कोरोना महामारी, विश्वव्यापी असमानता र दिगो विकासका लक्ष्य पूरा गर्ने उद्देश्यले सन् २०२१ को सेप्टेम्बरमा सम्पन्न भएको संयुक्त राष्ट्र सङ्घको महासभामा चिनियाँ राष्ट्रपति सी जिङपिङद्वारा प्रस्तुत गरिएको एउटा निकै महत्त्वकाङ्क्षी प्रस्ताव हो, चीनले ग्लोबल डेभेलपमेन्ट इनिसिएटिभ (जीडीआई) । यसको घोषणा विश्वव्यापी विकास, सहयोग र सहकार्यका लागि गरिएको थियो । यस प्रयासअन्तर्गत गरिने अन्तर्राष्ट्रिय सहकार्यहरूमा गरिबी निवारण, खाद्य सुरक्षाको सुनिश्चितता, सार्वजनिक स्वास्थ्यमा सुधार, शिक्षा र प्रविधिको विकास, दिगो ऊर्जाको उपाय, जलवायु परिवर्तनसँग लड्ने सहकार्य, औद्योगिक र आर्थिक विकास रहेका छन् । अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रलाई हेर्दा यो परियोजनाले दक्षिण सहयोगलाई विशेष प्राथमिकता दिएको देखिन्छ ।
संयुक्त राष्ट्र सङ्घले घोषणा गरेको सन् २०३० सम्म हासिल गर्ने दिगो विकासका लक्ष्य अन्तर्गत गरिबी उन्मूलन, खाद्य सुरक्षा, स्वास्थ्य प्रणालीमा सुधार, हरित ऊर्जा, विकास वित्त, शिक्षा र प्रविधि, महिला सशक्तीकरण र समावेशिताजस्ता क्षेत्र पर्छन् । सारमा जीडीआई परियोजनाले चीनको दिगो विकासप्रतिको प्रतिबद्धतालाई झल्काउँछ । अर्कातर्फ विकासशील राष्ट्रहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय विकासमा सहयोग पुर्याउने प्रयास देखिन्छ । यो परियोजना पनि चीनले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी क्षेत्रमा लागु गरेको छ ।
३) जीएसआई
विश्वव्यापी सुरक्षा र शान्तिपूर्ण सहकार्यलाई प्राथमिकता दिने उद्देश्यले सन् २०२२ मा चिनियाँ राष्ट्रपति सी जिङपिङद्वारा प्रस्तुत परियोजना नै ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) हो । यो परियोजनाको प्रमुख उद्देश्य बहुपक्षीय सहकार्यका माध्यमद्वारा अन्तर्राष्ट्रिय सुरक्षामा सहयोग पुर्याउनुका साथै सबै राष्ट्रहरूको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डताको सम्मान गर्दै शान्तिपूर्ण सहकार्यको सुनिश्चितता गर्नु हो । जलवायु परिवर्तन, खाद्यान्न सुरक्षा, साइबर सुरक्षा, आतंकवाद तथा लागुऔषध नियन्त्रणका लागि भरपर्दाे सहकार्य गर्दै वैश्विक चुनौतीहरूको सामना गर्नु यसका अन्य महत्त्वपूर्ण पक्ष हुन् ।
शीतयुद्धकालीन मानसिकता त्यागी सामूहिक सुरक्षामा जोड दिने, संयुक्त राष्ट्र सङ्घको नेतृत्व, चार्टर, अन्तर्राष्ट्रिय कानुन तथा सन्धि–सम्झौताहरूमा आधारित सुरक्षा प्रणालीलाई स्वीकार गर्ने जीएसआईका महत्त्वपूर्ण सिद्धान्त हुन् ।
४) जीसीआई
चीनले सन् २०२३ मा ‘ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ’ (जीसीआई) परियोजना सञ्चालन गरेको थियो । विद्यमान सभ्यताको विकास, संस्कृतिहरूबिचको संवादजस्ता क्षेत्रमा विश्वव्यापी रूपमा सहकार्यलाई अघि बढाउँदै साझा मानव भाग्यको निर्माण गर्ने उद्देश्यले यो परियोजना गरिएको थियो । विभिन्न सभ्यता र संस्कृतिहरूबिचको विश्वव्यापी रूपमा हुने द्वन्द्व र उँचनिच भावनाको अन्त्य गर्दै विविधताहरूको सम्मान गर्नु, आदानप्रदान गर्नु तथा सहयोग र सहकार्यको प्रवर्धन गर्दै मानवताको साझा समृद्ध भविष्य निर्माण गर्नु नै यसको प्रमुख उद्देश्य रहेको छ ।
चीनले यी महत्त्वपूर्ण प्रयासलाई सफल बनाउनका लागि ‘एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक’, ‘डिजिटल सिल्क रोड’, ‘मेड इन चाइना २०२५’, ‘दक्षिण दक्षिण सहयोग’, हरित विकासको प्रयास’, ‘स्पेस एक्सप्लोरेसन’जस्ता अन्य थुप्रै सहायक अभियानहरू सञ्चालन गरेको छ । चीनका उल्लिखित प्रयासलाई कतिपय सन्दर्भमा पश्चिमा राष्ट्रहरूले चिनियाँ प्रभुत्व कायम गर्ने औजारका रूपमा व्याख्या गरेका छन् । ताइवान, साउथ चाइना सी र सीमा जोडिएका मुलुकसँग रहेको सीमा विवादजस्ता कारणले गर्दा उक्त अभियानहरूको सफल कार्यान्वयन र विश्वसनीयताप्रति प्रश्न उठाएका छन् ।
तथापि चीनको विश्वव्यापी रूपमा बढ्दै गएको आकर्षण, प्रभाव र दबाबको कूटनीति; अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त प्रस्तुति; ‘सबप्राइम मोर्गेज मन्दी’को प्रभाव अमेरिकामा पर्नु र चीनमा नपर्नु; तीव्र आर्थिक विकास; ठुलो सैन्य र सामरिक शक्तिका साथै एआईको तीव्र विकासलाई मध्यनजर गर्दा चीनले घोषणा गरे बमोजिम सन् २०४९ सम्म अमेरिकालाई पछि पार्दै विश्व प्रणालीको नेतृत्वमा पुग्ने साहसिक कदम हुन् भनी बुझ्दा सायद अत्युक्ति नहोला ।