बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय

हाम्रो अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएको छ ः देउवा

बुधबार, १६ माघ २०८१, १० : ५५
बुधबार, १६ माघ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । बुधबार नेपाल स्टार्टअप र एसएमई समिटको उद्घाटन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

उनले भने, ‘आज हाम्रो मुलुकको राष्ट्रिय आय अपेक्षित रूपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो निजी क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिन्छ । त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको छ ।’

पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको उनको जिकिर छ । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरिएकोमा उनले प्रशंसा समेत गरे । 

उनले भने, ‘यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ । थोरै लगानीमै स्टार्ट अप व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ ।’ 

नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले आफूहरूले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएको सभापति देउवाले जानकारी दिए ।

उनले भने, ‘नेपालमा युवा उद्यमीलाई आकर्षण गर्न, उनीहरूको व्यवसाय प्रवर्धन गर्न र साना तथा मझौला उद्योगी व्यापारी व्यवसायीहरूको समस्या बुझी पार्टीलाई सुझाव दिन ‘उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग’ गठन गरेका हौँ । उद्यमी, व्यापारी, व्यवसायीहरूले भोग्नु परेका कानुनी तथा प्रक्रियागत झन्झटहरू अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानुन ल्याएको छ । यो कानुनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास लिएको छु ।’

मुलुकको समुन्नतिका लागि राज्यको ध्यान पुग्नु पर्ने अर्को विषय सूचना प्रविधि भएको उनले बताए । राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संसाधन, पुँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्ने उनले जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप