राप्रपामा किन बल्झिरहन्छ विवाद ?
काठमाडौँ । २०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई नेतृत्वमा स्थापित गर्ने अभियानमा सबैभन्दा अगाडि थिए, डा धवलशमशेर राणा । तीन राप्रपा (कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, पशुपति शमशेर राणाको राष्ट्रिय प्रजातन्त्र पार्टी र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी) एक भएपछि भएको यो पहिलो महाधिवेशन थियो । जहाँ अध्यक्षका बलिया उम्मेदवार मानिएका कमल थापालाई हराएर लिङ्देनलाई नेतृत्वमा ल्याउन राणाले नेतृत्वदायी भूमिका खेले ।
तर, महाधिवेशनबाट लिङ्देनकै टिमबाट महामन्त्रीमा निर्वाचित राणा अहिले फरक कित्तामा उभिएका मात्रै छैनन् ‘पानी बाराबार’को स्थितिमा छन् । राणा लिङ्देनविरोधी कित्तामा उभिएकै बेला पार्टीमा अहिले चरम गुटबन्दी रहेको नेताहरू नै स्वीकार गर्छन् ।
माघ ११–१३ सम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा राणाले लिङ्देनलाई चुनौती दिनेगरी ल्याएको ‘राजनीतिक विचार’ले पनि पार्टीभित्र समस्या रहेको सहजै अनुमान गर्न सकिन्छ ।
बैठकमा लिङ्देनको मौखिक प्रतिवेदन र राणाको लिखित राजनीतिक विचारमै केन्द्रित रहेर सदस्यहरूले मत राखेका केन्द्रीय सदस्य जनकराज पाठक बताउँछन् । कतिपय सदस्यले त एकअर्कालाई आक्षेप लगाउनेगरी आफ्नो धारणासमेत राखेका थिए । आइतबार सम्पन्न बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले राणाको दस्ताबेजबारे गम्भीर छलफल भएको विज्ञप्तिमै उल्लेख गरेका छन् । ‘महामन्त्री धवलशमशेर राणाको राजनीतिक विचारसम्बन्धी दस्ताबेज विस्तृत रूपमा छलफल भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
- राणाको फरक राजनीतिक विचारमा के छ ?
१६ बुँदामा रहेको राणाको ६ पेज लामो राजनीतिक विचारमा पार्टीमा समस्या बढ्दै गएको निष्कर्षसहित अध्यक्षको कार्यशैलीको आलोचना गरिएको छ । रातोपाटीलाई प्राप्त उक्त डकुमेन्टको सुरुवातमै भनिएको छ, ‘एकता महाधिवेशनपश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ गति लिन्छ, गुणात्मक फड्को मार्छ, विधानको पालना र कार्यान्वयनमा आन्तरिक प्रजातन्त्र सुदृढ हुन्छ भन्ने आम अपेक्षा रहे पनि एकपछि अर्को समस्याहरूले गर्दा पार्टीपंक्तिमा चिन्ताको सञ्चार भएको छ । जनताको विश्वास आर्जन गर्ने सवालमा मात्र नभएर आन्तरिक परिचालनमा समेत सुधारको आवश्यकता छ ।’
सबैलाई मिलाएर अघि बढ्नुपर्नेमा नेतृत्वले गुटबन्दीको वातावरण सिर्जना गर्ने, आलोचना र आलोचकप्रति असहिष्णु देखिने तथा ‘पार्टी छाडेर गए हुन्छ’ भन्ने खालका सन्देश प्रवाह गर्ने काम गरेको समेत उनले जिकिर गरेका छन् ।
यस्तो पृष्ठभूमिमा पार्टीको एकता, बृहत्तर हित, आन्तरिक प्रजातन्त्र र लक्ष्य प्राप्तिप्रतिको निष्ठा एवम् इमानदारीलाई मूलमन्त्र मानेर पार्टीलाई एकताबद्ध र विधिसम्म रूपमा अघि बढाउनुपर्नेमा उनको जोड छ । तर नेतृत्वको कार्यशैलीकै कारण निर्वाचनबाट पार्टीको लोकप्रियता घट्दै गएको देखिएको, एकताको महाधिवेशनको म्यान्डेटविपरीत सरकारमा सहभागी भएको, नवीन राप्रपाको अवधारणा प्रभावकारी नभएको, फरक मत राख्नेमाथि गलत प्रचार गरिएको, पार्टीमा समन्वय नभएको, पुरानै नेतृत्वले जस्तो कार्यशैली अपनाएको, आफूखुसी जिम्मेवारी हेरफेर गरेको, विधानको गलत व्याख्या गर्ने काम गरेको, संसदीय मोर्चामा प्रभावकारी काम गर्न नसकेको, दिशाबिनाको यात्रा भएको देखिएकाले यस्ता विषयमा केन्द्रीय समिति बैठकमा छलफल हुनुपर्ने उनको धारणा थियो ।
सोहीअनुसार बैठकमा करिब १३५ जना केन्द्रीय सदस्यले धारणा राख्दा उनको राजनीतिक विचारबारे पर्याप्त छलफल भएको बताइएको छ । छलफलमा बोल्नेहरूले पार्टीभित्र समस्या रहेकाले बेलैमा सचेत बन्दै एकताबद्ध पार्टी निर्माणमा लाग्न जोड दिएका थिए भने केही सदस्यचाहिँ एकअर्कालाई खुलेआम विरोध गर्नसमेत लागिपरेका थिए ।
अभिनेत्री तथा केन्द्रीय सदस्य रेखा थापा ‘बच्चा जन्माउन अमेरिका गएको’ भनी लिङ्देनले अभिव्यक्ति दिएजस्तै धवलशमशेरलाई पनि बिरामी भएको बेला संगठन विभाग प्रमुखबाट हटाएर अर्को गल्ती गरेको धारणा राखेकी थिइन् । उनले राणाको राजनीतिक विचार सही रहेकाले नेतृत्व सच्चिनुपर्नेमा समेत जोड दिएकी थिइन् ।
पछिल्लो समीकरण हेर्दा राप्रपामा राजेन्द्र लिङ्देन एकातिर र अर्कातिर राणा हुँदा राणालाई पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीसहित संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दको समेत सद्भाव देखिन्छ छ । यस्तै विक्रम पाण्डेलगायतका नेताहरूको समेत राणाले साथ पाउँदा लिङ्देनलाई चाहिँ अहिलेको अवस्थामा उपाध्यक्ष बुद्धिमान तामाङलगायतको साथ छ । अर्का बलिया नेता पशुपति शमशेर राणा कतै पनि पनि स्पष्ट खुलेका देखिँदैनन् । यद्यपि उनले गत महाधिवेशनमा लिङ्देनलाई सघाएका थिएनन् ।
- एकता महाधिवेशनपछि विवाद बढ्नुको अन्तर्य
महाधिवेशनबाट कमल थापा अध्यक्षमा पराजित भएसँगै आफूलाई हराउन निर्मल निवास सक्रिय भएको भन्दै उनी पार्टीबाटै बाहिरिए । एकता महाधिवेशन हुँदा गीता छोएर ‘कहिल्यै पार्टी नफुटाउने’ कसम खाएका उनी निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न लिङ्देन तयार नभएपछि पार्टीबाट बाहिरिएका थिए । पार्टीबाट बाहिरिएर उनले राप्रपा नेपाल ब्युँताए पनि थापा निकटका ठुलो समूह भने राप्रपामै रह्यो । यस्तो पृष्ठभूमिमा कमल थापा नेतृत्वको राप्रपा एकताबद्ध भएर अघि पनि बढ्यो । तर, जब चुनाव सकियो, त्यसपछि तत्कालीन प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा सहभागी भएसँगै पार्टीमा समस्या सुरु भएको नेताहरू बताउँछन् । त्यसबाहेक समानुपातिक सदस्य चयन गर्दा पनि असन्तुष्टि देखियो । विशेष गरी डा लोहनीले पूर्वसहमतिअनुसार आफूलाई सांसद नबनाएको भन्दै आक्रोश पोखेका थिए ।
यहीबाटै लिङ्देनले पार्टीमा छलफल नगरेको, आफूखुसी अघि बढेको जस्ता कारण देखाएर फेरि विवाद सुरु भएको नेताहरूको भनाइ छ । विवादको विषय ०८० जेठमा बसेको केन्द्रीय समिति बैठकमा त औपचारिक रूपमै प्रवेश गर्यो ।
उक्त बैठकमा तीन महिनामा पार्टी बैठक बोलाउने व्यवस्था विधानमा भए पनि १० महिनासम्म बैठक नराखेको भन्दै अध्यक्ष लिङ्देनको आलोचना भएको थियो । यस्तै त्यतिबेला बैठकमा बोल्ने कैयन् सदस्यले पार्टी सरकारमा जानु गम्भीर गल्ती भएको धारणा राखेका थिए । केन्द्रीय सदस्य पाठकले त्यतिबेलै आफूले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएबापत् जनताले पार्टीलाई उपनिर्वाचनमा दण्डित गरेको धारणा राखेको स्मरण गरे । त्यसअघि वैशाखको उपनिर्वाचनमा राप्रपाले उल्लेख्य नतिजा हासिल गर्न सकेको थिएन ।
सोही बैठकमा केही नेताले अध्यक्षले सबैको साझा भएर पार्टी चलाउनुपर्ने भन्दै कार्यशैली परिवर्तनमा जोड दिएका थिए । विगतमा कमल थापा प्रवृत्तिलाई परास्त गरेर लिङ्देन नेतृत्वमा आएको प्रसङ्ग कोट्याउँदै उनीहरूले पात्र परिवर्तन भए पनि प्रवृत्ति उस्तै रहेको आरोप लगाएका थिए । उक्त बैठकको विवाद थामथुम भएन, बरु बढ्दै गयो । यतिसम्म कि संस्थापक अध्यक्ष चन्दले लिङ्देनको कार्यशैलीलाई लिएर आफ्नो निवासमा केही चरण छलफलसमेत चलाए । ०८० असार २९ र साउन २७ का दुई छलफलमा राणासहित, पूर्वअध्यक्ष लोहनी, नेताहरू निरञ्जन थापा, दीपक बोहरा, विक्रम पाण्डे, रवीन्द्र मिश्र, राजेन्द्र गुरुङसहित दर्जन बढी नेताहरू लोकन्थली पुगेका थिए ।
विवादकै क्रममा निर्देशन समितिलाई ‘बाइपास’ गर्दै कोशी प्रदेशमा सभामुख लिने निर्णय लिङ्देनले गरे । ०८० माघमा लिङ्देनले सो निर्णयबाट अम्बरबहादुर विष्ट कोशीको सभामुख बन्ने भएसँगै एकाएक निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनीले विष्टलाई फिर्ता हुन निर्देशन दिएका थिए । तर, उनी फिर्ता भएनन् भने लिङ्देनले लोहनीको निर्देशनलाई राजधानीतिक ‘कु’को समेत संज्ञा दिएका थिए ।
तर डा राणा त्यतिबेला लिङ्देनले आरोप लगाएजस्तो निर्देशन समितिले कुनै अनधिकृत निर्णय नगरेको स्मरण गर्छन् । निर्देशन समितिले त्यतिबेला आफ्नो मतमात्रै दिएको र पदाधिकारी बैठकमा पनि कोशीको सभामुख लिन हुँदैन भन्ने नै रहेकाले सोहीअनुसार निर्देशन आउनु स्वाभाविक भएको उनको भनाइ थियो । त्यतिबेला विष्टलाई उम्मेदवार बन्न ‘ग्रीन सिग्नल’ दिएर लिङ्देन मलेसिया भ्रमणमा निस्केका थिए । त्यतिबेला निर्देशन समितिको निर्देशनबारे उनले भनेका थिए, ‘चिज हामीले पार्टीको फोरमबाट निर्णय गर्न सक्थ्यौँ, तर एक प्रकारले ‘कु’ गरेजस्तो भयो । अध्यक्ष त्यही दिन मलेसिया आउँदैछन् । तर अध्यक्ष आउनुअघि नै छुट्टै निर्णय गरेर विज्ञप्ति जारी गरेर नै निर्देशन दिइन्छ भने त्यो मान्न सकिँदैन । यसले पार्टी पद्धति बिग्रन्छ ।’
त्यसयता थप गुटबन्दी बढेको राप्रपामा राणालाई संगठन विभागबाट हटाइएसँगै थप विवाद बढेको बताइन्छ । गत असोजमा राणा क्यान्सरको उपचारका लागि भारत गएको बेला उनलाई संगठन विभाग प्रमुखबाट हटाएर बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको थियो । सो निर्णयलाई पूर्वअध्यक्ष लोहनीले सार्वजनिक रूपमै अमानवीय टिप्पणी गर्दै आएका छन् भने संस्थापनले भने अध्यक्षको विधानअनुसार आफ्नो निर्णय गरेको जिकिर गर्दै आएको छ ।
राप्रपाका नेता सगुन लावती जीवन्त छलफलबाटै पार्टी निर्माण हुन सक्ने बताउँछन् । ‘सहीलाई सही र गलतलाई गलत भन्दा पनि नकारात्मक सोच राख्ने प्रवृत्ति छ’, उनले भने । धवलले केन्द्रीय समिति बैठकमा राजनीतिक विचार ल्याउँदा पनि पार्टी फुटाउन खोजियो भनेर हल्ला चलाइएको उनले बताए । पार्टी निर्माणका लागि विधानअनुसार सामूहिक भावका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
- आगामी महाधिवेशनको होमवर्क !
राप्रपाभित्र विवाद बढ्नुमा नेतृत्वको कार्यशैलीको विषय एउटा भनिए पनि अर्को आगामी महाधिवेशनलाई पनि जोडिएर हेरिएको छ । राप्रपाभित्रै अहिले लिङ्देनविरुद्ध लागेको समूहले राणालाई आगामी महाधिवेशनमा नेतृत्वको रूपमा अघि सार्न खोजेको छ । राप्रपाको भदौ २३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वडादेखि सबै तहको अधिवेशन सम्पन्न गर्न आवश्यक निर्णय गरेसँगै पार्टीभित्र चुनावी माहौल थप तातेको थियो ।
आइतबार सम्पन्न केन्द्रीय समितिले पार्टीको सदस्यता वितरण अभियानलाई तीव्र बनाउने, ०८१ लाई पार्टी प्रवेश वर्षको रूपमा अभियान सञ्चालन गर्ने र विगतको निर्णयलाई निरन्तरता दिनेजस्ता थप निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार २०८२ वैशाख मसान्तभित्र सबै स्थानीय तह र जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने गरी सक्रिय हुन मातहतका सबै निकायलाई बैठकले निर्देश गरेको छ । यस्तै केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा हुने अधिवेशनमा पर्यवेक्षकका रूपमा खटाउने र जिल्लामा हुने सबै प्रकारका निर्वाचनको प्रक्रिया र नतिजाको अनुगमन गर्ने जिम्मेवारी दिने निर्णय गरिएको छ ।
बाँकी पार्टीका भ्रातृ संगठनहरूको बाँकी महाधिवेशन ०८१ चैत मसान्तसम्म सम्पन्न गर्न निर्देशन पनि दिइएको छ ।
निर्धारित समयमै गर्ने हो भने राप्रपाको महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्छ । त्यसमा एक वर्ष थप समय लिन सक्ने अधिकार अध्यक्षलाई भए पनि यसअघि नै ‘अर्ली महाधिवेशन’को समेत कुरा उठेकाले आन्तरिक रूपमा चुनावको माहौल तात्न पुगेको हो ।
उसो त इतर समूहबाट राणाबाहेक उपाध्यक्ष विक्रम पाण्डेले पनि पार्टीभित्र आफ्नो पक्षमा लबिङ बढाउन जोडबल गरिरहेका छन् ।
लिङ्देनविरुद्ध एक समूह एकताबद्ध भए पनि उनी पनि कमजोर भने छैनन् । उनलाई उपाध्यक्ष बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधानदेखि केही प्रभावशाली नेताको दह्रो साथ छ । आगामी महाधिवेशन तोकिएको समयमा वा छिटो–ढिलो जे भए पनि अध्यक्षमा दोहोरिने योजनाका साथ लिङ्देनले फेरि उम्मेदवारी दिने पक्कापक्की रहेको नेताहरू बताउँछन् । इतर समूहबाट अध्यक्षमा उम्मेदवारी कसले दिने भन्ने निश्चित भइसकेको छैन । पार्टीभित्र प्रभावशाली भूमिकामा रहेका महामन्त्री राणा लिङ्देनविरुद्ध उम्मेदवारी दिनेमा सबैभन्दा अगाडि छन् । उनले पार्टीभित्र आफूले अध्यक्ष उठ्ने बताउन थालिसकेका छन् ।
‘धवलशमशेर राणाका साथै विक्रम पाण्डेको पनि इतर समूहबाट नाम आएको छ । तर जो भए पनि सहमतिमा हुन्छन्,’ एक नेताले रातोपाटीसँग भने, ‘इतर समूहका उम्मेदवारलाई लोकेन्द्रबहादुर चन्द, डा प्रकाशचन्द्र लोहनीदेखि महामन्त्री कुन्ती शाही लगायतको साथ हुन्छ ।’
फुट्दै जुट्दै !
पूर्वपञ्चहरूको बाहुल्य रहेको राप्रपा कैयन् पटक फुट्दै जुट्दै आएको इतिहास छ । एकले अर्काको अस्तित्व स्वीकार नगर्ने र आपसी बेमेलका कारण पार्टी फुटको सिकार भइरह्यो । पछिल्लो समय लिङ्देन नेतृत्वमा आएपछि सुरुवातमा पार्टीले लय समातेजस्तो देखिएको थियो। ०७९ को आम निर्वाचनमा पार्टीले संघमा १४ सिट जितेको पनि थियो । तर पार्टीभित्र फेरि विवाद झाँगिँदै गएको छ ।
राप्रपाका एक नेता भन्छन्, ‘राजा फर्काउने पार्टी भन्छौँ तर, पार्टीभित्र आफै राजा बन्नुपर्ने प्रवृत्ति छ । यसकारण पनि समस्या भइरहेको छ । राजा ल्याउँछु भनेर छोटे राजा बन्ने प्रवृत्ति त्याग्न नसक्नु नै पार्टी बिग्रनुको कारण हो ।’ राप्रपाले संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजलाई एजेण्डाका रूपमा उठाउँदै आएको छ ।
पूर्वमन्त्री दिलनाथ गिरी राप्रपा अहिलेकै अवस्थाबाट माथि उठ्नै नसक्ने जिकिर गर्छन् । राप्रपा बनाउन नयाँ बालेनको जन्म आवश्यक रहेको उनको बुझाइ छ । ‘पार्टीलाई बनाउने भनेर महाधिवेशनमा मसहितका साथीहरूले लिङ्देनलाई सहयोग गरेको हो । तर, उहाँबाट पार्टी नबन्ने देखिएपछि मैले त्यतिबेलै पाटी छाडेको हुँ’, हाल कमल थापा नेतृत्वको राप्रपा नेपालतिर रहे पनि निष्क्रियझैँ रहेका उनले भने, ‘अब अहिले राप्रपामा देखिएका जो आए पनि पार्टी बन्ने स्थिति छैन । पार्टी बनाउने नै हो भने राप्रपामा नयाँ बालेनको आवश्यकता छ ।’ सत्ता स्वार्थ र आपसी बेमेलकै कारण राजावादी पार्टीमा एकपछि अर्को समस्या आएको उनको बुझाइ छ ।
राप्रपामा जोडिने र छुट्टिने नियमित प्रक्रियाजस्तो विगतको घटनाक्रमले देखाउँछ । २०४६ सालको जनआन्दोलन सफल भएपछि २०४७ जेठ १५ गते राप्रपा स्थापना भएको थियो । तर, नेताहरूबिच विवाद हुँदा त्यतिबेलै एकै दिन राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भएका थिए । त्यसपछि पछि पटक पटक फुट्दै र जुट्दै अघि बढ्ने क्रममा ०७६ फागुनमा एकीकृत राप्रपा बनेको थियो ।
राप्रपाका महामन्त्री धवलशमशेर राणा भने आफूले पार्टी निर्माणका लागि आवाज उठाउँदै आएको जिकिर गर्छन् । आइतबारको केन्द्रीय समिति बैठकमा राणाले आफूले पार्टी निर्माणभन्दा बाहिर केही नसोचेको र एकताकै पक्षमा लबिङ गर्दै आएकाले राजनीतिक विचार पनि सोही उद्देश्यका साथ ल्याएको प्रस्टीकरण दिएका एक नेताले बताए ।
नेता लावतीले पनि महामन्त्रीको राजनीतिक विचार बैठकमा स्थापित भएको बताए । सोही विचारअनुसार पार्टी आन्दोलनमा जाने समान विचारधारा भएकासँग एकता गर्दै जाने निर्णय आएको भन्दै पार्टीलाई बलियो बनाउन सबै मिलेर सावधानीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए । सत्ता स्वार्थमा नलाग्ने, नकारात्मक सोच त्याग्ने र युवा सहभागिता बढाउँदै एजेण्डालाई स्थापित गर्नतर्फ लाग्ने हो भने पार्टी निर्माण सम्भव रहेको उनको निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रणनीतिक महत्वको बेनी-दरवाङ सडक अन्तर्गत ‘रणवाङ-दरवाङ’ खण्डमा कालोपत्र सुरू
-
ट्रम्पले भने-वाशिंटन डीसी हवाई दुर्घटनाको कारण अझै अज्ञात
-
१२ बजे, १२ समाचार : विपक्षी दलले सामाजिक सञ्जाल नियमन अध्यादेश अस्वीकार गर्नेदेखि आशिका तामाङलाई तत्काल छोड्न पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको मागसम्म
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ
-
टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा
-
आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग