‘बरु राप्रपा समाप्त भएर जान्छ तर फुट्दैन’
काठमाडौँ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपा नफुट्ने बरु समाप्त भएर जाने बताएका छन् ।
रातोपाटीसँगको कुराकानीमा प्रवक्ता श्रेष्ठले राप्रपाको फुटको फेज सकिएको बताएका छन् । उनले भनेका छन्, ‘सही ढंगले अघि बढेनौँ भने समाप्त भएर जान्छौँ, तर फुट्दैनौँ ।’ प्रस्तुत छ श्रेष्ठसँगको कुराकानी:
- तीन दिनसम्म बसेको राप्रपाको केन्द्रीय कार्यसमितिले के निष्कर्ष निकाल्यो ?
राप्रपा केन्द्रीय कार्य समितिको नियमित बैठक बसेको हो । यो बैठकमा खासगरी पार्टीलाई कसरी अघि लिएर जाने भन्ने विषयमा घनीभूत छलफल भयो । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पेस गरेको प्रतिवेदनमार्फत पनि धेरै कुरा बाहिर ल्याउनुभएको छ । विशेषगरी यो बैठकबाट आन्दोलन र संगठन निर्माणलाई जोड दिएका छौँ ।
चुनावका लागि संगठन र आन्दोलनका लागि संगठन भनेर सँगसँगै लैजाने योजना बनाएका छौँ । साथै पार्टीको वडा तहदेखि जिल्ला तहसम्मका अधिवेशन सम्पन्न गर्ने २०८२ वैशाख मसान्तसम्मको कार्यतालिका सार्वजनिक भइसकेको छ । त्यो कार्यतालिकाअनुसार काम गर्न बैठकले रोडम्याप बनाएको छ ।
- पार्टीको कार्ययोजना बनाउँदै गर्दा पार्टीभित्रको विवाद के भयो त ? बढ्यो कि घट्यो ?
पार्टीभित्र विवाद छ भनेर म भन्दिनँ । नीतिगत, सैद्धान्तिक रूपमा हाम्रो पार्टीमा कुनै बेमेल छैन । पार्टीमा सैद्धान्तिक र नीतिगत विवाद वा मतभेद भयो भने त्यसको असर पार्टी फुटसम्म पनि पुग्न सक्छ । तर अध्यक्षको कार्यशैली वा पार्टी सञ्चालनमा भएका केही त्रुटि र कमीकमजोरीबारे केही कुरा उठ्नुलाई ठुलो मतभेदका रूपमा लिन मिल्दैन । त्यस विषयमा पनि खुलेर बैठकमै छलफल भयो । तपाईंले जुन कुरामा इंगित गर्न खोज्नुभएको हो त्यसको थोरै पृष्ठभूमि भन्छु । माघ १० गते हाम्रो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक थियो । त्यो बैठक अब सकियो भनेर अध्यक्षले घोषणा गरेपछि महामन्त्री धवलशमशेर राणाले मेरो केही कुरा छन् म लिखित रूपमा ११ गतेको बैठकमा पेस गर्न चाहन्छु भन्नुभयो ।
त्यसमा आफूलाई गाली गरेका कुराहरू छन् भन्ने अध्यक्षलाई थाहा थियो । पार्टीमा ६ महामन्त्री र नौ उपाध्यक्ष छन्, भोलिका दिनमा सबैले फरक फरक प्रतिवेदन ल्याउँदा गलत परम्परा बस्न सक्छ, बरु तपाईंले आफूले बोल्ने क्रममा आफ्ना विचार राख्नुस् भनेर अध्यक्षले एक पटक पनि नपढी सीधै केन्द्रीय कार्यसमितिको फुल हाउसमा पेस गर्ने अनुमति दिनुभयो ।
भनेपछि राजेन्द्र लिङ्देनजस्तो डेमोक्रेटिक लिडरसिप को हुन्छ ? अरू कुनै पार्टीमा त्यतिको लिडरसिप कल्पना गर्न सकिन्छ ? यदि उहाँले संख्याको बलको कुरा गर्ने हो फुल हाउसमा नपठाउन सकिन्थ्यो, कार्यसम्पादनले रिजेक्ट गर्न सक्थ्यो । केन्द्रीय समितिमा लगेको भए शर्मनाक हुने अवस्था त देखिएको छ ।
- अध्यक्ष लिङ्देनसँग स्पष्ट बहुमत छ त पार्टीमा ?
पार्टीका हरेक कमिटीमा अध्यक्षको पक्षमा दुई तिहाइभन्दा बढी छ ।
- तर पार्टी केन्द्रीय कमिटी बैठकमा डा. धवलशमशेर राणाले अध्यक्षमाथि नेतृत्वको कमजोरी औँल्याएर प्रश्न उठाएको विषय कुण्ठा मात्र हो ?
पार्टी सञ्चालनका क्रममा हाम्रोजस्तो देशमा एउटा राजनीतिक पार्टी सञ्चालन गर्ने क्रमका कठिनाइ, बाध्यताहरू, त्यसका सीमाहरू जति हुन्छन् त्यो अध्यक्षले भोगिरहनुभएको छ । सबै राम्रो भयो भनेको होइन, तर राम्रो गर्ने प्रयास गरिरहनुभएको छ । तर धवलशमशेर राणाले भनेजस्तो सबै चिज भताभुंग भएको पनि होइन । व्यक्तिका शैलीगत कमीकमजोरीहरू हुन सक्छन् ।
अध्यक्षले आवश्यक छलफल नगरेको, सल्लाह नै नगरी जिम्मेवारीसमेत हेरफेर गरेको भनेर असन्तुष्ट पक्षले लगाएको आरोपमा सत्यता छैन ?
नेपालका राजनीतिक पार्टीहरूमध्ये उहाँले जसरी सल्लाह गरेर निर्णय लिने कुनै पनि पार्टीका अध्यक्ष छैनन् ।
- उसोभए बाहिर भएका प्रचार झुट नै हुन् त ?
सरासर झुट हो । पदाधिकारीहरूको मनोनयन वा केन्द्रीय कार्यसमितिमा सदस्य थप गर्ने कुरा र विभागमा हेरफेर गर्ने कुरा पार्टीको विधानले अध्यक्षलाई दिएको असाधारण अधिकार हो । मानिलिऊँ भोलि धवल शमशेर राणा पार्टी अध्यक्ष हुनुभयो र यही विधान कायम रह्यो भने यही अधिकार प्रयोग गरेर नियुक्ति गर्ने हो । किन धवलशमशेरलाई गरियो भन्दा उहाँले समानान्तर अभ्यास गर्नुभयो । हाम्रो पार्टी विधानले विभाग प्रमुख र सदस्यहरू अध्यक्षले मनोनयन गर्ने भन्छ । तर धवल शमशेरले विभागको सदस्यसचिव आफै मनोनयन गर्दिनुभयो । आफैले हस्ताक्षर गरेर चिठी पनि दिनुभयो ।
- पार्टीमा राणा लिङ्देन एकले अर्कोलाई नस्वीकार्ने र गुटगत प्रवृत्ति हाबी छ ?
विधानलाई सबैले स्वीकार गर्नुपर्छ । धवल शमशेर राणा आन्दोलन परिचालन समितिको संयोजक हो । आन्दोलन मूल समितिको संयोजक अध्यक्ष हो । अघिल्लो वर्ष फागुनमा हामीले प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझायौं । नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय प्रचलन पनि पार्टीको मुख्य व्यक्तिले मूल डकुमेन्टमा हस्ताक्षर गर्ने चलन छ । तर धवल शमशेरले प्रधानमन्त्रीलाई बुझाउने त्यो ज्ञापनपत्रमा म पनि हस्ताक्षर गर्छु भन्नुभयो । रवीन्द्र मिश्रलगायत साथीले यो के कुरा गरेको धवलजी भनेर भन्नुपर्ने अवस्था आयो । त्यो भनेको धवलजीले पार्टीमा जसरी हुन्छ, नेतृत्वका लागि चाँडै हतारी पो गर्नुभयो कि ?आफ्नो समेतको समर्थनमा अध्यक्ष हुनुभएका राजेन्द्र लिङ्देनलाई एक वर्ष नपुग्दै अवरोध गर्न थाल्नुभयो, साना साना कुरामा पनि अवरोध गरेर फुल फ्लेजमा काम गर्न नदिने गर्दा पार्टी कार्यकर्ता र राप्रपा बनोस् भन्ने शुभचिन्तकहरूलाई थोरै असर गरिरहेको अवस्था छ ।
- महामन्त्रीबाटै अध्यक्षलाई असहयोग हो ?
पार्टीभन्दा माथि कोही पनि छैन, पार्टीले गरेको निर्णय उहाँले पनि मान्नैपर्छ । तर ससाना मनोनयनमा समेत अवरोध गर्दा केही डिस्टर्ब भएको छ ।
- राजेन्द्र लिङ्देनलाई अध्यक्ष बनाउन पनि राणा लाग्नुभएको हो । तर अहिले असहयोग गर्नुमा कसैले उचालेको पो हो कि ?
यसबारे त उहाँ आफैले जान्ने कुरा हो । तर यो विषयभित्रका गुदी कुरा यो रेकर्डमा भन्दिनँ । तर र प्रचण्ड नेतृत्वको सरकारमा धवलशमशेर राणा मन्त्रीको प्रवल आकांक्षी हुनुहुन्थ्योसम्म भन्न सक्छु । त्यो आकांक्षा पूरा नभएपछि उहाँले अर्को योजना बनाएर हिँड्न थाल्नुभएको छ । समस्या त्यहीबाट सुरु भएको हो ।
- कतिपयले राप्रपाको यो झगडालाई आगामी महाधिवेशनसँग समेत जोडेर हेर्न थालेका छन्, तपाईं के लाग्छ ?
एउटा जीवन्त पार्टीमा प्रतिस्पर्धा स्वाभाविक रूपमा हुन्छन् । तर यो यस्तो अवस्था हो २०४७ साल जेठमा स्थापना भएको पार्टी २०७८ मंसिर सम्म पुग्दा एउटा पुस्ताले नेतृत्त गरेको अवस्था थियो । यो बिचमा धेरै उथलपुथलहरू भए । सूर्यबहादुर थापादेखि, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनीदेखि कमल थापा हुँदै राजेन्द्र लिङ्देन राप्रपा धारको १० औं अध्यक्ष हो । राजेन्द्र लिङ्देनले पटक पटक ८२, ८३ वर्षको पशुपति शमशेरदेखि सबभन्दा कान्छो सदस्य सुष्मा मिश्रसम्मलाई व्यवस्थापन गर्दै सँगै लिएर हिँड्नुपर्ने चुनौती छ भनेर भन्दै आउनुभएको छ । त्यस कारण यो नयाँ नेतृत्व परीक्षणकालमै छ ।
राप्रपाका नेता कार्यकर्तामा परम्पराकालदेखिको मानसिकता माइन्डसेट रहेको अवस्थामा त्यो रातारात परिवर्तन गर्न सकिँदैन । त्यस कारण कहिलेकाही पार्टीको वास्तविक गति अवरोध भएको हो कि भन्नेजस्तो देखिन्छ । तर गुणात्मक रूपमा राप्रपा कमजोर भएको छैन । त्यसैले यो महाधिवेशनकै तयारी पनि भन्न मिल्दैन । भोलि एउटा स्थिति निर्माण भयो भने सर्वसम्मत रूपमा नेतृत्व पनि चयन हुन्छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता कांग्रेस एमाले, माओवादी, मधेसवादीको राजनीतिक कार्यभार हो भने त्यो उहाँहरूले प्राप्त गरिसक्नुभएको छ ।
राजनीतिक कार्यभार त राप्रपाको बाँकी छ, हामी मिसनमा छौँ । त्यो मिनस प्राप्त गर्न एकताबद्ध भएर साझा नेतृत्व चयन गर्नुपर्छ भन्ने सहमति नहोला भन्न सकिन्न । यही केन्द्रीय समितिको कुरा गर्दा पनि महामन्त्रीले इतिहासमा पहिलो पटक फरक मत लगेर राप्रपामा केके न उलटपुलट हुन लाग्यो भन्ने देखिएको थियो, तर त्यसको राम्रोसँग सेटल गरेका छौँ । निस्कँदा सबै हासेर निस्कने अवस्था बन्यो । त्यस कारण पनि यसलाई महाधिवेशनको तयारी भन्न मिल्दैन । व्यक्तिगत तवरमा भन्दा राजेन्द्र लिङ्देन अर्को एक कार्यकाल दोहोरिनुपर्छ भन्ने आम कार्यकर्ताको माग छ ।
- भनेपछि तपाईंहरू अर्को कार्यकाल पनि लिङ्देनलाई अध्यक्षको उम्मेदवार बनाउनुहुन्छ ?
स्वाभाविक रूपमा राजेन्द्र लिङ्देनलाई अर्को कार्यकालका लागि अध्यक्षको उम्मेदवार बनाउनैपर्छ । यद्यपि उहाँले मभन्दा योग्य साथीहरू आए भने म नउठ्न पनि सक्छु भनिरहनुभएको छ । विधानमा दुई कार्यकाल नेतृत्व गर्न पाउने व्यवस्था पनि छ ।
- लिङ्देनका कारण पार्टी विभाजनको अवस्थामा पुग्यो भन्ने टिप्पणी भइरहँदा तपाईं दोस्रो कार्यकालको कुरा गर्दै हुनुहुन्छ ?
२०७६ सालमा कमल थापा नेतृत्वको राप्रपा नेपाल, प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादी र पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिक गरी तीन वटा पार्टीबीच एकता हुँदा नौ सय केन्द्रीय सदस्य भए । ०७८ सालमा भएको महाधिवेशनपछि १९९ जना छन् । बाँकी सात सय सबै केन्द्रीय सदस्य त छैनन् । कोही जिल्ला र प्रदेशमा बसेर काम काम पनि गर्न सक्दैनन्, केन्द्रमा राख्ने ठाउँ छैन । अनि तिनीहरूको काम फेसबुकमा पार्टी बनेन बिग्रियो भनेर लेख्ने काम मात्र भएको छ, जो गलत छ । अहिले धवल शमशेर राणाको पक्षमा बोल्ने साथीहरूले पनि यो पार्टीमा लामो समय काम गरेका थिए । त्यस कारण उहाँहरूले चिन्ता राख्नु स्वाभाविक हो ।
- विवाद बढ्दै जाँदा कतिपयले राप्रपा फुट्छ पनि भनेका छन्, वास्तविकता त्यही हो ?
हरेक चिजको एउटा विन्दु हुन्छ । हामी सही ढंगले अघि बढेनौँ भने कि राप्रपा समाप्त भएर जान्छ तर राप्रपा फुट्दैन । फुट्ने फेज सकियो ।
- पार्टीको महाधिवेशन कहिले हुन्छ ?
२०८२ साल मंसिरमा चार वर्ष कार्यकाल छ । त्यसपछि महाधिवेशन हुन्छ । २०८२ वैशाखमा अधिवेशनहरू सकिएपछि महाधिवेशनको ढोका खुल्छ ।
- राप्रपाले आन्दोलन गर्ने निर्णय गरेको छ, त्यो आन्दोलनको स्वरूप कस्तो हुनेछ ?
अघिल्लो चैतको २७ गते हामीले एक दिने प्रदर्शन गर्यौँ । त्यो प्रदर्शनका क्रममा प्रशासनले गरेको दमनबाट तीन जना घाइते र एकजना सहादत प्राप्त गर्नुभयो । त्यसैले अबको आन्दोलन सबै संगठन, भ्रातृ संगठनलाई समेत परिचालन गरेर व्यवस्थित आन्दोलन गर्छौँ । त्यस आन्दोलनको स्वरूप पार्टी केन्द्रीय कार्यसम्पादन समितिले तय गर्छ । त्यसअघि माघ र फागुनमा जिल्लाजिल्लामा हुने आन्दोलन हेरेर चैतमा हुने आन्दोलनको स्वरूप तय गर्छौँ ।
- कमल थापा लगायतसँग पार्टी एकताको चर्चा पनि भएको थियो त्यसमा चासो नदेखाइएको हो ?
हाम्रो पार्टीभित्रको अन्तरविरोध व्यवस्थापन गरेर अरू पार्टीसँग पनि कर्नर संवाद र भेटघाट भइरहेका छन् । देशमा राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको महसुुस गर्ने हो भने साना साना समूह बनाएर बसेका राजसंस्था र हिन्दुवादी संस्थाहरू मूल शक्ति राप्रपामा आउनैपर्छ । तर सर्त मानेर उनीहरूलाई पार्टीमा ल्याउन कठिन हुन्छ, व्यवस्थापनमा समस्या हुन्छ । कमल थापाको हकमा उहाँ र अध्यक्ष तथा दोस्रो तेस्रो तहका नेताबीचमा भेटघाट भएको छ । उहाँले राप्रपा छोड्नुहुन्न थियो त्यसमा गल्ती गर्नुभएको हो ।
- अध्यक्ष लिङ्देनले कमल थापालाई भित्र्याउन नचाहेको भन्ने सुनिन्छ नि ?
उहाँकै कार्यकालमा राप्रपामा दुर्घटना भएकाले सचेत हुनुलाई अन्यथा लिन मिल्दैन ।
- महाधिवेशनअघि कमल थापा आउने सम्भावना छ ?
सम्भावना जहिले पनि रहन्छ ।
- राप्रपाको मिसन ०८४ लक्ष्य के हो ?
२०६२/०६३ को परिवर्तनपछि देश कल्पना गरेअनुसार चलेन । त्यस कारण ०८४ मा देशको मूल शक्ति राप्रपा बनाउन सकिन्छ बन्छ भन्ने हाम्रो मिसन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रणनीतिक महत्वको बेनी-दरवाङ सडक अन्तर्गत ‘रणवाङ-दरवाङ’ खण्डमा कालोपत्र सुरू
-
ट्रम्पले भने-वाशिंटन डीसी हवाई दुर्घटनाको कारण अझै अज्ञात
-
१२ बजे, १२ समाचार : विपक्षी दलले सामाजिक सञ्जाल नियमन अध्यादेश अस्वीकार गर्नेदेखि आशिका तामाङलाई तत्काल छोड्न पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको मागसम्म
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ
-
टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा
-
आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग