शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी स्पेसल : राप्रपामा विवाद

‘राप्रपालाई गति दिन नयाँ बालेन चाहिन्छ’

बुधबार, १६ माघ २०८१, ०९ : ३७
बुधबार, १६ माघ २०८१

बृहत् राष्ट्रवादी एकता गरेर वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई अगाडि बढाउन विगतमा हामीले अभियान नै चलायौँ । तर, यो अभियानले केही सार्थकता पाए पनि बिचमै समस्या आएको भान भएको छ । फुट्ने र जुट्ने क्रम दोहोरिइरहँदा हामीले राप्रपाको एकता महाधिवेशन अघि यो अभियान चलाएका थियौँ । सोहीअनुसार हामीले फेरि एकताबद्ध हुन्छौँ भनेर जनताको बिचमा प्रतिबद्धता पनि गर्‍यौँ । तर, हाम्रै क्रियाकलापले अहिले हामीलाई अविश्वासी बनाएको अवस्था छ । 

देश सुखी र समृद्ध नेपाल बन्छ भनेर राप्रपामात्रै नभएर सबै दलहरूप्रतिको जनताको जुन किसिमको अपेक्षा थियो, उनीहरूको व्यवहारबाट जनता सन्तुष्ट हुन सकिरहेको अवस्था छैन । राप्रपासहितका दलहरू कहीँ न कहीँ व्यक्तिगत स्वार्थमा केन्द्रित भएको जस्तो जनतामा सन्देश गएको छ । त्यसकारण पनि अहिले जनताले नयाँ विकल्पको खोजी गरेको अवस्था छ । 

विद्यमान राजनीतिक दलहरू भन्दा पनि अब विभिन्न परिस्थितिबाट अघि बढ्नुपर्ने जनताले सन्देश दिन थालिसकेका छन् । नेपाली कांग्रेस, राप्रपा, नेकपा एमाले वा माओवादी केन्द्र भन्दा पनि मुलुक बनाउन नयाँ मान्छेहरूको आवश्यकता छ । हामीले जुन व्यवस्थाको कल्पना गरेर गणतन्त्र ल्याएका थियौँ त्यो व्यवस्थामा युवा वर्गहरू पूर्ण रूपमा असन्तुष्ट छन् । यो हुनु भनेको व्यवस्था त एउटा कुरा होला त्यो भन्दा पनि ठुलो कुरा नेतृत्वको समस्या भयो । व्यवस्था आफैँमा खराब हुँदैन, व्यवस्था सञ्चालन गर्ने मान्छेहरू या नेतृत्वमा बसेका मान्छेहरू चाहिँ खराब भए ।

भन्नलाई हामी भ्रष्टाचार शब्द सुन्न पनि चाहँदैनौँ भन्ने तर त्यही मान्छेबाट भ्रष्टाचारको संरक्षण गर्ने काम भएको छ । यस्तै व्यवहारले जनतामा नराम्रो सन्देश गयो । हामी मुलुकलाई नबनाईकन सरकारमा जाँदैनौँ भन्नेहरू पनि सत्ताका लागि लोभ गरेर आश्रित भएको देखियो । प्रजातन्त्र पुनर्स्थापनापछिका ३५ वर्षको अवधिमा पनि मुलुक बन्ने खालको आशा, विश्वास र त्यो खाले उत्साह जनतामा देखिएन । निराशा किन छ भने सबै दलहरूले जनतासामु कबुल गरेका कुराहरू पूरा गर्नतर्फ नेतृत्व लागेनन् । अब नयाँ परिस्थितिका लागि यही व्यवस्थामा नयाँ नेतृत्व पो छ कि ? भनेर खोज्ने बेला आएको छ । 

राप्रपामा पछिल्लो समय विवाद भएको देखिन्छ । तर यस्तो विवाद राप्रपाका लागि नयाँ होइन । जुन विगतमा पटक पटक देखिएकै हो ।

अहिले बालेन शाहको गतिविधि, हर्क साम्पाङको गतिविधि हेर्दा जनता केही आशावादी भएको जस्तो देखिन्छ । किनभने, बालेन शाहको कामकारबाहीबाट जनता खुसी भएको देखिन्छन् । तर, त्यही बालेन शाहलाई निरुत्साहित बनाउन सिङ्गो दलहरू र सरकार नै लागिपरेको जस्तो देखिन्छ । उनीप्रति मान्छे किन आशावादी देखिए भने बालेनमा जति विश्वास सरकारमा देखिएन । जस्तोः कुलमान घिसिङविरुद्ध समेत सरकार लागेको देखिन्छ । तर उनले विगतमा देशलाई उज्यालो यात्रातर्फ अघि बढाउने सन्दर्भमा जनताचाहिँ खुसी छन् । जनता खुसी हुनेविरुद्ध पो सरकार जाने रहेछ त भनेर पनि बाहिर सन्देश गएको छ । 

  • राप्रपामा किन विवाद ?

राप्रपामा पछिल्लो समय विवाद भएको देखिन्छ । तर यस्तो विवाद राप्रपाका लागि नयाँ होइन । जुन विगतमा पटक पटक देखिएकै हो । त्यहाँ विवाद हुनुको मुख्य कारण सत्ताकेन्द्रित राजनीति नै हो । राप्रपाभित्र देखिएको विवाद सैद्धान्तिक पनि होइन । त्यो बृहत् एकता गर्नुपर्छ भन्ने र गर्नु हुन्न भन्नेबिचको जस्तो पनि देखिन्छ । अर्को मत के छ भने हामीले जुन गल्ती विगतमा गरेका थियौँ, त्यो फेरि दोहोर्‍याउन हुँदैन भन्ने पनि छ । यी कुराहरूको मिहिन विश्लेषण गर्दा अहिलेको नेतृत्वले बृहत् राष्ट्रवादी एकता कायम गरेर वैकल्पिक राजनीतिक शक्ति स्थापना गर्ने, मुलुकमा हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था स्थापना गर्ने जनतामा विश्वास दिलाउने जुन उद्देश्य लिएको थियो, त्यसमा विचलन देखिएको छ । त्यो विचलनकै परिस्थितिको साइड इफेक्ट राप्रपामा देखिएको हो, नयाँ विवादका रूपमा । यो विवाद पनि कस्तो भयो भने अरू पार्टीमा जस्तै सत्तामा कसरी जाने, आफू कसरी सुरक्षित हुने भन्नेतर्फ भयो । यो विगतमा पनि थियो अहिले पनि छ । 

राजेन्द्र लिङ्देन नेतृत्वमा आएपछि राप्रपामा कायापलट हुन्छ भन्नेहरू पनि थिए । हामीलाई पनि खस्किएको राप्रपा अब बनाउनुपर्छ भन्ने थियो । तत्कालीन राप्रपा नेपाल दोस्रो संविधानसभा निर्वाचनबाट चौथौ शक्तिको रूपमा उदाएको थियो । तर त्यतिबेला राप्रपा दुई भागमा विभाजित थिए । एउटा राप्रपा सदनमै थियो, तर त्यो गणतन्त्रको पक्षमा थियो । राप्रपा नेपालचाहिँ संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा थियो । यस्तो पृष्ठभूमिमा एउटा बृहत् राष्ट्रवादी शक्ति बनाऊँ भनेर एकताका लागि पहलकदमी लिइएको थियो । सोहीअनुसार एकता पनि भयो । तर, संविधान बनेसँगै हामी सत्तामा पनि गएपछि जनता चिढिए ।

वर्तमान नेतृत्वबाट राप्रपा अघि बढ्न सक्दैन भन्ने मेरो निष्कर्ष हो । उहाँहरूले जबसम्म आफूलाई सच्याउन सक्नुहुन्न तबसम्म नेपाली जनताले विश्वास गर्दैनन् ।

राजा मान्ने पार्टी गणतान्त्रिक सरकारमा गएको कुरा जनतालाई मन परेन । उसो त हामीले सत्तामा नजाने भनेर जुन कबोल गरेका थियौँ, जनताले बेइमानी गरेको बुझेपछि समस्या उत्पन्न भयो । त्यसैको कारणबाट चौथो शक्तिबाट राप्रपा शून्यको अवस्थामा पुग्यो । यहीबिचमा पार्टी पुनर्निर्माणको बहस सुरु भएसँगै नयाँलाई नेतृत्व दिँदा छलाङ मार्दै जनताका बिचमा विश्वास जित्न सकिन्छ कि भनेर राजेन्द्र लिङ्देनलाई अघि सारेर हामी एकताको महाधिवेशनमा होमिएका थियौँ । मसहितको समर्थनमा उनलाई नेतृत्वमा स्थापित गरिएको थियो र केही समय एउटा नयाँ उत्साह पनि आउन सकेको थियो ।

तर, उहाँले पनि नयाँ बोतलमा पुरानै रक्सी भनेजस्तो काम गर्नुभयो । उहाँ पुरानै गल्तीलाई दोहोर्‍याउँदै सरकारमै जानुभयो । आफैँ पार्टीको तर्फबाट जनतामा गएपछि सबै उही त रहेछन् भन्ने किसिमको सन्देश जनतामा गयो । अहिले पनि पार्टी बलियो बनाऊँ भन्दा पनि सत्तामा को जाने र कसलाई रोक्ने भन्ने विषयको विवाद त्यहाँभित्र झाँगिएको छ । त्यही कारण सो पार्टीप्रति चासो र उत्साह हराएको हो भन्ने मेरो बुझाइ हो । व्यक्तिगत रूपमा भन्नुपर्दा लक्ष्यकेन्द्रित गतिविधि नभएपछि काम गर्ने उत्साह नै हराएर मेरो पछिल्लो समय राजनीतिमै निष्क्रियता रहेको साँचो हो । 

  • ‘वर्तमान नेतृत्वबाट राप्रपा माथि जान सक्दैन’

वर्तमान नेतृत्वबाट राप्रपा अघि बढ्न सक्दैन भन्ने मेरो निष्कर्ष हो । उहाँहरूले जबसम्म आफूलाई सच्याउन सक्नुहुन्न तबसम्म नेपाली जनताले विश्वास गर्दैनन् । अब नयाँ परिस्थिति पनि सिर्जना भइसकेको छ, त्यसकारण सोहीअनुसार मुलुकलाई परिवर्तन गर्छु भनेर जसरी बालेन शाहहरूले आशा देखाउनुभएको छ त्यस्तै प्रकारबाट बृहत् राष्ट्रवादी दृष्टिकोण बोकेको नेतृत्वको खाँचो छ । राप्रपाको अहिलेकै नेतृत्व र नेताहरूको सक्रियताबाट राजतन्त्र फर्काउन पनि सम्भव छैन । जनता राजतन्त्रको पक्षमा छन् तर मुद्दा बोक्ने र मुद्दालाई स्थापित गर्ने नेतृत्व नै जनताले भेटेका छैनन् । जुन जोगी आए पनि कानै चिरेको भनेजस्तो प्रवृत्ति नेतृत्वमा देखियो । अर्को कुरा एजेण्डाको हिसाबले राजनीतिक गर्ने हो भने राजावादी शक्तिहरू एक ठाउँमा आउन सक्ने सम्भावनालाई नकार्न त सकिँदैन तर यिनै नेतृत्वबाट त्यो एकता सम्भव पनि देखिँदैन । 

अहिले परीक्षण भइसकेका नेतृत्व कसैबाट पनि राप्रपालाई माथि उठाउन सम्भव देखिँदैन । दोहोर्‍याएर भन्छु–राप्रपा बनाउन नयाँ विकल्प र नेतृत्व चाहिन्छ । जनताले पनि नयाँ र आशा जगाउन सक्नेलाई खोजेका छन् । जनतालाई विश्वास हुने किसिमबाट नयाँ नेतृत्व आउनेबित्तिकै राप्रपामात्रै होइन अहिलेका सबै दलहरू बालुवाका घरजस्ता हुने निश्चित छ ।  राप्रपाको हकमा त पार्टीलाई गति दिन नयाँ बालेन नै चाहिन्छ । जसको खोजी हुन जरुरी छ । 

(राप्रपा पृष्ठभूमिका नेता तथा पूर्वमन्त्री गिरीसँग गरिएको कुराकानीमा आधारित) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिलनाथ गिरी
दिलनाथ गिरी
लेखकबाट थप