रौतहटमा झन्डै ५० हजार बालिकालाई एचपीभी खोप लगाइने
रौतहट । रौतहटमा राष्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत झन्डै ५० हजार बालिकालाई एचपीभी खोप लगाइने भएको छ। विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका ४९ हजार २६९ जना बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ।
खोप कार्यक्रम अभियानका लागि जिल्लाको १८ वटै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गरी सोही अनुसारको जनशक्ति व्यवस्थापन गरिसकेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ। खोप कार्यक्रम रौतहटमा दुई चरणमा हुने छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेश सिंहले जिल्लाको सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा ३९ हजार र विद्यालय बाहिर रहेकाे १० हजार बढि कुल ४९ हजार २६९ जना बालिकालाई एचपीभी खोप लगाइने जानकारी दिएका छन्।
पहिलो चरणको अभियान अन्तर्गत अगामी माघ २३ गते देखि फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ नगरपालिकामा खोप कार्यक्रम सञ्चालन गरिने छ।
त्यस्तै दोस्रो चरणमा माघ ३० गते देखि गौर, राजदेवी, दुर्गा भगवती, यमुनामाई, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुर नगरपालिकामा खोप कार्यक्रम सञ्चालनको तयारी गरिएको जनस्वास्थ्य प्रमुख सिंहले बताएका छन्।
सरकारले विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० बाट प्रमाणित एचपीभी खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन अगामी माघ २२ देखि फागुन ६ गते सम्म देशव्यापी एचपीभी खोप अभियानको सञ्चालन गरिरहेको छ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये १३ सय महिलाको मृत्यु हुने गरेको जनाइएको छ ।
यसैबिच एचपीभी खोप अभियान २०८१ सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम फतुवा बिजयपुमा सम्पन्न भएको छ । नगर स्वास्थ्य शाखा संयोजक रमेश यादवले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्यकर्मी प्रमोद गुप्ता र अनिल यादवले राष्ट्रिय खोप कार्यक्रमको उद्देश्य,महत्त्व र प्रभावकारिताको बारेमा जानकारी दिएका थिए। कार्यक्रममा मेयर अम्बेया खातुन , निमित्त प्रशासकीय अधिकृत उपेन्द्र साह , वडा अध्यक्षहरू , शिक्षा सह संयोजक अनिल यादव ,माबि दुधियावाको निमित्त प्रअ रन्जन खरेल , लगायतको उपस्थिति रहेको थियो ।