१२ बजे, १२ समाचार : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक भेटघाट तीब्रदेखि पाथीभरा केवलकार र झडपलाई लिएर एक्सनमा गृहमन्त्रीसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ‘वार्मअप’
एक हप्ता लामो बसाइका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आइपुगेकी छिन् । यस अवधिमा उनले विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुनेछिन् । अनौपचारिक रूपमा भने एमालेका नेता, कार्यकर्तासँगको भेटघाटलाई तीव्रता दिने उनको तयारी छ ।
२. सेनाले बनाइरहेका आयोजना
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (एक्सप्रेस वे’, कर्णाली करिडोर, बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ्ग सडक, उत्तर-दक्षिण कोशी सडक खाँदबारी किमाथांका सडक र दार्चुला–टिंकर सडकखण्ड, यी हुन् नेपाली सेनाले बनाइरहेका अर्थात् जिम्मा पाएको पाँच रणनीतिक आयोजना।
३. हिउँदे अधिवेशन
संघीय संसद्का दुवै सदनको अधिवेशन यही माघ १८ गते सुरु हुँदै छ । यो हिउँदे अधिवेशनबाट कति विधेयकले कानुनको रूप लिन्छ भन्ने कौतुहलता संसदीय मामिलामा चासो राख्नेहरूमा देखिन्छ । यस्तै, सरकारले सदनमा विचाराधीनबाहेक नयाँ विधेयक कति ल्याउँछ र त्यसलाई कानुनमै रूपान्तरण गर्छ भन्ने कौतुहलता पनि उत्तिकै छ ।
४. एकीकृत समाजवादीको अपानि
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा रहेको सैद्धान्तिक जडता र विसङ्गतिबाट सङ्गठनात्मक निराशा, उकुसमुकुस र पलायनतर्फ उन्मुख भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेको नेतृत्व र उसैको नेतृत्वको सरकार सार्वजनिक जीवनमा समेत बदनाम हुँदै गएको दाबी गरेका छन् ।
५. आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद
स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबिच भएको सहमतिलाई लिएर आवासीय चिकित्सकहरू आक्रोशित बनेका छन् । स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सकहरूको निर्वाह भत्ताका विषयमा गरेको सहमतिप्रति उनीहरू आक्रोशित बनेका हुन् ।
६. सामाजिक सञ्जाल विधेयक
सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मंगलबार संसदमा दर्ता गराएको छ । उक्त विधेयक हिउँदे अधिवेशनमा पेस हुनेछ । विधेयकमा भएका कतिपय प्रावधानले अभिव्यक्ति स्वतन्त्रतालाई असर पार्न सक्ने विज्ञहरू बताउँछन् ।
७. समाजवादी मोर्चा
समाजवादी क्रान्तिको आधार तय गर्ने उद्देश्यले गठन भएको चारदलीय समाजवादी मोर्चाका नेताहरूबिच घोचपेच भएको छ । लामो समयपछि मंगलबार राजधानीमा मोर्चाले गरेको विचार सभामा नेताहरूबिच घोचपेच चलेको हो ।
८. संविधान संशोधन बहस
नेपाल ल कलेजकी उपप्राध्यापकसमेत रहेकी संवैधानिक र अन्तर्राष्ट्रिय कानुनकी विज्ञ रुक्मिणी महर्जनले नेपालमा समावेशिता र आरक्षणका विषयमा लामो समयदेखि अध्ययन र अनुसन्धान गर्दै आएकी छन् । उनै महर्जनसँग रातोपाटीको संविधान बहसका लागि गरिएको कुराकानीको मुख्य अंश:
९. विप्लवको ‘सी व्यापार केन्द्र
एकीकृत राजनीतिक क्रान्ति र उत्पादनलाई सँगसँगै अगाडि बढाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ । काठमाडौँको बुढानीलकण्ठस्थित तल्लो पासीकोट पिपलाचोकमा सञ्चालनमा ल्याइएको ‘सी व्यापार केन्द्र’ मा नेकपाका नेता–कार्यकर्ताले देशभर उत्पादन गरेका सामाग्री बिक्री गरिन्छ ।
१०. स्वास्थ्य मन्त्रालयको चेतावनी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्यका नियामक निकायहरूमा दर्ता नभएका भिटामिन तथा खनिज जस्ता मिश्रित फर्मास्युटिकल बनावटहरू बिक्री नगर्न चेतावनी दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले मिश्रित फर्मास्युटिकल बनावटहरू (ट्याबलेट, क्याप्सुल, झोलहरु) न्युट्रास्युटिकल्सका नाममा औषधि पसलहरूबाट बिक्री वितरण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
११. गृह मन्त्रालय
गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित ४ जिल्लाका सांसदहरूसँग छलफल गरेका छन् । मंगलबार साँझ गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसँग छलफल गरेका हुन् ।
१२. रुसद्वारा उपग्रह सङ्ख्या वृद्धि गर्ने योजना
रुसले सन् २०३० सम्ममा आफ्नो उपग्रहको सङ्ख्या ६५० पुर्याउने योजना बनाएको रुसको अन्तरिक्ष निगम रोस्कोसमोसका प्रमुख युरी बोरिसोभले मङ्गलबार बताएका छन् । बोरिसोभले यस अन्तर्गत व्यावसायिक उपग्रहहरू समावेश नरहेको बताए ।