कर्णाली प्रदेश सभा : सरकार र प्रतिपक्षबिच जुट्न सकेन सहमति
सुर्खेत । मंगलबार दिउँसो बस्ने भनिएको कर्णाली प्रदेश सभाको बैठक नबसेर नै स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र सरकारबिच सहमति नजुट्दा प्रदेश सभा बैठक बस्न नसकेको हो ।
प्रतिपक्षले वार्षिक १० हजारलाई रोजगारी दिने ‘कर्णाली समृद्धि परियोजना’ लागू गर्ने, संशोधित प्रदेश खेलकुद विकास विधेयक अघि बढाउनुपर्ने लगायतका माग राख्दै आइतबार बैठक अवरुद्ध गरेको थियो ।
प्रतिपक्ष दलका नेता राजकुमार शर्मा र मुख्यमन्त्री यामलाल कँडेलबिच संसद्को गतिरोध हटाउन सोमबार र मंगलबार छलफल हुँदा पनि निचोड नआएपछि मंगलबार पनि बैठक बस्न नसकेको हो ।
माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले आफूहरूले उठाएका माग सम्बोधन गर्नतर्फ सरकार अग्रसर नभएकाले प्रदेश सभा बैठक बस्न नसकेको बताए । ‘हामीले उठाएका मागबारे मुख्यमन्त्रीज्यू निकै हलुका हुनुहुन्छ,’ उनले भने, ‘उहाँ मुख्यमन्त्री बन्दै गर्दा कार्यान्वयन गर्ने सहमति गर्नु भएको छ । तर अहिले प्रतिपक्ष भनेर हलुवा रूपमा लिनुभयो ।’
यदि प्रतिपक्षका माग सम्बोधन नभएको खण्डमा संसद् चल्न नदिने उनको भनाइ छ ।
यता सरकारका प्रवक्ता विनोदकुमार शाहले प्रतिपक्षले बजेट वक्तव्यमै नभएको कार्यक्रमबारे अड्को थापेर संसद् बन्धक बनाउने काम गलत भएको बताए ।
‘छलफल पटक–पटक भयो, उहाँहरू भनेकै मान्नुहुन्न,’उनले रातोपाटीसँग भने, ‘अहिलेकै अवस्थामा उठाइएका मागबारे केही गर्न सक्ने अवस्था पनि छैन । त्यो बेकार हो ।’
प्रतिपक्ष दलका नेताले आफ्नो कार्यकालमा कानुन बनाएर लागु किन नगरेको भन्दै शाहले उल्टै प्रश्न गरे । ‘अहिले खाली अड्को थाप्ने काम राम्रो हुँदैन, त्यो कार्यक्रमलाई अहिले सरकार र प्रदेश सभाले चिन्दैन,’ शाहले थपे, ‘बरु अर्को आर्थिक वर्षमा विचार गर्न सकिन्छ ।’
चालु आर्थिक वर्षको बजेट निर्माणका बेला माओवादीकै अर्थमन्त्री महेन्द्र केसी थिए । उनी पूर्व मुख्यमन्त्री राजकुमार शर्माकै जिल्लाका पनि हुन् । शाहका अनुसार त्यो बेला केसीले उक्त कार्यक्रम बजेटमा समावेश नै गरेनन् ।
तत्कालीन अवस्थामा राजनीतिक सहमति गरेको स्वीकार गर्दै शाह भन्छन्, ‘हो सहमति गरेकै हो, तर बजेट निर्माणमा क्रममा माओवादीकै अर्थमन्त्री थिए । बजेटमा उक्त कुरा आएन । समावेश गर्नु भएन । त्यसमा कसैले त्यो बेला प्रश्न उठाएन ।’
सत्ता र प्रतिपक्षबिचको टसलका कारण प्रदेश सभा बन्धक बनेको छ । प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार माघ २५ गतेसम्मका लागि बैठक स्थगित भएको छ । ‘मंगलबार बस्ने भनिएको बैठक दलहरूबिच सहमति नहुँदा बस्न सकेन,’ उनले भने, ‘२५ गते दिउँसो तीन बजे बस्नेगरी बैठक स्थगित भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा हटाइयो ६ लाखभन्दा बढी भेनेजुएलीको अस्थायी संरिक्षत स्थिति, अब के होला ?
-
कुम्भ मेलामा मारिनेको आश्रितलाई २५ लाख दिँदै भारत
-
आज ३ इजरायली, ५ थाई बन्दीलाई रिहा गर्दै हमास
-
माओवादी संसदीय दलको बैठक आज
-
माग पूरा नभएको भन्दै निर्माण व्यवसायी शुक्रबारदेखि सडकमा उत्रिने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)