समाजवादी मोर्चाको विचार सभामा नेताहरूबिच घोचपेच भएपछि प्रचण्ड रिसाए
काठमाडौँ । समाजवादी क्रान्तिको आधार तय गर्ने उद्देश्यले गठन भएको चारदलीय समाजवादी मोर्चाका नेताहरूबिच घोचपेच भएको छ । लामो समयपछि मंगलबार राजधानीमा मोर्चाले गरेको विचार सभामा नेताहरूबिच घोचपेच चलेको हो ।
कार्यक्रमको सुरुमै मोर्चाका संयोजक समेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ लक्षित गर्दै लामो समय समाजवादी मोर्चा निष्क्रिय हुँदा जनताले प्रश्न उठाएको बताए । पहिला निकै तामझामसँग गठन भएको मोर्चा अहिले कुम्भकर्ण भएको आरोप लाग्ने गरेको तर अब ब्युँझेर आएको उनले बताए ।
‘समाजवादी मोर्चा कुम्भकर्ण होइन ब्युँझेर आएको छ । मोर्चा गतिमै छ । जसपा अहिले छैन । नेसपालाई सहभागी गराउन सफल भएका छौँ’, उनले भने, ‘थुप्रै मित्र शक्तिलाई मोर्चामा ल्याउने पहल भइरहेको छ । सरकार ढल्छ र ढल्दैन तिखा बहस भइरहेका छन् । जनताले निकासको चाहना राखेका छन् । सबैतिरबाट सक्रिय हुने परिस्थिति बनिराखेको छ ।’
विप्लवपछि सम्बोधन गरेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले लामो समय मोर्चाको बैठक नबस्दा जनतामा निराशा बढेकाले अब सक्रिय भएर समाजवादको आधार तय गर्नुपर्नेमा जोड दिए ।
‘हामी मोर्चामा आबद्ध भएको पनि ६ महिना भएछ । बल्ल बैठक बस्यो । लामो समय मोर्चाको गतिविधि नहुँदा जनतामा निराशा बढ्दै गएको छ । ढिलै भएपनि सक्रिय भएको छ । अब निरन्तरता दिनुपर्छ’, उनले भने ।
त्यसपछि सम्बोधन गरेका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवादी मोर्चा सुस्ताएको हो कि निधाएको हो भन्ने शंका उब्जिएको भनेर व्यांग्य गरे ।
‘समाजवादी मोर्चा सुस्ताएको कि निधाएको शंका उठेको होला । विप्लवजीले बैठक राख्न निकै दौडधुप गर्नुभयो । पछि दिक्क मान्नु भएछ । केही सिप नलागेपछि मलाई घचघच्याउनुभयो । एउटै पार्टीमा भएरपनि प्रचण्डलाई मनाउन सक्नु भएन छ । उहाँ थाक्नुहोला जस्तो लागेको थिएन थाक्नुभएछ । आज पनि ढिलो गरी प्रचण्डजी आइपुग्नुभयो’, उनले भने ।
मोर्चाका नेताहरूले आफूमाथि आरोप लगाएपछि असन्तुष्ट पोख्दै प्रचण्डले आरोपको खण्डन गरे । मोर्चालाई सक्रिय बनाउन आफूले नचाहेको आरोप लगाउँदा बाहिर सन्देश राम्रो नजाने उनले बताए ।
‘दलहरूको आन्तरिक व्यस्तताले समाजवादी मोर्चा केही समय सुस्ताएको हो । आन्तरिक व्यस्तताले केही ढिला भएको हो । देशको राजनीतिमा विकसित भएको घटनाक्रमले गतिरोध भयो । यी सबै कुरा समीक्षा गरी अगाडि बढाउनु पर्छ’, प्रष्टीकरण दिँदै उनले भने, ‘आजको कार्यक्रम पनि सहिद दिवसको दिन भोलि गर्ने भनिएको थियो । माओवादीले नचाएको जस्तो माधवजीले गर्नुभयो । पूर्वमा ४ बजेको सम्मको कार्यक्रम छाडेर आएको हुँ । यसलाई मिनिमाइज गरियो भने गलत सन्देश जानेछ, त्यस्तो होइन ।’
उनले समाजवादी मोर्चालाई राष्ट्रिय राजनीतिको विकल्पको रूपमा उभ्याउनुपर्ने बताए । समाजवादी मोर्चा जागरूक नहुने हो भने देश दुर्घटनामा जाने सम्भावना रहेकोतर्फ प्रचण्डले सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ३ इजरायली, ५ थाई बन्दीलाई रिहा गर्दै हमास
-
माओवादी संसदीय दलको बैठक आज
-
माग पूरा नभएको भन्दै निर्माण व्यवसायी शुक्रबारदेखि सडकमा उत्रिने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
बजेट विवाद : सरकारले वातावरण नबनाए प्रदेशसभा चल्न नदिने माओवादीको चेतावनी
-
पोखरा महानगरले हटाएका कर्मचारी सर्वोच्चमा, तत्काल नहटाउन अल्पकालीन आदेश