पार्टी बलियो बनाउन २५ सय नेता कार्यकर्तालाई गाउँमा परिचालन गर्दै एमाले
सुर्खेत । पार्टीलाई ग्रामीणस्तरमा बलियो बनाउन भन्दै नेकपा एमाले सुर्खेतले गाउँ फर्क अभियान सुरु गरेको छ । एमाले जिल्ला कमिटीको चौथो पूर्ण बैठकले त्यसका लागि विभिन्न योजनाहरू अघि सारेको जनाएको छ ।
सोमबार एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य एवम् कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको सहभागितामा सम्पन्न बैठकमा यसअघि पार्टीको स्थितिबारे पनि बृहत् रूपमा छलफल गरिएको छ ।
एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमल्सिनाका अनुसार बैठकमा सहभागी जिल्ला कमिटी सदस्य, निर्वाचन समन्वय कमिटीका संयोजक, पालिका कमिटीका अध्यक्ष र विभागीय प्रमुखबाट आफ्नो कार्यक्षेत्रका गतिविधि तथा सांगठानिक अवस्थाको रिपोर्टिङ गरिएको थियो । त्यसअनुरूप नयाँ कार्य योजना बनाई लागु गरिएको उनले जानकारी दिए ।
पार्टीलाई निर्णायक र राष्ट्रिय शक्ति बनाउने अभियानमा एमाले रहेको उनको भनाइ थियो । उनका अनुसार त्यसका लागि माघ, फागुन र चैत गरी तीनमहिने वडाकेन्द्रित अभियान चल्नेछ । त्यसलाई प्रभावकारी बनाउन विभिन्न १४ वटा निर्णयहरू गरिएका छन् ।
मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका निर्णयमा प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीका बैठकहरू फागुनभित्रै गर्ने, पालिका कमिटीका बैठकहरू यही महिनाभित्रै सम्पन्न गरिने एमाले सुर्खेत जिल्ला अध्यक्ष देवकोटाले बताए ।
यस्तै सुर्खेतका हरेक पालिकाहरूमा प्रशिक्षण कार्यक्रम राखिएको छ भने फागुन १० गतेभित्र जनसंगठन संयन्त्र गठन गरिने पनि उनले बताए । यस्तै पालिकास्तरका विभागहरू गठन र ९९ वटै वडा कमिटीका बैठकहरू फागुन १० गतेभित्र गरिसक्ने तयारी गरिएको देवकोटाले जानकारी दिए ।
उनका अनुसार ०८२ का लागि पार्टी सदस्यता नवीकरण तथा विस्तार गरी कुल मतदाता संख्याको ६ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । कम्तीमा एक तिहाइ युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने र पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने पनि उनले बताए ।
यस्तै पार्टीको नेतृत्व र सहभागितामा तीनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमुनायोग्य कामलाई जनसमुदायबीच प्रचारप्रसार गर्ने गरिनेछ । ‘त्यो एमालेबाट निर्वाचित जनप्रतिनिधि मात्र होइन, सबै जनप्रतिनिधिले गरेका कामको प्रचार गरिन्छ,’ देवकोटाले भने, ‘जनतासँग प्रत्यक्ष संवाद गर्नेगरी आधारभूत तहका पार्टी कमिटी तथा सदस्यहरू जनताको घर–घरमा पुग्नेगरी कार्यक्रम तय गरिएको छ ।’
यस्तै विकास निर्माण तथा जनसरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै सशक्त रूपमा आवाज उठाउनेलगायत विविध निर्णयहरू बैठकले गरेको छ । ‘यो अभियानलाई सफल बनाउन एमाले जिल्लाका २५ सय नेता, कार्यकर्ताहरू गाउँबस्तीमा जान्छन्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी संसदीय दलको बैठक आज
-
माग पूरा नभएको भन्दै निर्माण व्यवसायी शुक्रबारदेखि सडकमा उत्रिने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
बजेट विवाद : सरकारले वातावरण नबनाए प्रदेशसभा चल्न नदिने माओवादीको चेतावनी
-
पोखरा महानगरले हटाएका कर्मचारी सर्वोच्चमा, तत्काल नहटाउन अल्पकालीन आदेश
-
अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार