को हुन् डिपसिक बनाउने लियाङ वेनफेङ ?
बेइजिङ । एआईको दुनियाँमा अमेरिकी कम्पनीहरूको दबदबा रहँदै आएको छ । तर चीनको एआई स्टार्टअप डीपसिकले यसलाई तोड्ने देखिएको छ ।
लन्च भएको केही दिनमै कम्पनीले एआईको क्षेत्रमा हलचल मच्चाएको छ । डीपसिक बजारमा छिर्ने बित्तिकै ठुला अमेरिकी कम्पनीका मालिक र अधिकारीहरूको चिन्तित बनेका छन् । एनभिडिया र माइक्रोसफ्ट जस्ता कम्पनीहरूको शेयर मूल्यमा पहिरो जानु यसको एउटा संकेत हो ।
डीपसिक हेज फन्ड म्यानेजर लियाङ वेनफेङले स्थापना गरेको एआई स्टार्टअप कम्पनी हो । कम्पनीले आर१ मोडल सार्वजनिक गरेयता विश्वभर यसको चर्चा व्यापक बनेको छ । अहिले ४० वर्षीय लियाङ चीनको ‘राष्ट्रिय हिरो’ बनेका छन् । गएको हप्ता राजधानीमा चिनियाँ प्रधानमन्त्री लि चियाङको अध्यक्षता गरेको सिम्पोसियममा लियाङलाई बोलाइनुले पनि उनको ख्यातिबारे बताउँछ ।
१९८५ मा ग्वाङ्डोङको झान्जियाङमा एक साधारण परिवारमा जन्मिएका लियाङ चीनमा मात्र नभएर प्रविधि र उद्यमशीलताको दुनियाँमा पनि उदाहरण बनेका छन् । लियाङका पिता प्राथमिक विद्यालय शिक्षक हुन् । कडा परिश्रम र फरक दृष्टिकोणको साथमा उनले आफूलाई विश्वमा एक अग्रणी एआई उद्यमीको रूपमा स्थापित गरेका छन् ।
लियाङ पढाइमा तेज थिए । उनले चीनको सबैभन्दा पुरानो र ख्यातिप्राप्त विश्वविद्यालय ‘झेजियाङ विश्वविद्यालय’बाट इलेक्ट्रोनिक सूचना इन्जिनियरिङमा स्नातक डिग्री गरेका थिए । त्यसपछि उनले सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर स्नातकोत्तर गरे । उनले मेसिन लर्निङ र वित्तीय डेटा विश्लेषणमा व्यापक अनुसन्धान गरेका छन् । चिनियाँ ई–कमर्स संस्थापक र पिन्डुओडुओका पूर्व सीईओ कोलिन हुआङले पनि यही पढेका हुन् ।
- करियरमा उडान
स्नातक पछि लियाङले २०१३ मा हाङ्ग्जाउ याकेबी लगानी व्यवस्थापन र २०१५ मा झेजियाङ जिउझाङ सम्पत्ति व्यवस्थापन जस्ता कम्पनी खोले । यी कम्पनीहरू त्यति धेरै प्रसिद्ध भएनन् । त्यसपछि लियाङ र उनका दुई सहपाठीले हाई–फ्लायर नाम गरेको क्वान्टम हेज फन्ड खोले । डिपसेकमा सारा लगानी यही कोषबाट आएको हो ।
२०२१ सम्ममा कोषले आफ्नो सञ्चालनमा एआईको पूरा प्रयोग गरिसकेको थियो । कोषले बजारको प्रवृत्तिको भविष्यवाणी गर्न अनि तथ्यांकमा आधारित लगानी निर्णय आदिमा एआईको प्रयोग गर्दै आएको छ ।
कोषका वेबसाइटअनुसार यसको टिममा अवार्ड विजेता गणितिज्ञ, भौतिकशास्त्रीहरू छन् । एआईको क्षेत्रमा फड्को मार्ने उद्देश्यले २०२३ मा लियाङले डीपसिक खोल्ने निर्णय गरे । हाई फ्लाएरले पैसा उपलब्ध गराएकोले कम्पनीले महत्त्वाकाङ्क्षी एआई परियोजनामा बाह्य लगानीकर्ताको दबाब पनि खेप्न परे । कम्पनीले दीर्घकालीन अनुसन्धान र विकासमा ध्यान लगाउन सक्यो । डीपसिकको टोलीमा जम्मा १० जना छन् ।
आफ्नो मोडललाई तालिम दिन १० हजार चिप क्लस्टर बनाउने कुरा लियाङले गर्दा उनकै साथीहरूले पनि पत्याएका थिएनन् । बाइटडान्स र अलिबाबा जस्ता कम्पनीका लागि मात्रै सम्भव हुने कुरा लियाङले गरिरहँदा धेरैले उनलाई हाउडे पनि भनेका थिए ।
सुरुमा डीपसिक साइड प्रोजेक्ट मात्रै थियो । तर एआईमा लियाङको लगाव यति धेरै थियो कि उनी आफैँ यसमा लिप्त भए । लियाङले डीपसिकलाई चीनको ठुला प्रविधि कम्पनी मात्रै नभएर अमेरिकी टेक जायन्टहरूलाई समेत एआईको क्षेत्रमा टक्कर दिन सक्ने घरेलु कम्पनीको रूपमा परिकल्पना गरेका थिए ।
यसका लागि उनले चीनका विश्वविद्यालयका टप ट्यालेन्टहरूलाई लिए । यिनीहरूलाई बाइटडान्सले दिने सरह तलब सुविधा दिए । यसले गर्दा चाहेको प्रतिभा कम्पनीमा ल्याउन र टिकाउन पनि मद्दत मिल्यो । डीपसिकले २०२३ मा पहिलो एआई मोडल डीपसीक कोडर लन्च गर्यो । त्यसपछि डीपसिक एलएलएम ल्याइयो ।
२०२४ को को मेमा डीपसिकले भीटू र अन्त्यमा भीथ्री मोडेल लन्च गर्याे । त्यसपछि कम्पनीले आर वन ल्यायो । कम्पनीले यो मोडल बनाउन जम्मा ५६ लाख डलर मात्रै खर्च गरेको खबरले सनसनी मच्चायो । अन्य प्रतिस्पर्धी कम्पनीहरूले यस्तै प्रविधि बनाउन ६ करोड डलर खर्च गरिरहेका थिए । छोटो अवधिमा डीपसिकले पाएको सफलताबाट अमेरिकामा ‘स्पतनिक मुमेन्ट’ सृजना भएको छ । सिलिकन भ्यालीलाई तरंगित बनाएको छ ।
डीपसिकको प्रभावका कारण अमेरिकी चिप निर्माता कम्पनी निभिडियाको शेयर एकै दिनमा १७ प्रतिशतले घटेको थियो । कम्पनीले सोमबार एकै दिनमा ५ खर्ब ८८ अर्ब ८० करोड डलरको बजार मूल्य गुमाएको छ । यो कुनै पनि कम्पनीले एकै दिन गुमाएको अहिलेसम्मकै धेरै पुँजी थियो । यस अघि यो रेकर्ड मेटाको नाममा थियो । करिब तीन वर्ष अघि मेटाले एक दिनमै २ खर्ब ४० करोड डलर गुमाएको थियो । निभिडियाको कमी मेटाको भन्दा झन्डै दोब्बर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविबारे प्रस्तावको विपक्षी दलमा अब्जेक्सन, विपिनबारे अफवाह भाइरल
-
राष्ट्रिय र्याफ्टिङ च्याम्पियनशीपको उपाधि बागमती प्रदेशलाई
-
जनताको अवस्थामा अझै परिवर्तन आएको छैन : अध्यक्ष दाहाल
-
नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक
-
नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा
-
काठमाडौँमा छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु