जे विषयमा संविधान संशोधन भनिएको छ, दुर्घटनाको खतरा त्यसैभित्र छ ः प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् । समाजवादी मोर्चाले मंगलबार काठमाडौँमा गरेको विचार सभामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले देशको राष्ट्रिय स्वाधीनता, सुशासन र सामाजिक न्यायको पक्षमा समाजवादी मोर्चा जागरूक नहुने र अभियानलाई गतिशील नबनाए देश देश दुर्घटनातिर जान सक्ने बताएका हुन् ।
‘संसद्मा रहेका पहिलो र दोस्रो पार्टीले भन्दै आएको र जनतालाई दिने सन्देश विपरीत गठबन्धन भएको छ,’ उनले भने, ‘त्यस कारण दुर्घटनाको खतरा त्यहीँ अन्तर्निहित छ । जे विषयमा संविधान संशोधन भनिएको छ, दुर्घटनाको खतरा त्यसैभित्र छ ।
यस्तो छ प्रचण्डले देखेको खतरा (उनैको शब्दमा)
समाजवादी मोर्चा एउटा रणनीतिक उद्देश्यका साथ, विचारधारात्मक र राजनैतिक उद्देश्यकासाथ नै गठन गरिएको हो । देशको विद्यमान यथार्थमा एउटा नयाँ समाजवादी क्रान्तिकारी विकल्प आवश्यक छ ।
जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि आफ्नो दैनिक जीवनमा जेजस्तो परिवर्तनको अपेक्षा गरेको हो, त्यस्तो भएन । बरु विगतको लामो अनुभवबाट एकथरि पार्टी र मानिसहरू यो संविधानमा भएका सकारात्मक परिवर्तनहरूलाई उल्ट्याउने जमर्को गरी नै राखे, अहिले पनि गरिराखेकै छन् ।
कहिले पटक–पटक संविधान मिचेर प्रतिनिधि सभा विघटन गर्नेका रूपमा त कहिले तथाकथित संविधान संशोधन नाममा देशका मजदुर किसानदेखि उत्पीडित समुदायले पाएका अधिकार खोस्ने जमर्को भइरहेको छ ।
अर्कोतिर हामीहरू जो छौँ, समाजवादी मोर्चावालाले यो संविधानमा भएका उपलब्धिलाई अझ परिमार्जन गर्नुपर्छ पर्याप्त छैन र समाजवादी दिशा दिनुपर्छ भनिरहेका छौँ । संविधानले समाजवादउन्मुख त भन्यो तर हाम्रो सरकार र ठुला भन्ने राजनीतिक दलका गतिविधि त्यसतर्फ उन्मुख छैनन् । बरु उनीहरूका गतिविधि, क्रियाकलाप र अभिव्यक्तिहरू प्रतिगमनतिर उन्मुख छन् । संविधानका सकारात्मक पक्षलाई कमजोर पार्नेतिर नै परिलक्षित छन् । सोही कारण संसद् विघटनका बेलामा पनि हामीले आवाज उठायौँ । सबै मोर्चाबाट सङ्घर्ष गर्यौँ र तात्कालिक दृष्टिकोणले सफल पनि भयौ ।
खासगरी पछिल्लो सरकारमा हामीले सुशासन, भ्रष्टाचार नियन्त्रणको विरोधी अभियान चलायौँ । त्यो कुरा प्रतिगामी र यथास्थितिवादीलाई मनपरेन । अहिले म देशभर गइरहेको छु, हामी इमानदार कम्युनिस्टहरूप्रति आशा र भरोसा जाग्दैछ ।
अहिले सरकारमा गएकाहरू देशमा सकारात्मक काम गर्ने उद्देश्यले होइन, उनीहरू भ्रष्टाचारीको रक्षा गर्ने, संविधानमा भएका प्रगतिशील तत्त्वहरूलाई हटाउने र प्रतिगामी स्वरूप दिने उद्देश्यसहित सरकारमा गएका हुन् । सामाजिक न्याय कायम गर्ने होइन, अन्याय कायम गर्ने उद्देश्यले यो सरकार गठन भएको हो ।
आफैँले भन्ने गरेका संवैधानिक र आफैले प्रतिबद्धता गरेका मान्यता विपरीत यो सरकार गठन भएको छ । त्यसैले वर्तमान सरकार आफैँमा अप्राकृतिक, अलोकतान्त्रिक र गलत उद्देश्यले बनेको भन्न सकिन्छ ।
गएको ६ महिनामा उसले गरेका क्रियाकलापले पनि त्यो कुरालाई देखाएको छ । त्यस कारण समाजवादी मोर्चा देशको राजनीतिक विकल्पका रूपमा अगाडि आउनै पर्ने भएको छ । हामीले जुन रणनीतिक उद्देश्य र समाजवादी विकल्पको कुरा गरेका छौँ, देशको राष्ट्रिय स्वाधीनता, सुशासन र सामाजिक न्यायको कुरा गरेका छौँ, हामीहरू जागरूक नहुने र अभियानलाई गतिशील नबनाउने हो भने देश नराम्रो अवस्थातिर जान सक्छ । देश दुर्घटनातिर जान पनि सक्छ ।
संसद्मा रहेका पहिलो र दोस्रो पार्टीबिच उनीहरूले भन्दै आएको र जनतालाई दिने सन्देश विपरीत गठबन्धन भएको छ । त्यस कारण दुर्घटनाको खतरा त्यहीँ अन्तर्निहित छ । जे विषयमा संविधान संशोधन भनिएको छ, दुर्घटनाको खतरा त्यसैभित्र छ । त्यो संविधान संशोधन यो देशका मजदुर किसान उत्पीडित वर्ग समुदायका विरुद्धमा छ ।
प्रतिगामी चरित्र र प्रवृत्तिका विरुद्ध अग्रगामी र समाजवादी विकल्प दिने शक्तिका रूपमा दीर्घकालीन र सैद्धान्तिक रूपमा यो समाजवादी मोर्चा छलफल गर्दै जाँदा कम्युनिस्ट ध्रुवीकरणको केन्द्र बन्न सक्छ । हामी सबैले यसलाई अन्ततोगत्वा विचार, रणनीति र उद्देश्यमा आधारित केन्द्र बनाउने लक्ष्यसहित हामीले आपसमा छलफल गर्दै जानुपर्छ । तर तत्काल देशमा देखा परेको राजनीतिक सङ्कटको अवस्थालाई मध्यनजर गरेर मोर्चाको विकल्प दिने कोसिस गरी नै राख्नुपर्ने हुन्छ ।
समाजवादी मोर्चा जनतामा एउटा भरोसा, नयाँ आशा जगाउने र विकल्प दिने शक्तिका रूपमा अगाडि आउन सक्छ । अहिले हामी यहाँ चार पार्टी छौँ । अलिकति मेहनत गर्यौ भने हिजो हामीसँग भएका पार्टी जो दुईवटा भएका छन् अहिले, एउटा परिस्थितिमा ती दुईवटै मोर्चामा आउने सम्भावना हुनसक्छ ।
हामीले जति सक्रियता जति जनता र राष्ट्रको पक्षमा बढाउँछौ त्यति नै यो मोर्चाको विस्तार हुने सम्भावना पनि बढ्दै जान्छ भन्ने मेरो विश्वास छ । मोर्चालाई रणनीतिक दृष्टिकोणले एउटै केन्द्र बनाउने कुरामा पनि विमुख हुनुहुँदैन ।
कहिलेकाहीँ पार्टी एकतामा प्रचण्डले नै अरुचि गर्यो कि भन्ने गर्नुभाछ त्यो सत्य होइन । बरु म अलिअलि हतारो गरेर छिटो पार्टी एकता गरौँ भन्ने वाला हुँ । नगरौँ भन्ने वाला होइन, यो कुरा प्रस्ट होस् ।
तैपनि माधवजीले भनेजस्तै विचारमा एउटा सीमासम्म बुझाइको एकरूपता नहुँदै राजनीतिक मुद्दाहरूमा एकरूपता नहुँदै हतारोमा एकता गरियो भने के हुन्छ भन्ने कुराको अनुभव पनि राम्रै प्राप्त भएको छ । त्यो कटु र तितो अनुभव पनि नेकपा गठनमा त हामीले गरेकै हो । पर्याप्त तयारी नहुँदा परिणाम झन् नराम्रो निस्कियो र कम्युनिस्टहरूलाई झन् निराशा बढायो । त्यस कारण समाजवादी मोर्चालाई सुदृढ गर्दै लैजाने र सकेसम्म छिटो विचारमा एकरूपता कायम गदै राजनीतिक मुद्दाहरूमा पनि समझदारी कायम गर्ने, संगठनात्मक मान्यता सिद्धान्तमा पनि कायम गर्ने दिशामा हाम्रो ध्यान गइराख्नुपर्छ ।
हतार र कछुवा गति नभएर सन्तुलनमा डाइलेटिकल ढंगले सोचेर एकता र ध्रुवीकरणको कोसिस जारी राख्नुपर्छ । तर त्यसअघि समाजवादी मोर्चामार्फत देशमा देखा परेको बेतिथिका विरुद्ध, यथास्थितिवाद र प्रतिगमनका विरुद्ध हामीले नेतृत्व लिने पहल ढिलो नगरी अहिले नै सुरु गरिहाल्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिसलाई पराजित गर्दै न्यू डायमण्ड महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश
-
एक साथ यात्रुवाहक विमान र सेनाको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएपछि विमानस्थल बन्द
-
आवासीय चिकित्सकको निर्वाह भत्ता २५ हजार तोकिएकोमा अभियानको आपत्ति
-
प्याब्सन लुम्बिनी प्रदेशको अध्यक्षमा पाण्डे निर्वाचित
-
मोर्चा गठन गर्न सिंहदरबारमा मधेसी दलको बैठक बस्दै
-
उडिरहेको विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना : १८ शव भेटियो