बेलायतका तीन राता मानकहरू !

बेलायतभर देखिने रातो फोन बुथ यहाँको एक चिनारी हो । मोबाइल फोनको सर्वाधिक प्रयोगपछि अब यस्तो 'पे फोन'को खासै आवश्यकता रहेन । अहिले जताततै देखिने यस्ता फोन बुथहरू ब्रिटिस टेलिकम (बिटी) को सम्पत्ति भएको तर प्रयोगमा नरहेको कारण त्यसको हिफाजत वा संरक्षण हुन सकेको छैन ।
त्यसलाई बेलायतको एक आकर्षणका रूपमा कायम राख्न बिटीले स्थानीय रूपमा त्यसको स्वामित्व हस्तान्तरण गर्ने योजना पनि सञ्चालनमा ल्याएको छ । एक पाउण्डमा स्थानीय समूह, काउन्सिल, व्यक्ति तथा संरक्षण संगठनहरूले त्यस्ता बुथहरूको स्वामित्व लिने क्रम जारी छ ।
यसरी लिएपछि यसलाई कतै सानो पुस्तकालय, कसैले आर्ट ग्यालरी, कसैले स्थानीय उत्पादन प्रदर्शन गर्ने गरिएको राखिएको देखिन्छ भने प्रायःले यसलाई स्थानीयहरूको स्वास्थ्य उपचारका लागि अतिआवश्यक प्रमाणित भएको एईडी (अटोमेटेड एक्सटर्नल डेफिब्रिल्याटर) मेसिनका रूपमा राख्ने गरेको देखिन्छ ।
यो रातो टेलिफोन बक्सलाई अधिकारिक रूपमा 'के' सिरिज भनिन्छ । सन् १९२१ मा पहिलो पटक जनरल पोस्ट् अफिसले स्थापना गरेको फोन बुथको आवश्यकता भएको कारण यसको व्यापकता चुलियो । सन् १९२४ यसको रूपमा पनि परिमार्जन भयो । यसको डिजाइन तत्कालीन वरिष्ठ डिजाइनर सर गिल्स गिल्वर्टले गरेका थिए । उनले लिभरपुलको क्याथेडलर तथा व्याटरसिको पावर स्टेसन बनाएर नाम कमाएका थिए । यसको महँगो लागतका कारण प्रायः लन्डन सहरमा मात्र सीमित थियो । तर सन १९३५ मा राजा जर्ज पाँचौको शासनकालको रजत जयन्ती मनाउने क्रममा 'के सिक्स' को निर्माण गरी केही वर्षभित्र देशभरि ६० हजारभन्दा बढी फोन बुथहरू स्थापना भए । यसको प्रयोगका दृष्टिले महत्त्व त हुने नै भयो। सहरदेखि गाउँ सम्म छरिएको यो रातो बुथ बेलायतको एक विशेष चिनारीका रूपमा विकसित भयो ।
सन् १९६० सम्म आइपुग्दा त यो घरमा फोन नहुनेहरूका लागि मुख्य सम्पर्कको साधन बनेको थियो । फोन गर्न आउनेहरूबिच सम्पर्क तथा समाचारहरू आदानप्रदान गर्ने स्थल पनि बन्यो । त्यति मात्र हैन, पानी परेका बेला छाता नहुनेहरूले एकछिन भित्र बसेर वर्षा र हुरीबतास पनि छले ।
सन् १९८० ताका यस्ता फोन बुथहरूबाट वार्षिक करिब २० करोड पटक फोन गरिन्थ्यो । जुन सन् २००० सम्म आइपुग्दा निकै तल झरेर दिनको एक कल नहुने बुथहरू पनि भए । आधुनिकीकरण सँगै यी बुथहरू सिसा र स्टिलका मात्र पनि बन्न थाले । रङमा पनि केही सेतो, हरियो, नीलो, कालो खालका पनि बनेका थिए । त्यतिबेलासम्म करिब ७५ हजार फोन बुथहरू बनेका थिए । प्रयोगमा अति नै कमी भएपछि सन् २००८ मा ब्रिटिस टेलिकमले 'एडप्ट अ कियोस्क' परियोजना ल्यायो । जसअनुसार करिब सात हजार बुथहरू एक पाउण्डमा स्थानीयहरूको स्वामित्वमा गयो । अहिले लगभग २१ हजार बाँकी रहेका छन् । करिब २४०० जति बुथलाई सरकारले पुरातात्त्विक महत्वको स्थानका रूपमा घोषणा गरी संरक्षण गरिरहेको छ ।
बेलायतबाट सुरु भएको रातो फोन बुथ यसको शासन विस्तार तथा विशेष सम्बन्धसँगै अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, अमेरिका, माल्टा,जिब्राल्टर, बर्मुडा, दक्षिण अफ्रिका, फोकल्याण्ड, हङकङ, साइप्रससम्म पनि पुग्यो ।
वर्तमानमा यसको प्रयोग त्यति नभए पनि गीत संगीत, फिल्महरूमा प्रशस्त रूपमा छायांकन गरिएका युगौँसम्म बेलायती इतिहासमा रहनेछन्।
सम्पर्ककै अर्को माध्यम हुलाकको स्थापना र विकासका लागि बेलायत संसारमा प्रसिद्ध मानिन्छ । सन् १२०० तिर सरकार र राजाबिच सम्पर्कआधार पत्र हुने चलन थियो । आवश्यकताअनुसार यस्तो पत्र ओहरदोहर गर्ने मानिस खोजिन्थ्यो । राजा हेनरी पहिलोको पालादेखि भने दरबारको छुट्टै हल्काराहरूको स्थायी व्यवस्था गरियो । उनीहरू पैदल नै पत्र लिएर जाने गर्दथे । एडवार्ड चौथोको पालामा स्कटल्याण्डसँग भएको युद्धमा छिटो छिटो पत्राचार गर्न हुलाकीलाई घोडा दिइन्थ्यो। ठाउँठाउँमा उनीहरूलाई आराम गर्ने स्थानको पनि व्यवस्था मिलाइएको थियो ।
सन् १५१६ मा पहिलो पटक ब्रायन टुकलाइ माष्टर अफ द पोष्ट को पद दिएर राजदरबारको सम्पूर्ण पत्राचारको जिम्मा दिइयो । सन् १६६५ मा राजा चाल्स पहिलोले 'रोयल मेल' को स्थापना गरी सर्वसाधारणहरूका लागि पनि सेवा उपलब्ध गराएका थिए । तर निश्चित स्थानहरूमा मात्र यो सेवा सञ्चालनमा आयो । पछि सन् १६६० मा राजा चार्ल्स दोस्रोको पालामा 'द जेनेरल पोस्ट् अफिस' स्थापना गरी सेवामा व्यापकता ल्याइयो ।
सन् १७८४ मा पहिलो पटक बसबाट पत्र वितरण गर्ने व्यवस्था भयो । सन् १८३० मा लिभरपुल र म्यानचेस्टरमा सञ्चालित रेल्वे सेवाले डाँकको काम शुरु गर्यो । संसारमा नै पहिलो पटक सन् १८४० मा रोल्याण्ड हिलको योजनाअनुसार पत्रमा टिकट टाँस्ने चलन चल्यो । एक सेन्टको भाउ राखिएको उक्त टिकटलाई 'पेनी ब्ल्याक' नामकरण गरिएको थियो । एउटा टिकट राखेपछि देशभर जति टाढा पनि पत्राचार हुने भयो ।
अहिले करिब एक लाख ५० हजार कामदार रहेको पोस्ट् अफिस र रोयल मेललाई सन् २०१३ मा सरकारले निजीकरणको नीति ल्याउनुअघि नै छुट्टाछुट्टै व्यवस्थापनमा गरिएको थियो ।
सन् २००६ सम्म देशमा रोयल मेलको मात्र एकाधिकार बजार थियो । अहिले अन्य थुप्रै साना ठुला कम्पनीहरू यस क्षेत्रमा कार्यरत छन् । पोस्ट् अफिस सरकारको नियन्त्रणमा रहेको छ । यो रोयल मेल पब्लिक लिमिटेड कम्पनीअन्तर्गत सञ्चालित छ । सन् २००० मा सरकारले ल्याएको पोस्टल सर्भिसेस एक्टअनुसार पोस्ट् अफिसले आर्थिक कारोबार तथा सामान्य सेवा प्रदान गर्न थालेको थियो भने रोयल मेलले चिठीपत्र र सामानहरू ओसार्न केन्द्रित रहयो ।
सन् २०१२ मा रोयल मेल पूर्ण रूपमा पोस्ट् अफिसबाट छुट्टियो । सरकारको प्रत्यक्ष रेखदेखमा देशभर झण्डै ११ हजार शाखाहरू कार्यरत थिए । कोभिडपछि प्रायःले अनलाइन सामान मगाउने भएको हुँदा आम्दानी पनि बढेको छ । अहिले बेलायतमा वार्षिक ५ अर्ब पार्सलहरू ओसारपसार हुने गरेको देखिन्छ भने त्यसमध्ये झण्डै आधा व्यावसाय रोयल मेलको छ । अहिले यस कम्पनीको नाम इन्टरनेसनल डिस्ट्रीब्युसन सर्विसेस रहेको र यसको सबभन्दा ठूलो हिस्सा चेक अर्बपति डेनियल क्रेटिन्स्कीको इपी समूहको रहेको छ ।
विशेषतः पत्राचारमा सहजता र सरलता प्रदान गर्न समयसँगै विभिन्न प्रयासहरू भएका छन् । यसमध्ये सबैभन्दा महत्त्वपूर्ण सबैको पहुँचमा पत्रमञ्जुषाको स्थापना गरिनुलाई मानिन्छ । दूरदराजदेखि सहरसम्म यस्ता पत्रमञ्जुषाहरू राख्ने सुरुवात सन् १८५२ बाट भएको थियो । पहिलो पटक जर्सी टापुमा स्थापना गरिएको पत्रमञ्जुषा वातावरणमैत्री रङ भनेर हरियो बनाइएको थियो । त्यसको एक वर्षपछि लन्डन तथा लिभरपुलमा पनि यो प्रयोगमा आयो ।
सन् १८७४ पछि भने टाढाबाट पनि देखियोस् भनेर रातो रङको बनाउने निर्णय गरेअनुसार सन् १८८० सम्म सम्पूर्ण बाकसहरू रातो बनाइयो ।
यसको व्यापकता भएपछि छुट्टै स्थानमा ठूलो बाकस बनाउने गरेकोमा ठाउँ कम खाने र ससाना स्थानमा पनि राख्न मिल्ने गरी भित्ता र बिजुलीको पोलमा समेत राख्न थालियो । प्रत्येक आधा माइलमा एउटा पोस्ट् बक्स राख्नुपर्ने भएकाले हालसम्म देशभर करिब १ लाख १५ हजार पत्रमञ्जुषा रहेका छन् । स्थानीय बासिन्दाहरूको संख्याअनुसार पत्र संकलन गर्ने समय निर्धारण गरिएको हुन्छ । अहिले देशभर पत्र र सामान ओसारपसार गर्न रातो रङकै ठुला साना गरी करिब ५० हजार सवारी साधनहरू प्रयोगमा छन् । वास्तुकाल तथा ऐतिहासिक महत्वको दृष्टिले अहिले २०० भन्दा बढी यस्ता पत्र मञ्जुषाहरूलाई सरकारले विशेष महत्वका साथ पुरातात्त्विक रूपमा संरक्षण गरिएको छ । राता पोस्ट् बक्सहरू बेलायती समाजको प्रतीकको रूपमा देशभर रहेका छन् ।
बेलायत त्यसमा पनि लण्डनका राता बक्सहरू यहाँको सभ्यताको एक अर्को महत्त्वपूर्ण परिचयका रूपमा अहिले पनि गुडिरहेका छन् । अन्य ठुला सहरहरूमा पनि सहर परिक्रमा गर्ने यस्तो खालको सुविधा रहेको छ । बग्गी तथा टाँगाको रूपमा विकसित भएको सवारी साधनको इतिहासको सुरुवात लामो भए पनि सार्वजनिक रूपमा एक ठाउँबाट अर्को ठाउँमा जान भने लन्डनमा सन् १८२९ देखि मात्र सुरु भएको देखिन्छ । त्यति बेलवाको सार्वजनिक यातायात घोडाले तान्ने टाँगा थियो तर यसभन्दा धेरै अगाडि सन् १६६२ मा फ्रान्सको राजधानी पेरिसमा प्रयोगमा ल्याएको थियो ।
त्यति बेलाको समाजको आवश्यकतामा त्यो परेन र केही समयमा नै बन्द भयो । त्यसपछि सन् १८२३ मा फ्रान्सकै नानटेस भन्ने सहरमा स्टानिसलास बाउड्रीले 'बाउड्रिज सर्भिस' भनेर स्थापना गरेको थियो । विस्तारै यसले व्यापकता लियो । बेलायतबाट पेरिस घुम्न गएका जोर्ज सिलिवियरलाई यो सेवा राम्रो लागेर त्यसको सिको गरेर लण्डनको प्याडिङगटनदेखि बैंकसम्म यो सेवा सुरु गरेका थिए । घोडाले तान्ने यो टाँगाको विकसित रूपले भाडाको 'बस' कसरी भयो होला भन्ने तथ्य उजागर हुन्छ ।
घरानिया तथा धनी मानिसहरूले मात्र एक ठाउँबाट अर्को ठाउँ जान यस्तो सेवा प्रयोग गर्दै आएकोमा यसलाई सार्वजनिक सेवामा प्रयोग गर्न यस्को नामकरण 'ओम्नीबस' राखिएको थियो । यो ल्याटिन शब्द 'ओम्निस' बाट आएको थियो, जसको अर्थ 'अल' अर्थात् 'फर एभ्रेवान्' भन्ने बुझिन्छ । यही ओम्नीबसलाई कालान्तरमा बस मात्र भन्न थालियो । २२ जना ओसारपसार गर्न सकिने लण्डनको ओम्नीबसले छोटो समयमा नै व्यापकता पाएको थियो र इन्जिनवाला बस नआएसम्म सार्वजनिक यातायातको मुख्य माध्यम बनेको थियो । यो बसको पेरिस लन्डन अनि युरोपका विभिन्न देशहरू हुँदै अमेरिकासम्म नै पुग्यो ।
सन् १८९९ मा लन्डनमा पहिलो इन्धनवाला बस सञ्चालनमा आयो । साथै बस सञ्चालन गर्ने कम्पनीहरू पनि थपिन थाले । सन् १९०७ मा लन्डन जेनेरल ओम्नीबस कम्पनीले आफ्ना गाडीहरूमा अरूभन्दा पृथक् र सबैले पहिचान गर्न सजिलो होस् भनेर रातो रङ मात्र लगाउन थाल्यो । यसको सेवा र प्रचारप्रसारका कारण सन् १९१२ सम्म आउँदा बजारमा यो कम्पनीको एकाधिकार जस्तै भइसकेको थियो ।
समय सँगै बेलायतको बस सेवामा विभिन्न परिवर्तनहरू आए । सन् १९५४ मा यसलाई 'रुटमास्टर' बस नामकरण गरियो । सन् १९८६ मा सरकाले ट्रान्सपोर्ट ऐक्ट १९८५ पास गरेर देशभर विभिन्न निजी कम्पनीहरूले बस सञ्चालन गर्न सक्ने भए पनि लन्डनमा भने रातो बसहरूकै वर्चस्व रह्यो ।
सन् २००५ पछि आएका नयाँखाले बसहरू पनि रातो रङमा नै चलाउन थालियो । सन् २०१२ मा फेरि 'न्यु रुटमास्टरु नामकरण गरियो । यसलाई 'बोरिस' बस पनि भन्ने गरिन्छ । त्यसबेला लण्डनका मेयर बोरिस भएकोले त्यसो भनिएको थियो । एकतले र दुईतले अपांगमैत्री, ब्याट्री र तेल दुवैबाट चल्ने आधुनिक बसहरू अहिले ट्रान्सपोर्ट फर लण्डनले व्यवस्थापन गर्दैछ ।
इतिहासमा फोन बुथ, पत्र मन्जुषा तथा बसहरू र त्यस्मा लगाइएका रातो रङले एक विशेष स्थान ग्रहण गरेको छ । यी विषयहरूमा थुप्रै जनचासोका विषयहरू बेलायतको इतिहासमा लेखिएका छन् । संसारभर बेलायतका यो तीन राता विशेषताहरूको विशेष स्थान रहेको छ ।
लेखक श्रेष्ठ बेलायतमा बसोबास गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे
-
दिल्लीलाई उछिन्दै गुजरात आईपीएलको शीर्ष स्थानमा
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान