बीमा प्राधिकरणका एक दर्जन आकांक्षीमा कसको सम्भावना कति ?
काठमाडौँ । बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जनले आवेदन दिएसँगै नयाँ अध्यक्ष को बन्छ भन्ने चासो बढेको छ । सरकारले गठन गरेको अध्यक्ष छनोट सिफारिस समितिले आवेदन परेका व्यक्तिहरूको प्रारम्भिक योग्यता निर्धारण गरेर १२ जनाको नाम सार्वजनिक गरेको छ ।
यसमध्ये अब ५ जनाको नाम सर्टलिस्ट हुनेछ । त्यसरी सर्टलिस्ट भएका व्यक्तिहरूलाई अन्तरवार्ता र प्रस्तुतीकरणका लागि बोलाइनेछ । त्यसमध्ये छनोट समितिले तीन जनाको नाम सिफारिस गरेर मन्त्रिपरिषद्मा पठाउने व्यवस्था छ । त्यसरी पठाइएको नाममध्ये एक जनालाई मन्त्रिपरिषद्ले चार वर्षका लागि नयाँ अध्यक्ष नियुक्त गर्नेछ ।
बीमा ऐनले २०७९ ले बीमा प्राधिकरणको अध्यक्षका लागि केही योग्यता पूरा हुनुपर्ने व्यवस्था गरिएको छ । यस अनुसार मान्यताप्राप्त विश्वविद्यालयबाट बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हुनुपर्ने व्यवस्था गरिएको छ । त्यसबाहेक उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयले प्रकाशित गरेको नामावलीले नै यी दुई योग्यता पूरा भएको हुनुपर्छ । यस अनुसार सबै १२ जना उच्च नैतिक चरित्र भएको व्यक्ति मानिन्छन् । तर, के सबैले यो योग्यता पूरा गरेका छन् त ? यहाँ हामी को कति उच्च नैतिक चरित्रवान भनेर व्याख्या गर्दैनौँ । तर, सबैको पृष्ठभूमिबारे खोतल्ने प्रयास गर्नेछौँ ।
१.कमल प्रसाद रेग्मी
कमलप्रसाद रेग्मी बीमा प्राधिकरणका निर्देशक हुन् । कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशक समेत नियुक्ति भइनसकेको अवस्थामा रेग्मी नै कर्मचारीमध्ये प्रथम वरियताका हुन् । कार्यकारी निर्देशक वा उपकार्यकारी निर्देशकमध्ये एकमा बढुवा हुने निश्चित भएको उनले अध्यक्षकै लागि उम्मेदवारी दिएका हुन् ।
२. डा. देवराज रोका
डा. रोका अर्थशास्त्री हुन् । यसअघि उनी साना तथा मझौला व्यवसायी स्वरोजगार कोषको उपाध्यक्ष थिए । उनी एमालेनिकट मानिन्छन् । एमाले सरकारले नै उनलाई पटक पटक राजनीतिक नियुक्ति दिँदै आएको छ ।
३. शरद ओझा
शरद ओझा पत्रकार हुन् । उनले हिमाल खबर, देशसञ्चार, क्लिकमाण्डू लगायत मिडियामा काम गरेका छन् । उनी क्लिकमाण्डूका सिनियर रिपोर्टर र व्यवस्थापक समेत भएको बताइन्छ । उनी अधिवक्तासमेत हुन् ।
४. चिरञ्जीवी चापागाईँ
चापागाईँ बीमा समिति (अहिले बीमा प्राधिकरण) का अध्यक्ष भएका व्यक्ति हुन् । तत्कालिन अवस्थामा नेपाल राष्ट्र बैंकको निर्देशक रहेका उनी सीधै प्राधिकरणको अध्यक्ष नियुक्त भएर आएका थिए । उनको कार्यकालमा १३ बीमा कम्पनीलाई लाइसेन्स प्रदान गरिएको थियो । असफल कोरोना बीमाका कारण उनी आलोचित मानिन्छन् । यसअघि धितोपत्र बोर्डको अध्यक्षमो सर्टलिस्टमा परेपछि उनी अन्तवार्तामा सहभागी भएका थिएनन् ।
५. विष्णुबाबु मिश्र
विष्णुबाबु मिश्र निक्षेप तथा कर्जा सुरक्षण कोषका यसअघिका प्रमुख कार्यकारी अधिकृत हुन् । २०७८ असोजमा उनले अवकाश पाएका थिए ।
६. बुद्धकाजी श्रेष्ठ
बुद्धकाजी श्रेष्ठ युनाइटेड इन्स्योरेन्सका सञ्चालक थिए ।
७. रामशरण पुडासैनी
पुडासैनी नेपाल सरकारका पूर्व सचिव हुन् । अर्थ मन्त्रालयबाट अवकाश पाएलगत्तै उनी कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका थिए ।
८. दामोदर बसौला
बसौला यसअघि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक थिए । मोहन बस्नेत स्वास्थ्यमन्त्री हुँदा निलम्बनको कारबाही भोगेका उनी अदालत गएर पुनर्बहाली भएका थिए । कात्तिक २५ गते उनको कार्यकाल सकिएको थियो ।
९. डिमप्रसाद पौडेल
डिमप्रसाद पौडेल नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक हुन् । २०७९ सालमा तत्कालिन सरकारले उनलाई बर्खास्त गरेको थियो ।
१०. विक्रान्त पाण्डे
विक्रान्त पाण्डे बीमा क्षेत्रकै कर्मचारी हुन् । उनी नेपाल इन्स्योरेन्सका उपमहाप्रबन्धकसम्म भएका थिए ।
११. रमण नेपाल
रमण नेपाल नागरिक लगानी कोषका पूर्व कार्यकारी निर्देशक हुन् । उनी पनि नेपाल राष्ट्र बैंकको निर्देशकबाट अवकाश भई कोषमा नियुक्त भएका थिए ।
१२. विनोदकाजी श्रेष्ठ
विनोदकाजी श्रेष्ठ लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृतसम्म भएका थिए । अहिले उक्त कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी बनेको छ ।
उच्च व्यवस्थापकीय कार्य र उच्च नैतिक चरित्रको मापदण्डमा म्यानिपुलेसन
नामावली सार्वजनिक गरेसँगै १२ जना नै योग्यता पुगेको बुझ्न सकिन्छ । यसको अर्थ उनीहरू सम्बन्धित विषयमा स्नातकोत्तर छन् । उनीहरूसँग पाँच वर्षको उच्च व्यवस्थापकीय कार्यअनुभव पनि छ र उच्च नैतिक चरित्रवान पनि छन् भन्ने बुझिन्छ । यहाँ शैक्षिक योग्यताको सन्दर्भमा कुनै विवाद देखिँदैन । तर, व्यक्तिको उच्च व्यवस्थापकीय कार्यअनुभव र उच्च नैतिक चरित्रका सन्दर्भमा भने विवाद देखिन्छ ।
अहिलेसम्म उच्च व्यवस्थापन भनेर केलाई भन्ने भन्नेबारे यकिन छैन । अर्थ मन्त्रालयमा उच्च व्यवस्थापनका सचिव र सहसचिव स्तरका कर्मचारीलाई समावेश गर्ने गरिएको छ । नेपाल राष्ट्र बैंकको उच्च व्यवस्थापनमा पनि गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशक रहने व्यवस्था छ । बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीमा सीईओ, डिसीईओसहित महाप्रबन्धक तहसम्मलाई उच्च व्यवस्थापन मान्ने प्रचलन देखिन्छ । यो हेर्दा राष्ट्र बैंकका क्याडरदेखि अन्य व्यक्ति समेत यो योग्यता अन्तर्गत पर्ने अवस्था देखिँदैन ।
उच्च नैतिक चरित्रवान भन्ने क्राइरेरिया त झनै अन्यौलपूर्ण देखिन्छ । उच्च व्यवस्थापनमा काम नै नगरेको व्यक्ति, कुनै निकायबाट कारबाही भोगेको व्यक्ति, स्वार्थ बाझिने संस्थामा रहेको एक वर्ष पनि नपुगेको व्यक्ति, कुनै संस्थासँग स्वार्थ जोडिएको व्यक्ति वा अफिस भएका व्यक्ति कसरी उच्च नैतिक चरित्रवान भएको मान्न सकिन्छ भन्ने प्रश्न उब्जिने गरेको छ ।
यी सबैलाई हेर्दा अहिले सर्टलिस्ट गरिएका कयौँ व्यक्ति प्रारम्भिक आधारमै अयोग्य हुनुपर्ने देखिन्छ । तर, छनोट समितिले यो आवेदकलाई रिजेक्ट गरेर मुद्दा मामिला भोग्न वा विवादमा आउन नचाहेकोले सबौलाई प्रारम्भिक योग्यता पूरा भएको मानिदिएको छ । विगतदेखि नै यो अवस्था कायम रहँदा यसले नराम्रो नजिर भने स्थापित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ
-
टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा
-
आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग
-
सामाजिक सञ्जाल सञ्चालन र नियमनसम्बन्धी विधेयकका प्रावधानहरूमाथि रास्वपाको ध्यानाकर्षण
-
मेयर आले बुद्धिचाल च्याम्पियन
-
१० बजे १० समाचार : रविबारे प्रस्तावको विपक्षी दलमा अब्जेक्सन, विपिनबारे अफवाह भाइरल