सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

युनाइटेडमा रासफोर्डको ‘पुनरागमन असम्भव’

मङ्गलबार, १५ माघ २०८१, १२ : ०९
मङ्गलबार, १५ माघ २०८१

ओल्ड ट्राफोर्ड । इंग्ल्याण्डका फरवार्ड मार्कस रासफोर्डको म्यानचेस्टर युनाइटेडमा पुनरागमन कठिन रहेको चेनावती दिइएको छ । म्यानेजर रुबेन एमोरिमले उनको व्यावसायिकता माथि प्रश्न उठाएपछि यस्तो चेतावनी दिइएको हो ।

२७ वर्षीय रासफोर्डले युनाइटेडका लागि गत १२ डिसेम्बरदेखि कुनै पनि खेल खेलेका छैनन् । आइतबार मात्र एमोरिमले ‘हरेक दिन आफ्नो शतप्रतिशत नदिने खेलाडी’ को साटो ६३ वर्षीय गोलकिपिङ प्रशिक्षक जर्ज भिटललाई टोलीमा राख्ने स्पष्ट पारेका थिए ।

युनाइटेडका पूर्वडिफेन्डर रियो फर्डिनान्ड रासफोर्डले युनाइटेड छाड्नुपर्ने बताउँछन् । ‘यदि म त्यो खेलाडी हुन्थे जसको हृदय, स्वाभिवान, आत्मसम्मानको बारेमा म्यानेजरले यस्तो भनेको भए । यो लाजमर्दो कुरा हो,’ फर्डिनान्डले उनको युट्युब च्यानलमा भनेका छन् ।

‘कसैले तपाईँमाथि टोलीका लागि शतप्रतिशत दिनुहुँदैन भन्दै प्रश्न उठाइरहेको छ भने त्यो निकै गम्भीर टिप्पणी हो । अब मार्कसलाई टोलीमा फर्कन गाह्रो छ । यदि उनी फर्किन्छन् भने अन्य खेलाडीले पनि शतप्रतिशत नदिँदा पनि हुने रहेछ भनेर बुझ्नेछन्,’ उनले भने ।

प्रिमियर लिग विजेता क्रिस सटनले पनि रासफोर्डले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने सुझाएका छन् । ‘एमोरिमले भनेको आधारभूत कुरा हो । जे रासफोर्डले गरिरहेका छन्, त्यो स्वीकार्य छैन,’ उनले भने । रासफोर्ड ७ वर्षको उमेरदेखि युनाइटेडमा छन् । उनले क्लबका लागि ४ सयभन्दा बढी खेल्दै युरोपा लिग, दुई एफए कप र दुई ईएफएल कप जितेका छन् । 

गत नोभेम्बरको एरिक टेन हागको स्थानमा युनाइटेडको म्यानेजर बनेपछि एमोरिमले रासफोर्डलाई इपस्वीचविरुद्धको पहिलो खेलमा खेलाएका थिए । उनको गोलको मद्दतले नै टोलीले १–१ को बराबरी खेलेको थियो ।

त्यसको एक हप्तापछि एभर्टनविरुद्ध ४–० को जित हासिल गर्दा रासफोर्डले दुई गोल गरे । तर, १५ डिसेम्बरमा म्यानचेस्टर सिटीलाई २–१ ले हराउँदा उनी टोलीमा परेनन् । त्यसपछि उनले पत्रकारहरूसँग आफू ‘नयाँ चुनौती’ का लागि तयार रहेको बताएका थिए ।

जनवरी ट्रान्सफर विन्डोमा रासफोर्डले क्लब छाड्ने चर्चा छ । युनाइटेडको फर्स्ट टिम कोच रेने म्युलेन्सटिन पनि उनले क्लब छाड्नु नै सबैका लागि राम्रो हुने बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप