‘पलायनको बाटोमा एमाले, माओवादीमा सैद्धान्तिक गतिरोध’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा रहेको सैद्धान्तिक जडता र विसङ्गतिबाट सङ्गठनात्मक निराशा, उकुसमुकुस र पलायनतर्फ उन्मुख भएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेको नेतृत्व र उसैको नेतृत्वको सरकार सार्वजनिक जीवनमा समेत बदनाम हुँदै गएको दाबी गरेका छन् ।
अन्तरपार्टी निर्देशन (अपानि–४) जारी गर्दै अध्यक्ष नेपालले एमाले र त्यसको नेतृत्वमाथि कठोर टिप्पणी गरेका हुन् ।
अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्रप्रति पनि टिप्पणी गरेका छन् । उनले माओवादीमा सैद्धान्तिक गतिरोध जस्ताको तस्तै रहेको जनाएका छन् ।
‘नेकपा (माओवादी केन्द्र) मा सैद्धान्तिक गतिरोध जस्ताको तस्तै छ । आजकै अवस्था रहन दिनु कम्युनिस्ट आन्दोलनका लागि खतरनाक हुन सक्छ’, अध्यक्ष नेपालले भनेका छन्, ‘यस परिस्थितिमा मुलुकको कम्युनिस्ट आन्दोलनले एउटा जिम्मेवार र शक्तिशाली हस्तक्षेपको माग गरिरहेको छ ।’
कम्युनिस्ट आन्दोलनमा रूपान्तरणको कार्यभार सिद्धान्ततः नेपालका सबै इमानदार कम्युनिस्टहरूको कार्यभार भएपनि व्यवहारिक रूपमा यो कार्यभार आफ्नो पार्टीको काँधमा आएको नेपालको दाबी छ ।
एमालेसँग विद्रोह गरेर पार्टी गठन गरेको तीन वर्ष नाघेको भन्दै अध्यक्ष नेपालले यस बिचमा पार्टीले गरेका सबै प्रयत्नहरूको केन्द्रीकृत उद्देश्य नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र क्रान्तिकारी रूपान्तरण गर्नु भएको स्पष्ट पर्ने प्रयास गरेका छन् ।
‘नेपालको राजनीतिमा बढ्दै गएको अनिश्चय र कम्युनिस्ट आन्दोलनमा गहिरिँदै गएको सङ्कटले हाम्रो उद्देश्यको औचित्यलाई झन् बढी पुष्टि गरेको छ’, अध्यक्ष नेपालले भनेका छन्, ‘हामीलाई के थाहा छ भने यो कार्यभार जति महत्त्वपूर्ण छ त्यत्तिकै कष्टसाध्य, चुनौतीपूर्ण, जटिल र दीर्घकालीन छ ।’
वर्तमान सत्ता गठबन्धनलाई अराजनीतिक साँठगाँठको संज्ञा दिएका अध्यक्ष नेपालले आफ्नो विश्लेषण झनपछि झन् पुष्टि हुँदै गएको बताएका छन् ।
‘त्यसको अयोग्यताले आम असन्तुष्टि बढ्ने र सत्ताको नालायकी अझ गम्भीर बन्दै जाने दुष्चक्रमा यो गठबन्धन फस्दै गएको छ’, अध्यक्ष नेपालले त्यसले आफूहरूको पहलकदमीका लागि अनुकूलता थपेको ठहर गरेका छन् ।
वर्तमान गठबन्धन सरकारले जनअपेक्षा अनुरूप कुनै पनि काम गर्न नसकेको भन्दै नेपालले सरकार देश र जनताको हित प्रतिकूल निरङ्कुश ढङ्गले अगाडि बढ्दै गएको बताएका छन् ।
‘संसदलाई छलेर अध्यादेशमार्फत सत्ता सञ्चालन गर्दैछ । यसले भ्रष्टाचार नियन्त्रण गर्ने होइन भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने काम गरेको छ’, नेपालले देशमा महँगी अकासिएको छ तर सरकार मूल्य नियन्त्रण गर्ने होइन व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर दलाल व्यापारीको पक्षमा उभिएको बताएका छन् ।
‘यसले किसानका समस्या समाधान गर्ने होइन भूमाफियाले हदभन्दा बढी जमिन प्लटिङ गरेर बेच्न पाउने प्रावधान राखिएको अध्यादेश ल्याएर जग्गा दलाल र भूमाफियाको हितमा काम गर्दैछ’, नेपालले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित राख्न पनि नसकेको बताएका छन् ।
उनले सरकारका यस किसिमका गतिविधिले गर्दा आम जनतामा राज्य र सरकारप्रति चरम निराशा उत्पन्न भएको भन्दै संसदमा रहेका प्रतिपक्षी दलहरू सरकारका गलत क्रियाकलापका विरुद्ध उभिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय र्याफ्टिङ च्याम्पियनशीपको उपाधि बागमती प्रदेशलाई
-
जनताको अवस्थामा अझै परिवर्तन आएको छैन : अध्यक्ष दाहाल
-
नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक
-
नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा
-
काठमाडौँमा छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु
-
प्रेस मिटमै रोइन् दिव्या