बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय
प्रविधि

अमेरिकी टेक कम्पनीको टाउको दुखाइ बनेको ‘डिपसिक’ के हो ?

एनभिडियाले एकै दिन ६ खर्ब डलर गुमायो
मङ्गलबार, १५ माघ २०८१, ११ : ३०
मङ्गलबार, १५ माघ २०८१

वासिङ्टन डिसी । चिनियाँ कम्पनी डिपसिकले बनाएको आर्टिफिसियल इन्टिलिजेन्स (एआई) च्याटबट एप्पल स्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएको निःशुल्क एप्लिकेसन बनेको छ । यो जनवरी महिनामा मात्र अमेरिकामा रिलिज गरिएको थियो ।

यो डिपसिक एपको अप्रत्याशित लोकप्रियता र अमेरिकामा आधारित एआई कम्पनीहरूको तुलनामा यसको न्यून लागतले आर्थिक बजारलाई नै अस्तव्यस्त बनाएको छ । सिलिकन भ्यालीका भेन्चर क्यापटलिस्ट मार्क एन्ड्रेसनले डिपसिकलाई एआईको दुनियाँमा ‘एक अद्भुत र प्रभावशाली सफलताहरू मध्ये एक’ भनेका छन् ।

41589090-dcd6-11ef-a230-d537aae85753.jpg

कम्पनीले आफ्नो नवीनतम एआई मोडलहरू च्याटजीपीटी जस्ता अमेरिकाको शीर्ष मोडलहरूको बराबर रहेको र यसको लागत उनीहरूको तुलनामा एक चौथाईमात्र रहेको बताएको छ । यस एपका शोधकर्ताहरूले यसलाई निर्माण गर्न करिब ६० लाख अमेरिकी डलर लागेको बताएका छन् जुन अमेरिकाका एआई कम्पनीहरूले खर्च गरेको अर्बौँ डलरभन्दा निकै कम हो ।

  • के हो डिपसिक ?

डिपसिक एक चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी हो । यसको स्थापना चीनको दक्षिणपूर्वी सहर हाङझाउमा गरिएको हो । यो कम्पनी सन् २०२३ को जुलाईमा नै लञ्च गरिएको भए पनि यसको चर्चित एआई एसिस्टेन्ट एप भने अमेरिकामा १० जनवरीमा मात्र रिलिज गरिएको सेन्सर टावरले जनाएको छ ।

यसको संस्थापक लियाङ वेनफेङ हुन् । उनले स्थापना गरेको हेज फन्डबाट यसका लागि स्रोत जुटाएका थिए । 

४० वर्षीय वेनफेङ इन्फरर्मेसन एन्ड इलेक्ट्रोनिक इन्जिनियरिङ ग्राजुएट हुन् । उनले कथित रूपमा एनभिडिया ए१०० चिप्सको स्टोर स्थापना गरेका थिए, जुन अहिले चीनमा आयत गर्न प्रतिबन्धित छ ।

8ccc82bb-df54-47fe-9a09-4f4d007bf087_846bd8f7

विज्ञहरूका अनुसार उनीसँग रहेका करिब ५० हजार यस्ता चिप्सले नै उनलाई डिपसिक स्थापना गर्न प्रेरित गरेको थियो । उनले आफूसँग भएका ती चिप्सहरूलाई आयात गर्न अनुमति भएका अन्य सस्ता चिपहरूसँग मिश्रण गरेका थिए । वेनफेङलाई हालै चिनियाँ प्रधानमन्त्री ली छ्याङ र उद्योगका अन्य विज्ञहरूसँग भेटघाट गरिरहेको देखिएको थियो ।

  • के हो यो एप ?

कम्पनीको एआई एपलाई एप्पलको एप स्टोर र कम्पनीको वेबसाइटबाट डाउनलोडका लागि उपलब्ध छ । निःशुल्क रहेको यो सेवा एप स्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएको एप बनिसकेको छ । यो अमेरिकामा सबैभन्दा धेरै रेटिङ भएको निःशुल्क एप पनि बनेको छ ।

250127-deepseek-mn-0805-ccf366

डिपसिक यसको शक्तिशाली एआई एसिस्टेन्टका लागि लोकप्रिय बनिरहेको छ । यसले च्याटजीपीटी जस्तै काम गर्छ । एप स्टोरमा उपलब्ध यसको विवरणमा यसलाई ‘तपाईँको प्रश्नको उत्तर दिन र तपाईँको जीवनलाई कुशलतापूर्वक बढाउन’ डिजाइन गरिएको बताइएको छ ।

  • कसरी अमेरिकी कम्पनीको टाउको दुखाइ बन्यो ?

डिपसिक कथितरुपमा अमेरिकी प्रतिद्वन्द्वीहरूको तुलनामा करोडौँ डलर कम लागतमा तयार गरिएको छ । यसले एआई क्षेत्रमा अमेरिकाको प्रभुत्वमाथि नै प्रश्न चिन्ह खडा गरेको छ ।

कम्पनीको सम्भावित न्यून लागतले २७ जनवरीमा वित्तीय बजारलाई चकित पारेको थियो । जसले गर्दा स्टक एक्सचेन्ज ‘नास्डाक’ ३ प्रतिशतले घटेको थियो, यसमा चिप निर्माता र विश्वभरका डाटा सेन्टरहरू समावेश छन् ।

एआई सञ्चालन गर्ने शक्तिशाली चिप निर्माण गर्ने अमेरिकामा आधारित कम्पनी एनभिडिया सबैभन्दा धेरै प्रभावित बनेको थियो । सोमबार कम्पनीले ६ खर्ब डलर बजार मूल्य गुमाएको थियो । अमेरिकाको इतिहासमा कुनै पनि कम्पनीले एकै दिन यति धेरै बजार मूल्य गुमाएको यो पहिलो अवसर थियो । यसको सेयर मूल्य पनि सो दिन १७ प्रतिशत भन्दा बढीले घटेको थियो ।

What-is-the-Nasdaq

बजार पुँजीकरणको आधारमा एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी हो । तर, सोमबारपछि यो एप्पल र माइक्रोसफ्टपछि तेस्रो स्थानमा खस्कियो । फोर्ब्सका अनुसार सो दिन कम्पनीको मूल्य ३.५ ट्रिलियन डलरबाट घटेर २.९ ट्रिलियन डलरमा पुगेको थियो ।

डिपसिकले एनभिडियाले बनाएको भन्दा कम उन्नत सेमिकन्डक्टर चिप्स प्रयोग गर्दछ । कम्पनीको सफलताले ठुलो बजेट र उच्च स्तरीय चिप एआईलाई अगाडि बढाउन सक्ने एक मात्र तरिका हो भन्ने विश्वासलाई नै चुनौती दिएको छ । यसले उच्च स्तरीय चिपको आवश्यकता र भविष्यबारेमा ठुलो अनिश्चितता सिर्जना गरेको छ ।

सोमबार मियामीमा रिपलब्लिकन कंग्रेसनल रिट्रीटमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिपसिक अमेरिकी टेक फर्महरूका लागि ‘जागरणको घण्टी’ हुनुपर्ने भनेर चेतावनी दिएका थिए ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप