बुढानीलकण्ठमा विप्लवको ‘सी व्यापार केन्द्र’, घराना व्यापारीलाई देला त धक्का ?

काठमाडौँ । एकीकृत राजनीतिक क्रान्ति र उत्पादनलाई सँगसँगै अगाडि बढाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ । काठमाडौँको बुढानीलकण्ठस्थित तल्लो पासीकोट पिपलाचोकमा सञ्चालनमा ल्याइएको ‘सी व्यापार केन्द्र’ मा नेकपाका नेता–कार्यकर्ताले देशभर उत्पादन गरेका सामाग्री बिक्री गरिन्छ ।
सोमबार नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, नेसपाका सहअध्यक्ष गंगा श्रेष्ठ, नेकपाका अध्यक्ष ऋषि कट्टेलले संयुक्त रूपमा व्यापार केन्द्र उदघाटन गरे ।
बिगमार्ट शैलीमा सञ्चालित केन्द्रमा पहिलो दिन ५३ हजार रुपैयाँको व्यापार भएको पार्टीले जनाएको छ । पार्टीकै लगानीमा खुलेको केन्द्रमा ३० लाखभन्दा बढी लगानी भएको नेकपाका काठमाडौँ जिल्ला सेक्रेटरी चिरञ्जीवी ढकालले जानकारी दिए । सुरुमा २२ किसिमका अर्ग्यानिक सामान राखिए पनि भविष्यमा शतप्रतिशत अर्ग्यानिक सामान राख्ने योजना रहेको उनले बताए ।
देशका ठुला सहरमा पनि व्यापार केन्द्रको शाखा विस्तार गर्ने जिल्ला सेक्रेटरी ढकालको जिकिर छ । अहिले नेकपाको देशभर ७१ वटा उत्पादन युनिट छ । ती सबै युनिटबाट उत्पादनका सामान केन्द्रमा ल्याउने र बिक्री गर्ने योजना रहेको उनले बताए ।
‘देशैभर मुख्य सहरमा व्यापार केन्द्र खुल्दैछन् । उत्पादन बढ्दै गएको छ । उत्पादित सामानलाई घरघर पु¥याउने, शतप्रतिशत अर्ग्यानिक बनाउने योजना छ’, रातोपाटीसँग जिल्ला सेक्रेटरी ढकालले भने । पार्टीलाई आत्मनिर्भर बनाउँदै भोलि राष्ट्रलाई नै आत्मनिर्भर बनाउने अभियान सुरुवात भएको उनले बताए ।
महासचिव विप्लवले नेपालको राजनीतिमा उत्पादन नीतिले नयाँ मानक स्थापित भएको दाबी गरे । उनले विगतको अनुभवबाट पाठ सिकेर वर्ग संघर्ष (एकीकृत क्रान्ति)सँगै उत्पादनमा जोडिएको स्पष्ट पारे । आफूले गरेको उत्पादनले उच्च व्यापारीसँग प्रतिस्पर्धा गर्ने उनको विश्वास छ ।
‘उच्च व्यापारीसँग प्रतिस्पर्धा गर्न सक्छौँ होला । एउटा व्यापारीले सक्छ भने हामी किन सक्दैनौँ ? हामीले चन्दा उठाएर बनाएका होइनौँ । २४ घण्टा राजनीति गर्न जरुरी छैन । तीन घण्टा श्रममा जोडिनोस् भनेर मैले पार्टीका साथीहरूलाई भन्ने गरेको छु’, श्रमनीतिबारे प्रस्ट पार्दै उनले भने, ‘अब झोला बोकेर अगाडि बढ्न सकिँदैन ।’ उनले उत्पादनका लागि कुनै समस्या नरहेको पनि प्रस्ट पारे ।
विप्लवले नेपालमा तत्काल समृद्धि सम्भव नभएको भन्दै पहिला आत्मनिर्भर पार्टी, आन्तनिर्भर जनता र आत्मनिर्भर देश भएपछि मात्र समृद्धि सम्भव हुने बताए । २०७९ मा सम्पन्न पार्टीको नवौँ महाधिवेशनले एकीकृत क्रान्तिसँगै आत्मनिर्भर उत्पादन नीति अघि सारेको थियो । सोही नीति अनुसार नेकपाले देशभर १२० बिघा जमिन लिजमा लिएर कृषि उत्पादन गर्दै आएको छ ।
कृषि उत्पादनमा तोरी, गहुँ, धान, फलफूलका साथै पशुपालन, कपडा, साबुन, सरफ लगायत साना उद्योगमा नेकपाले लगानी गर्दै आएको छ । यही मंसिरको दोस्रो हप्ता सम्पन्न केन्द्रीय समिति बैठकले सबै केन्द्रीय समिति सदस्य, प्रदेश समिति सदस्यसम्मलाई अनिवार्य श्रममा जोडिनुपर्ने निर्णय गरेको छ ।
विप्लव आफैँ पनि राजनीतिक गतिविधि, आन्तरिक बैठकबाहेक प्रत्यक्ष श्रममै जोडिएका छन् । योपटक लगभग २२ बिघामा आलु खेती गरेको नेकपाले उत्पादनको सबै हिस्सा व्यापारी घराना चौधरी ग्रुपको सीजी फुड्सलाई दिने सहमति गरेको छ ।
देशव्यापी उत्पादनका कामलाई व्यवस्थापन गर्न तत्काल विशेष समितिले व्यापार केन्द्रको संयोजन गरिरहेको सेक्रेटरी ढकालले जानकारी दिए । पार्टीकै उत्पादन भएकाले फराकिलो नाफा नराखिएको उनको भनाइ छ । बजार मूल्यको तुलनामा सस्तो, सुलभ र गुणस्तरीय सामान उत्पादन गर्ने उनले बताए ।
‘उत्पादन बढ्दै गएकाले व्यवस्थापनका लागि विशेष समिति बन्छ । उत्पादन शाखा अन्य ठाउँमा छँदैछ । पार्टीको आफ्नै उत्पादन भएकाले फराकिलो नाफा राख्दैनौँ । उत्पादन लागत राख्छौँ । ढुवानी खर्च राख्छौँ,’ ढकालले भने, ‘बजारको मूल्यभन्दा २० प्रतिशत सस्तो हुन आउँछ । बिचौलिया हुँदैनन् । सिधै बारीदेखि भान्सामा पुग्छ । थोरै दिन्छौँ तर गुणस्तरीय दिन्छौँ । बजारमा रहेको एकाधिकार अन्त्य गर्ने सुरुवात हो ।’
ठगेर, झुट बोलेर, राजनीति दाउपेच गरेर खाने संस्कार पनि अन्त्यको सुरुवात भएको नेताहरूको बुझाइ छ ।
- नेताहरूले दिए विप्लवलाई शुभकामनासहित सुझाव
कार्यक्रममा प्रमुख अतिथि बनेर गएका पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले विप्लवलाई निरन्तरताको शुभकामना दिँदै स्वार्थको द्वन्द्व व्यवस्थापनमा ध्यान दिन सचेतसमेत गराए । उत्पादन, मुनाफासँगै स्थार्थ पनि बढ्दै जाने हुँदा त्यसतर्फ सचेत रहने उनको सुझाव छ ।
‘उत्पादनबाट आम्दानी बढ्छ । आम्दानीसँगै स्वार्थ बढ्छ । त्यसले दुर्घटना निम्तिन्छन् । विगतमा कम्युन प्रणालीबाट भएका उत्पादन, त्यसको प्रतिफलबारे अध्ययन गर्नुपर्छ,’ उनले भने ।
माओवादीका उपमहासचिव शर्माले व्यापार केन्द्रलाई निरन्तरता दिन चुनौतीपूर्ण रहेकाले त्यसलाई व्यवस्थापन गरेर अगाडि बढ्न सुझाव दिए । आत्मनिर्भरताको विषयमा विभिन्न मत भन्दै उनले आफ्नो आवश्यकता आफैँले पूर्ति गर्न सकेमात्र आत्मनिर्भर बन्न सक्ने धारणा राखे ।
‘हामीले श्रम, पुँजी, साधन र प्रविधिलाई जोडेर जानुपर्छ । नेकपाले एकीकृत उत्पादन नीति ल्याएको छ । यो चुनौतीपूर्ण थालनी हो । जति चुनौती भए पनि यसलाई निरन्तरता दिन आवश्यक छ’, शर्माले भने, ‘प्रकृतिले हामीलाई दिएका स्रोतहरू साझा हुन् । स्रोतको प्राथमिकता जनताले पाउनुपर्ने हो । मानव सभ्यताको विकाससँगै तिनको स्वतन्त्रता पराधीन हुँदै गएको छ । पुँजीपतिहरूले प्राकृतिक स्रोत साधन कब्जा गरेका छन् । श्रमिकको हातमा छैन । यसलाई तोडेर श्रमिक, मजदुर, किसानको हातमा ल्याउनुपर्छ ।’
नेकपाका अध्यक्ष कट्टेलले सत्ताको चरित्र नबदलिएसम्म आजको मुख्य समस्या समाधान नहुने दाबी गरे । सत्ताको चरित्रका कारण आफूले विगतमा थालेका प्रयास असफल भएको अनुभव सुनाउँदै उनले सत्तामा जानकै लागि उत्पादन नीति विप्लवले ल्याएको भए असफल हुने बताए ।
‘उत्पादनलाई राजनीतिक संघर्षमा जोड्न सक्नुभएन भने नेपाली जनताको मुक्ति हुँदैन । नत्र यथास्थितिवादमा पतन हुने खतरा छ । ६७ प्रतिशत भोट पाएको कम्युनिस्ट नै छ । संसदीय व्यवस्थाबाट कम्युनिस्ट पार्टीले पाउने के हो ? दुई तिहाइ मत पाएको कम्युनिस्ट पार्टीले केही गर्न सकेनन्,’ कट्टेलले भने, ‘विप्लवले पनि मलाई प्रधानमन्त्री बनाइदिनोस्, म काम गर्छु भन्दैछन् । राजनीतिक संघर्षबाट बाहिरिनुभयो भने ठुलो समस्या आउनेछ ।’
यसैगरी नेसपाका सहअध्यक्ष श्रेष्ठले विषरहित अर्ग्यानिक उत्पादनसँगै आम जनतालाई पनि श्रमसंस्कृतिमा जोड्न सुझाव दिए । ‘नेकपाले गरेको उत्पादन अर्ग्यानिक छन् । त्यो पर्याप्त छैन । गर्नुपर्ने राज्यले हो । जनताको उत्पादन पनि जोड्न म सुझाव दिन्छु’, उनले भने ।
नेपालमा श्रम संस्कृति कमजोर भइरहेको र कामचोर बढिरहेको अवस्थामा विप्लवले सुरु गरेको उत्पादन नीति प्रशंसनीय रहेको उनको भनाइ थियो ।
राजनीतिज्ञ, सामाजिक अभियन्ता, अर्थशास्त्री लगायतको सुझावप्रति जवाफ दिँदै विप्लवले पार्टीको एकीकृत स्वामित्व अन्तर्गत उत्पादन हुने हुँदा समस्या नआउने जिकिर गरे । काम गर्दाखेरि नै पार्टीको स्पष्ट नीति, निर्देशिका भएको तथा सञ्चालन गर्न एउटा दृष्टिकोण भएकाले झगडा वा मतभेद नहुने उनको विश्वास थियो ।
अहिले उत्पादन भएको ६० प्रतिशत केन्द्रीय समितिले राख्ने र बाँकी ४० प्रतिशत स्थानीय समितिलाई नेकपाले दिँदै आएको छ । माओवादी जनयुद्धकालमा रोल्पा, रुकुम, महोत्तरी लगायत जिल्लामा जनकम्युन सफलतापूर्वक सञ्चालन भएको थियो । तर शान्ति प्रक्रियामा आएसँगै महोत्तरीको आधारशीला जनकम्युन बाहेक सबै बन्द भएका छन् । देशको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारदेखि वडा कार्यालयसम्म बिचौलियाको बिगबिगी रहेको, देशको प्राकृतिक स्रोत र साधन सीमित व्यापारी घरानाको कब्जामा रहेको, मानव स्वास्थ्यमा प्रतिकूल हुने गरी हरेक खानेकुरा विषादीयुक्त भएको अवस्थामा नेकपाले सुरु गर्न लागेको उत्पादन नीति समाजवादी अर्थतन्त्र स्थापनाका लागि एउटा उदाहरण हुने अपेक्षा गरिएको छ ।
विप्लवले थालेको एकीकृत उत्पादन नीति पनि सत्तासँगै समाप्त हुन्छ कि विप्लवले भनेजस्तै समाजवादी उत्पादनको बाटोमा अगाडि बढ्छ, त्यो हेर्न बाँकी नै छ । यद्यपि नेकपाको उत्पादन नीतिले अन्य राजनीतिक दलहरूलाई पनि उत्पादनमा जोडिन दबाब सिर्जना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना, ८ जना घाइते
-
पर्साको बालसुधार गृहमा होली मनाइयो
-
उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा
-
होलीमा अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट ५० जना पक्राउ
-
विद्याको सक्रियता बढ्दै, लुम्बिनी, मधेस र सुदूरपश्चिम यात्राको तयारी
-
परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने