सप्तरीको डाक्नेश्वरी मन्दिर : एक लुकेको सम्पदा
सप्तरीको डाक्नेश्वरी नगरपालिका– ५ को बलिराजपुर गाउँमा अवस्थित डाक्नेश्वरी मन्दिर स्थानीय भक्तजनका लागि आस्था र आराधनाको केन्द्रको रूपमा रहेको छ । यस पालिकाको नाम नै डाक्नेश्वरी भगवती माताकै नाममा रहेको हो ।
डाकिनी अर्थात् डाक्नेश्वरी देवी भगवतीकै एक स्वरूप हो, जो महादेवी कालीका गणहरूको एक सदस्य मानिन्छिन् । डाकिनीलाई स्थानीय भाषामा डाक्नेश्वरी भगवती भनिएको हो ।
यस मन्दिरमा नित्य पूजा–अर्चना हुन्छ नै, खासगरी आश्विन र चैत्र मासको शुक्ल नवरात्रिमा यहाँ हजारौँ भक्तजन पूजा र दर्शनका लागि आउँछन् । शिवरात्रि, हनुमान जयन्ती, कृष्णाष्टमी आदि अवसरमा पनि यस मन्दिरमा विशेष कार्यक्रम आयोजना गरिन्छ । आश्विन र चैत्र मासको शुक्ल नवरात्रि र कृष्णाष्टमीका अवसरमा मेलाको आयोजना समेत गरिन्छ ।
तन्त्र र बौद्ध धर्ममा प्रमुख देवी मानिन्छिन् डाकिनी देवी । उनी ज्ञान, शक्ति तथा तान्त्रिक साधनाकी प्रतीक हुन् । डाकिनीलाई एक शक्तिशाली र रहस्यमयी देवीका रूपमा चित्रित गरिन्छ, जसको स्वरूप भिन्न–भिन्न साधनामा फरक–फरक देखिन्छ ।
यो मन्दिरको स्थापना कहिले भयो भन्ने यकिन जानकारी पाउन सकिएको छैन तर यसलाई प्राचीन शक्तिपीठहरूमध्येको एक मानिन्छ । धार्मिक मान्यता अनुसार यहाँ शक्तिपीठका रूपमा देवीको विशेष पूजा हुन्छ । यस मन्दिरसँगै डिहबार थान पनि छ । यस दिव्यस्थलको समय–समयमा स्थानीय अधिपतिहरू र गाउँलेले संरक्षण र पुनर्निर्माण गर्दै आएका थिए । विद्यमान देवी मन्दिर स्थानीय जमिनदार एवं पूर्वमन्त्री चन्द्रकान्त चौधरीले निर्माण गराएका हुन् ।
मन्दिरमा डाक्नेश्वरी देवीको विशाल र विशिष्ट प्रतिमा छ । देवीको स्वरूप दुर्गा भवानीकै शैलीको भए पनि देवीको सवारी हात्तीमाथि रहेको छ । सूर्यको वाहन सातवटा घोडा भएझैँ देवी डाक्नेश्वरीको वाहन सातवटा हात्ती हुन् । अर्थात् जसको वाहनकै बल सातवटा हात्तीको जस्तो छ भने त्यस देवीको शक्ति कस्तो होला भनेर मानिसहरू अचम्भित हुन्छन् ।
यस मन्दिरमा नित्य पूजा–अर्चना हुन्छ नै, खासगरी आश्विन र चैत्र मासको शुक्ल नवरात्रिमा यहाँ हजारौँ भक्तजन पूजा र दर्शनका लागि आउँछन् । शिवरात्रि, हनुमान जयन्ती, कृष्णाष्टमी आदि अवसरमा पनि यस मन्दिरमा विशेष कार्यक्रम आयोजना गरिन्छ ।
यहाँको प्राचीन पीठमा माटोको थुम्कोका रूपमा देवीपूजन हुने गरेको थियो । २०४४ सालमा तत्कालीन प्रधानपञ्च रहेका चन्द्रकान्त चौधरीले त्यस थुम्कोको केहीअगाडि स्थानमा मन्दिर निर्माण गरी देवीको प्रतिमा स्थापना गरी प्राण प्रतिष्ठित गरेपछि पूजापाठ नयाँ विधिले हुन थाल्यो । यद्यपि पुरानो पीठमा पनि पारम्परिक रूपमा पूजाआजा भने हुँदै आएकै छ ।
नयाँ मन्दिरमा देवीको प्रतिमा प्रतिष्ठापन गर्न निकै परिश्रम गर्नुपरेको मन्दिर निर्माता चन्द्रकान्त चौधरी बताउनुहुन्छ । उनका अनुसार, निकै खोजी गरेपछि अन्ततः ‘कल्याण’ पत्रिका (गीता प्रेसको एक नियमित प्रकाशन)को ‘देवी विशेषांक’मा डाक्नेश्वरी देवीको स्वरूपको विशिष्ट जानकारी प्राप्त भयो । सोही अनुसार समस्तीपुर भारतका एक कलाकारले डाक्नेश्वरी देवीको प्रतिमा निर्माण गरेको उनको भनाइ छ ।
मन्दिरको संरचना सरल भए पनि यसको धार्मिक महत्त्व अत्यन्त ठुलो छ । १४ कट्ठामा रहेको यस मन्दिरको बृहत् परिसरमा डाक्नेश्वरी देवीका साथै विभिन्न देवीदेवताका थान, गहबर र मन्दिरहरू निर्माण गरिएका छन् । डाक्नेश्वरी देवीको मन्दिर भने प्रमुख रूपमा छ । देवी मन्दिरको सम्मुखमा शिव मठ (मन्दिर) निर्माण गरिएको छ । शिव मठको द्वारमा नन्दी विराजमान छन् । शिव मठको सामुन्ने पूर्वी भागमा हनुमान मन्दिर छ । हनुमान मन्दिरको छेउमा दुईवटा मन्दिर निर्माणाधीन अवस्थामा छन् । यसैको बिचमा सन्तोषी माताको मन्दिर स्थापित छ । यिनीहरूको दायाँपट्टि एउटा विशाल र अत्यन्तै बुढो पिपल र कापैरको सग्लो वृक्ष छ । यस वृक्षमुनि डिहबार बाबाको वास छ ।
डिहबारमा पाँचवटा थुम्का राखिएको छन् । यसमा पञ्चदेवताको अवधारणा अन्तर्निहित छ भन्न सकिन्छ । उत्तरी दिशामा देवी दुर्गाको गहबर छ । दसैँका अवसरमा देवी दुर्गाको प्रतिमा निर्माण गरी नौ दिनसम्म नवदुर्गाको पूजा–आराधना गरी विसर्जन गर्ने शाक्त परम्परा अनुसारकै यो गहबर भए पनि यसमा देवी दुर्गा लगायत देवी–देवताको मूर्ति भने प्रस्तरकै स्थायी रूपमा स्थापित गरिएको छ ।
देवी डाक्नेश्वरीको मन्दिरको पृष्ठ भागमा बलि दिने ठाउँ छ । देवी डाक्नेश्वरीको पुरानो मन्दिर यहीँ थियो । चार दशकअघि अग्रभागमा नयाँ मन्दिर निर्माण गरिएको हो ।
डाकिनीको स्वरूप उग्र र तेजिलो हुन्छ । आभूषणले सजिएको र आकाशीय रूपमा प्रायः उनलाई चित्रित गरिन्छ । उनीलाई आकाशमा नाच्दै गरेको रूपमा देखाइन्छ, जसले उनी आकाशीय चाल र ऊर्जा नियन्त्रण गर्छिन् भन्ने जनाउँछ । डाकिनीले साधारणतया हातमा खड्ग (तलबार) र कपालकुण्डल (खप्पर) धारण गरेकी हुन्छिन् । खड्गले अज्ञानता र अवरोधहरू नष्ट गर्ने शक्ति जनाउँछ भने खप्परले ज्ञान र ध्यानको अमृत बुझाउँछ ।
डाकिनीलाई प्रायः रातो, निलो वा कालो रंगमा चित्रित गरिन्छिन् । रातो रंगले शक्ति र ऊर्जा जनाउँछ । निलोले शान्ति र आकाशलाई बुझाउँछ । कालोले गम्भीरता र तान्त्रिक शक्ति जनाउँछ । उनलाई उग्र र करुणामयी दुवै रूपले पूजा गरिन्छ । उग्र रूपमा उनी अज्ञानता र असत्यको विनाश गरिरहेकी देखिन्छिन् । करुणामयी रूपमा उनले साधकलाई ज्ञान प्रदान गर्छिन् । डाकिनी देवीलाई साधारणतया महाकाली, तारा वा विभिन्न तान्त्रिक स्वरूपहरूसँग पनि जोडिने गरिन्छ । तान्त्रिक साधनामा डाकिनीको पूजाले साधकलाई उच्च आध्यात्मिक स्तरमा पुर्याउने मानिन्छ ।
धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले नेपालको महत्त्वपूर्ण स्थानहरूमध्ये एक मानिन्छ डाक्नेश्वरी मन्दिरलाई, जो सप्तरी जिल्लाकै चर्चित मन्दिरहरूमा पर्छ । जिल्लाकै दुर्गम मानिने दक्षिण–पश्चिम भेगमा अवस्थित मन्दिर भएको हुनाले यसको पर्याप्त प्रचार–प्रसार हुन पाएको छैन । यस मन्दिरलाई सप्तरीको लुकेको सम्पदा मान्न सकिन्छ ।
हुलाकी राजमार्ग तथा पूर्व–पश्चिम राजमार्गबाट सजिलै यहाँ पुग्न सकिन्छ । राजविराजबाट १६ किलोमिटर पश्चिम–दक्षिण तथा पूर्व–पश्चिम राजमार्गको कठौना बजारबाट १४ किलोमिटर दक्षिणमा यहाँ पुगिन्छ । हिजोआज यहाँका सडकहरुमा साना सवारीसाधन प्रायः चलिरहेका हुन्छन् ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्ससम्म पुग्छ धूपी, पाती र मेन्थाको तेल
-
ह्वाइट हाउसद्वारा अमेरिकी अनुदान र ऋणमाथि रोक लगाउने ट्रम्प प्रशासनको आदेश रद्द
-
१२ बजे, १२ समाचार : अछाममा दुई किशोरीको हत्या भएको प्रहरी निष्कर्षदेखि भ्रष्टाचारमा दोषी ठहर प्रतिवादीले थुना बाहिरै रहेर सर्वोच्चमा मुद्दा लड्न पाउने फैसलासम्म
-
दुई किशोरी मृत्यु प्रकरण : हत्या भएको निष्कर्ष
-
समाजवादी युवा मोर्चाले माघ १८ गते गर्ने
-
१० बजे १० समाचार : केपी पथमा माधव, आवासीय चिकित्सकमाथि श्रम शोषण