युवा पुस्ता विदेशमा, बुबा–आमा फाँटमा
भक्तपुर– नजिकै फोहोर मिसिएको कालो लेदो पानी लिएर हुनमान्ते नदी बगिरहेको छ ।
जेठ महिनाको मध्य घाममा मानिसहरु शीतल खोज्दै छहारीतिर लाग्छन् ।
तर, एक हुल किसान भने पसिना पुछदैं हरियो सागबारी वरपर काम गरिरहेका देखिन्छन् ।
त्यहि हुलमा छन् –एक दम्पत्ति किसान । मध्यपुर थिमि नगरपालिका वडा नम्बर ५ का ५४ वर्षिय राजकुमार श्रेष्ठ र उनकी ५२ वर्षीय श्रीमती अष्टलक्ष्मी श्रेष्ठ धमाधम धानको बिउ राख्न ब्याड तयार गर्दैछन् ।
अलि पर अर्का किसान ६० वर्षे चन्द्रकृष्ण र हरलक्ष्मी (५५)रायोको बाँकी रहेको डाँठ उखेलेर बसेका छन् । अनि छेवैमा ब्याड राख्न खेत खन्दै भक्तपुर नगरपालिका वडा नम्बर ४ मंगलाछेकी ५० वर्षकी कृष्णेश्वरी कर्माचार्य ।
नेपालका युवा पुस्ताले कृषि पेशालाई अंगालेर देश र आफूलाई आत्मनिर्भरको बाटोमा लानुको साटो वैदेशिक रोजगारी रोज्ने गरेका छन् ।
रातोपाटी प्रनिनिधि, भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित हनुमान्ते नदी किनारामा रहेको यी किसानका खेतमा पुग्दा दिनको मध्य १२ बजिरहेको थियो ।
संगसगै खेत रहेका राजकुमार र चन्द्रकृष्ण असारमा रोपाई गर्न धानको बिउ राख्ने तयारीमा जुटिरहेका थिए । खन्ने र ब्याड सम्माउने काम धमाधम भइरहेको थियो ।
‘पानी प¥यो भने आज काम नै हुदैंन, त्यसैले चर्को घाम सहेरै काम गर्नुको विकल्प छैन’ राजकुमारले भने ।
२ छोरी र १ छोराका अभिभावक समेत रहेका अष्टलक्ष्मी र राजकुमार दम्पत्तिले कृषि पेशा अंगालेको दशकौं भयो ।
‘थाहा पाउँदा म १० वर्ष जतिको थिए, अहिलेसम्म यहि माटोमा हातगोडा खियाइँरहेको छु, कति भो आफैं हिसाब गर्नुहोस्’ राजकुमारले भने । उनको यो भनाईलाई आधार मान्ने हो भने करीब चार दशक उनले निरन्तर कृषि पेशामा जिवन बिताइसकेका छन् ।
खेती किसानी पेशालाई उनका छोराबुहारीले पनि साथ दिएको उनको भनाई छ । उनी कुरा गर्दै कोदाली चलाइरहेका थिए ।
श्रीमती अष्टलक्ष्मी नजिकै रहेको सानो रुखको छहारीतिर लागिन् ।
हिउँदको समयमा तरकारी रोप्ने र असार लागेपछि धान खेती गर्ने किसानको भनाई छ । तरकारी खेती लगाउँदा करिब दुई महिनादेखि नै आम्दानी हुन्छ । अन्न बाली लगाउँदा तीन महिना भन्दा धेरै समय कुर्नुपर्ने चन्द्रकष्णले बताए ।
यहाँका किसानले बिशेषगरी रायो, तोरी, चम्सुर, पालुंगो, धनिँया, लसुन, गाजँर, फर्सी जस्ता तरकारी रोप्ने गरेका छन् ।
उत्पादन जति भएपनि बजारको समस्या छैन । कहिलेकाहीँ आफैँले बजार बिक्रि गर्ने गरेपनि धेरैजसो ठेकेदारलाई दिने गरेको चन्द्रकष्ण बताउँछन् ।
‘हामी एक मुठाको ५ रुपैयाँमा बेच्छौ, तर तेही साग व्यापारीसंग उपभोग गर्ने मानिसले १५ देखि २० रुपैयाँ किन्नु पर्ने बाध्यता छ, यसको अन्त्य हुन जरुरी पर्दछ,’ चन्द्रकृष्णले भने ।
उनी भन्छन् ‘काम गर्ने समयमा मानिस कोही हुदैन कहिले काही त पहाड र मधेसका मानिस फाइन्छ तर हाम्रो माटोमा कोदाली चलाउनै सक्दैनन् के गर्नु, यताको कालोमाटो कसिलो हुन्छ, ।’
सबै सुख खोज्दै शहर शहर त भरियो तर मानिसको रहर भरिएन, त्यसैले बिदेश गए, काम गर्ने मानिस नै छैनन् । ‘एक्लै गरेर कहिले सक्नु र खेतीको काम ?’ धेरै किसानहरुको गुनासो छ ।
भक्तपुरका धेरैजसो किसानले खेतको नजिकै सानो छाप्रो बनाएका छन् । उनीहरु घाम र पानीबाट जोगिन त्यो छाप्रो प्रयोग गर्दछन् । तर आज सबै जना खेतमा नै व्यस्त थिए । त्यसैले छाप्रो खाली थियो ।
समस्या यस्ता छन्
भक्तपुरमा तरकारी वा अन्य खेती गर्न चाहाने किसानको मुख्य समस्या जग्गा रहेको छ । भक्तपुर, मध्यपुर र सूर्यविनायक नगरपालिकामा खेती योग्य जमिन घर निर्माण भइसकेका छन् ।
तीन नगरपालिकाको तुलनामा चाँगुनारायण नगरपालिकामा भने केही भूभाग बाँकी रहेपनि हाल मनलाग्दो जग्गा खण्डिकरण बढेको छ ।
कतिपय स्थानमा सिचाईको सुविधा नै छैन् । जसबाट धानखेती गर्न आकाशे पानीको भर पर्नु पर्दछ । खोलाबाट पानी तानेर रोपाई गर्नु परेमा किसानको लागत बढ्न जान्छ ।
आवश्यक जनशिक्त नपाउनु, मल, बिउ विजन समयमा उपलब्ध नहुनु किसानका मुख्य समस्या हुन् ।
बिचौलियाको चलखेलले गर्दा किसानले उत्पादन गरेका कृषि उपजले उचित मुल्य पाउनु नसक्नु लगायतका धेरै समस्या छन् ।
राज्यले किसान र कृषिमुखी बजेट बनाउने गरेको दावी गरेपनि त्यसको सहि कार्यान्वय हुन सकिरहेको छैन् जसले बास्तविक किसानले राहतको अनुभव गर्न सकिरहेका छैनन् ।