नेपाली सेनाले बनाइरहेका यी पाँच आयोजनाको के छ प्रगति ?

काठमाडौँ। काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक), कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक, उत्तर–दक्षिण कोशी सडक खाँदबारी किमाथांका सडक र दार्चुला–टिंकर सडकखण्ड, यी हुन् नेपाली सेनाले बनाइरहेका अर्थात् जिम्मा पाएको पाँच रणनीतिक आयोजना।
तर यी पाँचै आयोजनाको निर्माण कहाँ पुग्यो ? कस्तो छ अवस्था ? निर्माण सम्पन्नपछि कहिले होला हस्तान्तरण ? यस्ता प्रश्नहरू अहिले आम चासो बन्दै गइरहेको छ।
यी आयोजनाहरू वार्षिक लक्ष्यअनुसार नै निर्माण भइरहेका बताउँछन् नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसी। ‘वार्षिक लक्ष्यअनुसार नै निर्माण भइरहेको छ। कुनै–कुनै आयोजना निर्माणमा आर्थिक भौतिक समस्याहरू आएका छन्,’ केसी भन्छन्, ‘तर तिनलाई समाधान राज्यका विभिन्न निकायहरूले गर्ने भएकाले निर्माणमा ढिलाइ भइरहेको छ। हामीले त निर्माण व्यवस्थापनको जिम्मा लिने न हो।’
काठमाडौँलाई मधेससँग जोड्ने द्रुतमार्ग सात वर्षमा साढे ३७ प्रतिशत प्रगति
सेनाले निर्माण सञ्चालन गरेका पाँच सडक आयोजनामध्ये प्रमुख अर्थात् राष्ट्रिय गौरवका आयोजना हो, काठमाडौँ–तराई/मधेस द्रुतमार्ग। यो निर्माण थालिएको ७ वर्ष पुगिसक्यो। तर सात वर्षमा यसको प्रगति भनेको जम्मा साढे ३७ प्रतिशत कार्य सम्पन्न हुनु हो।
यस आयोजनाको २०८१ पुस मसान्तसम्म समष्टिगत भौतिक प्रगति ३७.६० र समष्टिगत वित्तीय प्रगति ३९.५६ प्रतिशत (मोबिलाइजेसनसहित) रहेको सेनाले जनाएको छ। यसको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड रहेकोमा हाल ७२ अर्ब ४१ करोड रुपैयाँ खर्च भइसकेको अवस्था छ।
सरकारले २०७४ साल वैशाख २१ गते चार वर्षमा सकिनेगरी यो आयोजना सेनालाई जिम्मा दिएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत २०७४ साल साउन २७ गते यो आयोजना औपचारिक रूपमा सेनालाई निर्माणको जिम्मा लगाइएको थियो।
सानो खोकनाबाट निस्कने बागमती नदी करिडोरबाट छैमले–गौसेल–माल्टा–बुडुने–छतिवन हुँदै यो सडक निजगढ पुगेपछि पूर्वपश्चिम राजमार्गमा जोडिनेछ। यसले काठमाडौँदेखि निजगढसम्मको दूरी १९३ किलोमिटरले घटाउँछ र यात्राको समय चार घण्टाभन्दा बढी बचत गर्ने अपेक्षा गरिएको छ।
यो सडक परियोजना (केटीएफटी) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सुसुङ इन्जिनियरिङ कम्पनी लिमिटेड दक्षिण कोरियाले तयार पारेको थियो भने सरकारले २०७६ भदौ १ गते स्वीकृत गरेको थियो।
चार वर्षमा सकिनेगरी यो आयोजना सेनालाई जिम्मा दिइए पनि उक्त अवधिमा नसकिने देखिएपछि २०७७ सालमा २०८० सम्मका लागि म्याद थप गरिएको थियो। तर पहिलो पटक म्याद थपिएको अवधिमा पनि निर्माण हुन नसकेपछि पुनः दोस्रो पटक २०८३ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थपिएको छ।
सानो खोकनाबाट निस्कने बागमती नदी करिडोरबाट छैमले–गौसेल–माल्टा–बुडुने–छतिवन हुँदै यो सडक निजगढ पुगेपछि पूर्वपश्चिम राजमार्गमा जोडिनेछ। यसले काठमाडौँदेखि निजगढसम्मको दूरी १९३ किलोमिटरले घटाउँछ र यात्राको समय चार घण्टाभन्दा बढी बचत गर्ने अपेक्षा गरिएको छ।
सेनाका अनुसार आयोजनाको समष्टिगत कार्ययोजनाअन्तर्गत १३ वटा निर्माण प्याकेजहरू रहेका छन्। तीमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८'क', ८'ख', ९'क', ९'ख' र १० निर्माणाधीन तथा कार्यान्वयनका चरणमा छन्।
यीबाहेक प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–बुङ्गमती खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या छ। साथै द्रुतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय गर्न बाँकी नै रहेकाले खरिद प्रक्रिया हुन पनि बाँकी छ।
आयोजनका लागि कुल अधिग्रहण आवश्यक जग्गा करिब १७ हजार ६ सय ५१ रोपनी हो। जसमध्ये १२ हजार १ सय ६४ रोपनी सार्वजनिकअन्तर्गत पर्दछ भने ५ हजार ४ सय ८७ रोपनी व्यक्तिगत जग्गा छ।
हालसम्म ५ हजार २ सय ४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएकोमा ४ हजार ८ सय १८ रोपनी अधिग्रहण सम्पन्न भइसकेको र ३ सय ८८ रोपनी अधिग्रहण बाँकी रहेको अवस्था छ। अधिग्रहण बाँकी उक्त जग्गामध्ये खोकना–बुङ्मती खण्डको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी २ सय ३ रोपनी जग्गा छ।
यसैगरी मूल्य निर्धारण हुन बाँकी १ सय ६५ रोपनीसहित करिब ३ सय ६८ रोपनी तथा मकवानपुर जिल्लामा १६ रोपनी र काठमाडौँमा ४ रोपनी जग्गा अधिग्रहण नै हुन बाँकी छ।
अधिग्रहण हुन बाँकीमध्ये २ सय ३ रोपनी खोकना–बुङ्मती खण्डको मुआब्जा वितरणमा स्थानीयसँग विवाद हुँदा काम अघि बढ्न नसकेको सेनाका प्रवक्ता केसी बताउँछन्।
‘त्यहाँ ऐतिहासिक, धार्मिकस्थल भएकाले आयोजना निर्माण गर्न नहुने स्थानीयले माग गरेका छन्,’ प्रवक्ता केसी भन्छन्, ‘त्यहाँको समस्या समाधानका लागि समिति बनेको छ। विवाद मिलाउने काम अघि बढिरहेको छ।’
फास्ट ट्र्याक आयोजनाअन्तर्गत जम्मा सात वटा सुरुङमार्गको कुल लम्बाइ १०.९७९ किलोमिटर छ। जसमध्ये धेद्रे सुरुङ, लेनडाँडा सुरुङका टनेलको ब्रेक थ्रु भइसकेको छ। धेद्रे सुरुङको कुल लम्बाइ १ हजार ६ सय ९१ मिटर हो, जसको दायाँ टनेलको लम्बाइ १ हजार ६ सय ५३ मिटर र बायाँ टनेल १ हजार २ सय २८ मिटर छिचोलिएको छ।
यसैगरी लेन डाँडा सुरुङको कुल लम्बाइ १ हजार ६ सय २३ मिटर छ। जसको दायाँ टनेल १ हजार ६ सय १२ मिटर र बायाँ टनेल १ हजार ६ सय ३३ मिटर छिचोलिएको छ। महादेवटार सुरुङको कुल लम्बाइ ३ हजार ३ सय ५५ मिटर हो, जसको दायाँ टनेल ३ हजार ३ सय २२ मिटर रहेकोमा २ हजार २९ मिटर अर्थात् ६१ प्रतिशत र बायाँ टनेल ३ हजार ३ सय ८६ मिटरमध्ये २ हजार २ सय ८८ मिटर अर्थात् ६८ प्रतिशत खन्ने काम सम्पन्न भएको छ। चन्द्राम भीर सुरुङ २ हजार २ सय ५० मिटरमध्ये १८.७५ मिटर खन्ने कार्य सम्पन्न भएको छ।
यस्तै देवीचौर सुरुङ एक किलोमिटर, सिसौँटार सुरुङ ३ सय ९० मिटर खरिद सम्झौता सम्पन्न भई डिजाइनको क्रममा छ। मौरीभीर सुरुङ ५ सय ८३ मिटर छ। उक्त सुरुङ खरिद सम्झौता सम्पन्न भई डिजाइनको क्रममा रहेको र २०८१ कार्तिक २५ गते मन्त्रिपरिषद्को निर्णयबमोजिम स्वीकृत भइसकेको सेनाले जनाएको छ।
यस आयोजनाअन्तर्गत पर्ने ८९ स्थानमा रहेका पुलमध्ये ८५ स्थानका पुलहरू निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएका छन्। हालसम्म मकवानपुरको राजदमार इलाकामा ५ वटा पुलहरूको निर्माण सम्पन्न भएका छन्। अन्य स्थानमा ८१ मिटरसम्म उचाइ रहेका विभिन्न प्रकृतिका पुलहरूका फाउन्डेसन तथा सबस्ट्रक्चर तथा सुपर स्ट्रकचर निर्माण सम्पन्न भएको छ। साथै ३६ हजार १७९ वटा विभिन्न प्रजातिका रूखहरू कटान र ७ लाख ५ हजार ५ सय २२ वटा बिरुवा रोप्ने कार्य पनि सम्पन्न भइसकेका छन्।
कर्णाली करिडोरः १.०४ किलोमिटर ट्र्याक खन्न ६ महिना
राष्ट्रिय गौरवको अर्को आयोजनामा पर्ने कर्णाली करिडोरको लालीबगर–दुल्लीकुन्ना,घाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्ड सडक आयोजना निर्माणको जिम्मा पनि नेपाली सेनाकै काँधमा छ।
कुल लम्बाइ २२.०५ किलोमिटर रहेको यो खण्ड निर्माणका लागि सरकारले सेनालाई २०७८ सालमा निर्माणको जिम्मा दिएको थियो।
यो खण्ड निर्माण सुरु भएको तीन वर्षमा मात्र साढे १४ किलोमिटर नयाँ ट्र्याक खन्ने कार्य सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म कुल १३.५ किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भएको थियो। २०८१/८२ को स्याउदेखि पुस मसान्तसम्म (६ महिना) १.०४ किलोमिटर नयाँ ट्र्याक निर्माण भई कुल १४.५४ किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ।
२०७१ चैत ५ गतेदेखि काम थालेको सेनाले सो सडकखण्डको निर्माण सम्पन्न भएपछि सडक विभागअन्तर्गत हिल्सा–सिमकोट सडक आयोजनालाई २०७८ असार ३१ गते हस्तान्तरण गरेको थियो। यस खण्ड निर्माणका लागि एक अर्ब ६५ करोड ५५ लाख रुपैयाँ लागत लागेको थियो।
यसअघि सेनाले निर्माणका लागि कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्ला सडकखण्ड १२२ किलोमिटर निर्माण गरेर सडक विभागलाई हस्तान्तरण गरिसकेको छ।
यो खण्ड जिम्मा लिएको सात वर्षपछि सेनाले निर्माण सकेको थियो। २०७१ चैत ५ गतेदेखि काम थालेको सेनाले सो सडकखण्डको निर्माण सम्पन्न भएपछि सडक विभागअन्तर्गत हिल्सा–सिमकोट सडक आयोजनालाई २०७८ असार ३१ गते हस्तान्तरण गरेको थियो। यस खण्ड निर्माणका लागि एक अर्ब ६५ करोड ५५ लाख रुपैयाँ लागत लागेको थियो।
आरुघाट–लार्केभञ्ज्याङ सडकः ३९ किलोमिटर ट्र्याक निर्माण
राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत बेनीघाट– आरुघाट–लार्कोभञ्ज्याङ सडक आयोजना (कुल लम्बाइ ९२ किलोमिटर) को निर्माण जिम्मा पनि सेनाले पाएको छ। यस आयोजना निर्माणका लागि नेपाली सेनाले २०७४ वैशाख ११ गते शिलान्यास गरी निर्माण थालेको थियो।
यो आयोजना निर्माण सुरु भएको सात वर्ष नाघिसकेको छ। यो अवधिमा ३९ किलोमिटर सडक नयाँ ट्र्याक खन्ने कार्य सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म कूल ३८ किमी नयाँ ट्र्याक निर्माण र ३ किमी ट्र्याक स्तरोन्नति गरिएको थियो। त्यसयता २०८१/८२ को पुस मसान्तसम्म १.१४ किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भई कुल ३९.१४ किलोमिटर नयाँ ट्र्याक निर्माण गरिएको छ। यो आयोजना निर्माण सम्पन्न गर्ने म्याद २०८६/८७ सम्म छ।
खाँदबारी–किमाथांका सडक म्यादभित्र सकिएला ?
सेनाले निर्माण सञ्चालन गरिरहेको राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतको अर्को उत्तर–दक्षिण कोशी सडक खाँदबारी किमाथांका (च्याम्ताङ्ग–घोङघप्पा खण्ड) सडक आयोजनाको कुल दूरी १०.५ किलो मिटर हो।
यो आयोजना आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म १.०१ किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न भई कुल ९.५१ किलोमिटर नयाँ ट्र्याक निर्माण सम्पन्न अवस्थामा छ। यस आयोजनाको प्रगति भनेको २०८०/८१ को अन्त्यसम्म कुल ८.५ किमी नयाँ ट्र्याक निर्माण र ३.५ किमी ट्र्याक स्तरोन्नति हो।
सरकारले २०७७ माघ २४ गते आर्थिक वर्ष २०८१/८२ भित्र निर्माण सम्पन्न गरिसक्ने गरी यो आयोजना सेनालाई निर्माणको जिम्मा दिएको थियो। तर चालु वर्षमा विनियोजित बजेट पाँच करोड २७ लाख रहेकोमा बजेटअनुसार २.१ किलोमिटर मात्र सडक ट्र्याक खोल्ने सेनाले लक्ष्य लिएको जनाएको छ।
चार वर्षमा १४.२९ किलोमिटर ट्र्याक खोलियो दार्चुला–टिंकरखण्डमा
सेनाले नै निर्माण सञ्चालन गरेको दार्चुला–टिंकर सडक आयोजनाको कुल लम्बाइ ७९ किमी छ। यो सडक खण्डको निर्माणको जिम्मा २०७७ माघमा सेनाले पाएको थियो। २०८८/८९ भित्र ट्र्याक खनिसक्नुपर्ने यसको म्याद छ।
दार्चुला–टिंकर सडक आयोजना निर्माण सुरु गरिएको चार वर्षमा १४.२९ किमी नयाँ ट्र्याक खनिएको छ। २०८०/८१ को अन्त्यसम्म यसको कुल १३.४ किमी नयाँ ट्र्याक निर्माण र २ किमी ट्र्याक स्तरोन्नति सम्पन्न भएको थियो।
चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ८९० मिटर नयाँ ट्र्याक निर्माण र ७२० मिटर मिटर ट्र्याक स्तरोन्नति सम्पन्न भएको छ। हालसम्म यस सडकको कुल लम्बाइमध्ये १४.२९ किमी नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक