१० बजे १० समाचार : विप्लव नेतृत्वको नेकपाले खोल्यो ‘सी व्यापार केन्द्र’, ७ जना सिनियरलाई पन्छाएर जुनियरलाई एसपीको फुली
आज २०८१ माघ १४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा विप्लव नेतृत्वको नेकपाले खोल्यो ‘सी व्यापार केन्द्र’, प्रचण्डलाई ओलीको सुझाव– आफ्नो कपाल नलुछे हुन्छ, रवि लामिछानेले भने– समय आएपछि बोल्छु, विपक्षीले मोर्चाबन्दी गरेर सरकारलाई ढुंगा हान्न खोजेको सत्ता पक्षको आरोप, हर्क साम्पाङलाई कारबाही गर्न गृहमन्त्रीसँग महासंघको माग, एसपी बढुवामा ७ जना सिनियरलाई पन्छाएर जुनियरलाई फुली, आशिका तामाङलाई धरौटीमा छाड्ने निर्णय लगायत छन् ।
१. विप्लव नेतृत्वको नेकपाले खोल्यो ‘सी व्यापार केन्द्र’
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौँको बुढानीलकण्ठ नगरपालिकास्थित तल्लो पासीकोट पिपलचोकमा ‘सी व्यापार केन्द्र’ खोलेको छ । सो पार्टीले श्रम र समयलाई उत्पादनसँग जोड्ने नीति अनुसार देशभर उत्पादित सामानलाई बजारीकरण गर्न व्यापार केन्द्र खोलेको हो ।
२. प्रचण्डलाई ओलीको सुझाव– आफ्नो कपाल नलुछे हुन्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर आफ्नो कपाल नलुछ्न सुझाव दिएका छन् । उनले वर्तमान सरकार नढल्ने दाबी गर्दै आफूविरुद्ध भ्रम छर्ने काम निरन्तर भइरहेको गुनासो पनि गरे ।
३. रवि लामिछानेले भने– समय आएपछि बोल्छु
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले समय आएपछि बोल्ने बताएका छन् । कास्की जिल्ला अदालतले सहकारीको रकम हिनामिना, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा रिहा गर्न दिएको आदेश पुनरवलोकनको मागसहित उच्च अदालत पोखरामा निवेदन दर्ता गराउने क्रममा रविले यस्तो प्रतिक्रिया दिएका हुन् ।
४. विपक्षीले मोर्चाबन्दी गरेर सरकारलाई ढुंगा हान्न खोजेको सत्ता पक्षको आरोप
सत्ता पक्षका दलले विपक्षी दलहरू मोर्चाबन्दी गरेर सरकारलाई ढुंगा हान्न खोजेको आरोप लगाएका छन् । सोमबार बालुवाटारमा बसेको सत्ता पक्षीय दलहरूको बैठकले यस्तो निष्कर्ष निकालको हो ।
५. हर्क साम्पाङलाई कारबाही गर्न गृहमन्त्रीसँग महासंघको माग
नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गृहमन्त्री रमेश लेखकलाई सोमबार मन्त्रालयमा भेटेर यस्तो माग गरेको हो ।
६. एसपी बढुवामा ७ जना सिनियरलाई पन्छाएर जुनियरलाई फुली
माघ ११ गते मध्यराति प्रहरीका ३७ डीएसपीहरू एसपी बढुवाका लागि सिफारिस भए । आईजीपी वसन्त कुँवर, एआईजी दुर्गा सिंह र गृह मन्त्रालयका सहसचिव छवि रिजाल सम्मिलित बढुवा समितिले सिफारिस सूची प्रकाशन गरेको हो । आफूसँगै सेवा प्रवेश गरेकाहरू बढुवा भएर दुई वटा जिल्लामा इन्चार्ज हुँदा पनि ७ जना डीएसपीहरू भने यसपटक पनि एसपी हुन सकेनन् ।
७. अनेरास्ववियु क्रान्तिकारीको मतगणनामा फेरि लफडा
अनेरास्ववियु (क्रान्तिकारी)को विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना मतदानस्थलमै गर्ने कि पार्टी कार्यालय पेरिसडाँडामा गर्ने भन्ने नयाँ विवादमा फसेको छ । नयाँ नेतृत्वका लागि शनिबार विश्वविद्यालय र विशेषको मतदान केन्द्र प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसमा रहेको थियो ।
८. अध्यादेश र मन्त्रीको कामप्रति कांग्रेसमा असन्तुष्टि
नेपाली कांग्रेसका सांसदहरूले सरकारले ल्याएको अध्यादेशबारे कुनै छलफल नै नगरेको भन्दै असन्तुष्टि जनाएका छन । साथै उनीहरूले पार्टीका तर्फबाट मन्त्री भएकाहरूले पनि सांसदहरूसँग कुनै छलफल गर्ने नगरेको गुनासो गरेका छन् ।
९. आशिका तामाङलाई धरौटीमा छाड्ने निर्णय
अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले रिहा गर्ने निर्णय गरेको छ । उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले रातोपाटीलाई बताए ।
१०. कृषि पूर्वाधान बनेर पनि किन चल्दैनन् ?
कोशी प्रदेशमा कृषि सम्बन्धी विभिन्न पूर्वाधार निर्माण भएर पनि सञ्चालन हुन सकेका छैनन् । ठुलो बजेट खर्चिएर बनेका कोल्डस्टोरेज, कृषि बजार लगायतका संरचना सञ्चालन हुन नसकेका हुन् । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा झन्डै ५० हजार बालिकालाई एचपीभी खोप लगाइने
-
भारतको कुम्भमेलामा भागदौड, कैयौँ हताहत भएको आशङ्का
-
सरकारले थाल्यो भारतबाट गहुँ आयात प्रक्रिया
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
संसार हेर्ने अभिलाषा पुरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख
-
अखिल क्रान्तिकारी निर्वाचन : केन्द्रीय सदस्य, सचिवालय सदस्य र आयोगका पदाधिकारीको मतगणना सकियो