बुधबार, १६ माघ २०८१
ताजा लोकप्रिय

सैफमाथि हमलाको आरोपमा समातिएका आकाश भन्छन्- म छुटे तर जीवन बर्बाद भयो

मेरो जागिर गुम्यो, विवाह टुट्यो
सोमबार, १४ माघ २०८१, १९ : ४२
सोमबार, १४ माघ २०८१

मुम्बई । अभिनेता सैफ अली खानमाथि भएको हमलाको अनुसन्धानमा मुम्बई प्रहरीले धेरै संदिग्धलाई नियन्त्रणमा लिएको थियो र धेरैसँग सोधपुछ गरेको थियो। आकाश कनोजिया पनि प्रहरीद्वारा पक्राउ परेका व्यक्तिमध्ये एक थिए ।

आकाश कनोजियाले प्रहरीले पछि रिहा गरे पनि जीवनमा नराम्रो प्रभाव परेको बताए । उनले आफ्नो जागिर गुमाए र उनको हुन लागेको विवाहसमेत टुट्यो।

जनवरी १६ मा मुम्बईको बान्द्रामा एक व्यक्ति सैफको घरमा प्रवेश गरेर उनीमाथि चक्कु प्रहार गरेका थिए । यस हमलामा सैफ घाइते भएका थिए । उनको ढाड र घाँटीमा गहिरो घाउ थियो ।

घटनापछि प्रहरीले विभिन्न टोली बनाएर अभियुक्तको खोजी सुरु गरेको थियो । खोजीको क्रममा मुम्बई प्रहरीले सीसीटीभी फुटेज स्क्यान गर्न थाल्यो र मुम्बईमा ५० भन्दा बढी व्यक्तिको बयान रेकर्ड गर्‍यो । धेरै संदिग्धहरूलाई हिरासतमा राखिएको थियो र प्रहरीले उनीहरूसँग विस्तृत रूपमा सोधपुछ गरेको थियो।

यसै क्रममा मुम्बईमा बस्ने एक युवक आकाशलाई रेलवे पुलिसले संदिग्धको रूपमा हिरासतमा लिएको थियो । यो जानकारी मिडियामा पनि आएको थियो।

को हुन् आकाश कनोजिया ?

३१ वर्षका आकाश मुम्बईको कोलाबा-कफ परेडको एउटा बस्तीमा बस्छन् । आकाश रेलवे कर्मचारी र उनीहरूका परिवारलाई सवारी साधन उपलब्ध गराउने कम्पनीमा करार चालकको रूपमा काम गर्थे ।

आकाशविरुद्ध मुम्बई र अन्य ठाउँमा चोरी लगायतका मुद्दा दर्ता छन्। आकाश यसअघि पनि प्रहरीको सम्पर्कमा थिए ।

मुम्बई प्रहरीले सैफ अली खानमाथि भएको आक्रमणमा धेरै संदिग्धलाई पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानको दायरा आकाशसम्म पनि पुग्यो र प्रहरीले सीसीटीभीमा देखिएका व्यक्ति आकाशसँग मिल्दोजुल्दो भएको आशङ्का गरेपछि प्रहरीले आकाशको खोजी सुरु गरेको थियो ।

आकाश कनोजिया किन र कसरी पक्राउ परे ?

प्रहरीले आकाशलाई सोधपुछका लागि बोलाएको थियो । आकाशका अनुसार त्यो दिन फोन काटिएको थियो र त्यो बेला उनी आफ्नी हुनेवाला श्रीमतीलाई भेट्न ट्रेन समात्दै थिए। त्यसका लागि आफूले लोकमान्य तिलक टर्मिनलबाट छुट्ने ज्ञानेश्वरी एक्सप्रेस समातेर छत्तीसगढतर्फ प्रस्थान गरेको उनी बताउँछन् ।

यसैबिच, रेलवे प्रहरीले आकाशलाई राजनन्दगाउँ स्टेसनमा हिरासतमा लियो र भिडियो कल मार्फत मुम्बई पुलिससँग कुरा गरेको थियो । त्यसपछि मुम्बई प्रहरीको टोली उनलाई लिन त्यहाँ पुगेको थियो ।

यी सबै घटनाको बिचमा आकाश पक्राउ परेपछि उनको तस्बिर र जानकारी मिडियामा पुग्यो र यो खबर फैलियो ।

अहिले सैफमाथि भएको आक्रमणको आरोपमा मोहम्मद शहजादलाई पक्राउ गरिएको छ । आकाशलाई सोधपुछपछि छाडिएको थियो ।

घटनामा संदिग्धको रूपमा हिरासतमा आएपछि आकाशले आफुले जागिर गुमाएको र योसँगै आफ्नो बिवाह पनि टुटेको दाबी गरेका छन् । मुम्बई र गाउँका आफन्त र साथीहरूले उनीसँग बोल्न छोडेका छन् ।

आकाश भन्छन्, ‘यस घटनाले समाजमा मेरो र मेरो परिवारको छविलाई ध्वस्त पारेको छ। मेरो सामान्य जीवन बर्बाद भएको छ। यसले मेरो रोजगारी र व्यक्तिगत जीवनलाई असर गरेको छ। यो घटनापछि यसको जिम्मेवार को हो? अहिले मेरो हैसियत के छ? म यस सम्बन्धमा न्याय चाहन्छु। अन्यथा म अदालतमा पुनरावेदन गर्नेछु।’

उनले भने, ‘जब मिडियाले मेरो तस्बिर देखाउन थाल्यो र यो घटनाको मुख्य संदिग्ध म नै हुँ भनी दाबी गर्न थालियो । मेरो परिवार स्तब्ध थिए । उनीहरु बारम्बार रोइरहेका थिए ।’

उनी थप्छन्, ‘प्रहरीको गल्तीले मेरो जीवन बर्बाद भयो। मेरो जुँगा छ तर सीसीटीभीमा देखेको व्यक्तिको जुँगा छैन, म ऊ होइन भनेर प्रहरीले बुझेको हुनुपर्छ। म आफैँले प्रहरीलाई भनेको छु। तर मेरो कुरा कसैले सुनेन ।’

प्रहरीको फोन आएपछि पनि किन भेट्न नगएको भन्ने विषयमा आकाशले भने, ‘घटनापछि मलाई प्रहरीको फोन आयो र म कहाँ छु भनेर सोधे । जब मैले घरमा छु भने, फोन काटियो। पछि, म आफ्नी हुनेवाला पत्नी लाई भेट्न जाँदै थिए, मलाई दुर्गमा हिरासतमा राखियो र त्यसपछि रायपुर लगियो। त्यहाँ पुगेको मुम्बई पुलिस टोलीले पनि कुटपिट गर्‍यो ।’

'मेरो विवाह टुट्यो'

आकाश भन्छन्, ‘म रिहा भएपछि आमासँग सम्पर्क गरेँ, त्यसपछि उनले मलाई घर आउन भनिन् । तर अहिले मेरो जीवन पहिलेको जस्तो छैन। यो पूर्ण रूपमा अस्थिर, विचलित भएको छ ।’

‘अर्को दिन जब मैले मेरो मालिकलाई फोन गरेँ, उहाँले मलाई काममा नआउन भन्नुभयो। उहाँले मेरो कुरा सुन्न अस्वीकार गर्नुभयो। साथै, मेरी हजुरआमाले मलाई हिरासतमा राखेपछि मेरी हुनेवाला दुलहीको परिवारले विवाहको कुरा अगाडि बढाउन अस्वीकार गरेको बताउनुभयो ।’

आकाशले प्रहरीमाथि लगाएको आरोप र उनको मानहानिका सम्बन्धमा बीबीसीले मुम्बई प्रहरीसँग कुरा गर्न खोज्दा कुनै प्रतिक्रिया आएको छैन ।

तर, प्रहरीको यो गल्तीले आफ्नो जीवन बर्बाद भएको आकाशको आरोप छ । न्याय नपाए यस विषयमा अदालतमा पनि निवेदन दिने उनी बताउँछन् ।

बलिउड अभिनेता सैफ अली खानमाथि भएको आक्रमणको सम्बन्धमा मुम्बई प्रहरीले पछि पत्रकार सम्मेलनमा मोहम्मद शरीफुल इस्लाम शहजाद नामका व्यक्तिलाई पक्राउ गरेको बताएको थियो ।

मुम्बई पुलिस जोन-९ डीसीपी दीक्षित गेडामले भनेका थिए, ‘आरोपी बंगलादेशी मूलको हुन सक्ने आशङ्का गरिएको छ र यस मामिलामा राहदानी ऐनसँग सम्बन्धित उपयुक्त धाराहरू पनि थपिएको छ। घटनाको समयमा अभियुक्त चोरीको नियतले घर भित्र पसेको थियो ।

आक्रमणपछि सैफनलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । -बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप