एसपी बढुवामा शक्तिको खेल : ७ जना सिनियर छुटाएर जुनियरको काँधमा फुली
काठमाडौं। माघ ११ मा मध्यराति प्रहरीका ३७ डीएसपीहरू एसपी बढुवाका लागि सिफारिस भए। आईजीपी वसन्त कुँवर, एआईजी दुर्गा सिंह र गृह मन्त्रालयका सहसचिव छवि रिजाल सम्मिलित बढुवा समितिले सिफारिस सूची प्रकाशन गरेको हो।
बढुवा सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन्। चन्द २०६१ जेठ १५ मा प्रहरी निरीक्षक भएका हुन्। चन्दसँगै इन्स्पेक्टर भएका ७ जनाले बढुवा हुने अवसर पाएनन्। रविन कार्की, महेन्द्र नेपाल, वीरेन्द्र थापा, अनिल खड्का, ज्ञानेन्द्र बस्नेत, महेश थापा र दीपेन्द्र पँजियार थारू बढुवामा छुटेका छन्।
कार्की वरीयता सूचीको ३ नम्बरमा थिए। उनी २०७२ चैतमा डीएसपी भएका थिए। तर, उनीभन्दा दुई वर्षपछि डीएसपीमा बढुवा भएकाहरू समेत ‘जम्प’ गरेर एसपीमा सिफारिस हुन सफल भएका छन्।
२०६२ भदौमा सेवा प्रवेश गर्ने अधिकृतहरूले अघिल्लो ब्याचका डीएसपीहरूलाई उछिनेका छन्। त्यसरी जम्प गर्नेहरू २० जना छन्। मुकुन्द रिजाल र निर्मल बुढाथोकीसहित १० जना अधिकृतहरू २०७४ सालमा डीएसपी भएका थिए। अरू १० जनाचाहिँ २०६१ सालमा सेवा प्रवेश गर्नेहरूसँगै डीएसपी भएका थिए।
पवन भट्टराई, रवीन्द्र पौडेल, निशान थापा, रुकेश तन्डुकार र दानबहादुर थापासहित १० जना २०७२ चैतमा डीएसपीमा बढुवा भएका हुन्। अघिल्लो ब्याचका अधिकृतहरूसँगै डीएसपी भए पनि उनीहरू २०६२ सालमा सेवा प्रवेश गरेका हुन्।
आफूसँगै सेवा प्रवेश गरेकाहरू बढुवा भएर दुई वटा जिल्लामा इन्चार्ज हुँदा पनि ७ जना डीएसपीहरू भने यसपटक पनि एसपी हुन सकेनन्।
बढुवामा पछि पारिएका उनीहरू प्रहरीभित्र सोझा–सीधा अधिकृतका रूपमा चिनिन्छन्। बढुवा सूचीमा नपरेका महेश थापा पूर्वआईजीपी श्यामभक्त थापाका भतिजा हुन्। उनी अहिलेसम्म विवादमा परेका छैनन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत अनिल खड्का प्रहरीभित्र इमानदार अधिकृतका रूपमा चिनिन्छन्। डीएसपी हुँदा अधिकांशको रोजाइमा नपर्ने कीर्तिपुर र चितवनस्थित इलाका प्रहरी कार्यालय टाँडीमा कमाण्ड गरेका उनी कहिल्यै विवादमा आएनन्।
भक्तपुरका रैथाने रविन कार्की प्रहरीभित्र ‘लोभ नगर्ने’ अधिकृतका रूपमा चिनिन्छन्। उनीहरूलाई छुटाएर शक्ति केन्द्रको दबाबमा बढुवा समितिका अधिकारीहरूले जुनियरको काँधमा फुली ‘उपहार’ दिएको आरोप छ।
- मुख्यसचिवदेखि आरजुसम्मका उम्मेदवार
प्रहरी उपरीक्षकको बढुवामा अधिकृतहरूले मुख्यसचिवदेखि परराष्ट्रमन्त्रीसम्म फोन लगाएका छन्। २०६२ सालमा सेवा प्रवेश गरेका मुकुन्द रिजाल दुई वर्ष सिनियरलाई जितेर बढुवा भए। अहिले उनी आफ्नो ब्याचबाट १ नम्बर सूचीमा पुगेका छन्। परराष्ट्रमन्त्री आरजु राणा देउवालाई ‘भनसुन’ गराएर रिजालले फड्को मारेका गृह मन्त्रालयका अधिकृतहरू नै बताउने गर्छन्।
अर्का डीएसपी दानबहादुर थापा मुख्यसचिवले भनिदिएका उम्मेदवार हुन्। मुख्यसचिव एकनारायण अर्यालले थापालाई बढुवा गर्न बढुवा समितिलाई दबाब दिएको आरोप छ। पवन भट्टराई भने कांग्रेस नेता पूर्ण बहादुर खड्काका उम्मेदवार हुन्। भट्टराई आफ्नो ब्याचमा २ नम्बरमा बढुवा हुन सफल भएका छन्।
आफ्ना निकटलाई बढुवा गर्न शक्ति केन्द्रले प्रहरीको ऐन र निमावलीलाई आफूअनुकूल व्याख्या गर्ने गरेको पूर्वएआईजी देवेन्द्र सुवेदी बताउँछन्।
प्रहरी महानिरीक्षकले ‘राजनीतिक खुसीयाली’ खोज्दा कुनै बेला कार्यसम्पादन मूल्याङ्कन र कुनै बेला ज्येष्ठता भनेर व्याख्या गर्ने संस्कार प्रहरीमा पुरानो भइसकेको सुवेदीले बताए।
फौजमा ज्येष्ठतालाई बढुवाको मुख्य आधार मानिन्छ। कार्यसम्पादनका आधारमा बढुवा गर्नुपर्ने व्यवस्थालाई बढुवा समितिले दिने अङ्क र प्रहरी महानिरीक्षकले दिने चुनौतीबापतको ‘तजबिजी अधिकार’ प्रयोग गरेर शक्ति केन्द्रले भनेका मानिसलाई बढुवा गर्ने गरिन्छ।
कसैले कार्यसम्पादन र कसैले ज्येष्ठताको नाममा आफ्नाहरूलाई माथि लैजाने गरेको पूर्वएआईजी सुवेदीले बताए। उनले भने, ‘घोडा बलियो हुनेहरू माथि जान्छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिको सन्देश : सुशासन, विकास र समृद्धिको बाटो शहीदप्रतिको सच्चा श्रद्धाञ्जली
-
आज देशभर शहीद दिवस मनाइँदै
-
नारायणको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
भारतविरुद्धको टी-ट्वेन्टी श्रृंखलामा हारबाट जोगियो इंग्ल्याण्ड
-
अमेरिकी डलर, चिनियाँ युआन, रियाल, दिनारको मूल्य बढ्यो, कसको कति ?
-
ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा