काठमाडौँ । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म हो ‘जुनाः एक व्यथा’ । राजधानीमा सोमबार एक कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा एउटा बालिकाको भूमिकामा देखिएकी अस्मिता ढकालको विवाहदेखि गर्भवती अवस्थासम्मको पीडा देखाइएको छ । केटी माग्न गएको दृश्यदेखि सुरु ट्रेलरमा विवाह पछि बालिकालाई पति, सासुले दिएको दुःख र पीडालाई देखाइएको छ ।
फिल्म यहि माघ २५ गते रिलिज हुन लागेको हो । गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्म जीवन सेञ्चुरीले निर्देशन गरेका हुन् ।
ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकार समेटिएका छन् ।
ट्रेलर रिलिज पछि फिल्मका निर्माता दीपकप्रसाद घिमिरेले फिल्ममा वास्तविकता भएकाले दर्शकलाई छुने बताए । ‘हामी जुनसुकै पेसा व्यवसायमा भए पनि यो हाम्रै घरको र गाउँको कथा हो । यस्ता घटना नेपालमा मात्र नभई दक्षिण एसियामा पनि प्रशस्त छन् । यस्तो फिल्मले त्यस्तो हिंसाबाट बचाउन सहयोग गर्छ भन्नेमा हामी आशावादी छौँ’, उनले भने ।
निर्देशक जीवन सेञ्चुरीले फिल्मले नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहु विवाह, बलात्कार र छाउपडी प्रथाजस्ता कुप्रथालाई अन्त्य गराउन समाजमा चेतना फैलाउन प्रेरित गर्ने बताए ।
फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्मको दीपकप्रसाद घिमिरे निर्माता हुन् । बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, रामेश्वर हुमागाईंको डिओपी रहेको फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्दैछ ।
प्रतिक्रिया