बुधबार, १६ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओवेनको कीर्तिमानी शतकमा हरिकेन्सलाई मेडन बीबीएल उपाधि

सोमबार, १४ माघ २०८१, १८ : २८
सोमबार, १४ माघ २०८१

होबार्ट । मिचेल ओवेनले अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा सबैभन्दा चाँडो शतकको कीर्तिमान बराबरी गर्दा होबार्ट हरिकेन्सले पहिलोपटक उपाधि जित्न सफल भएको छ । सोमबार भएको खेलमा हरिकेन्स ७ विकेटले विजयी बन्यो ।

ओवेनको विस्फोटक ब्याटिङको मद्दतले सिड्नी थन्डरले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य मात्र १४.१ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । ओवेनले मात्र ३९ बलमा आफ्नो शतक पूरा गरे । यसअघि सन् २०१४ मा क्रेग सिमन्सले ३९ बलमा नै लिगमा शतक हिर्काएका थिए ।

ओवेनले ४२ बलको सामना गर्दै १ सय ८ रन बनाए । टम एन्ड्रयुजको बलमा आउट हुनअघि उनले ६ चौका र ११ छक्का प्रहार गरे । 

विकेटकिपर म्याथ्यु वेडले १७ बलमा ३२ रन जोड्दै टोलीलाई जितसम्म डोर्‍याए । उनलाई बेन म्याकडेर्मोटले १२ बलमा १८ रन बनाउँदै अन्तिमसम्म साथ दिए । थन्डरका लागि तनवीर सांगाले २ तथा टम एन्ड्रयुजले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको थन्डरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८२ रन जोडेको थियो । टोलीलाई कप्तान डेविड वार्नर र जेसन सांगाले राम्रो सुरुवात दिलाए । दुवैले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरे ।

जेसन ४२ बलमा ६७ रन बनाउँदै पभेलियन फर्किए । उनले ५ चौका र २ छक्का हिर्काए । यता, वार्नरले ४८ रन जोडे । उनले ३२ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरे ।

ओलिभर डेभिसले २६ रन तथा साम बिलिङ्सले २० रनको योगदान दिए । क्रिस ग्रिनले १६ रन जोडे । हरिकेन्सका लागि राइली मेरेडिथ र नाथन इलिसले ३–३ विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप