बुधबार, १६ माघ २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डलाई ओलीको सन्देश : सरकार ढल्दैन, आफ्नो कपाल नलुछे हुन्छ

‘खोक्न पाएको छैन, आईसीयूमा भएको तस्बिर आउँछ’
सोमबार, १४ माघ २०८१, १५ : ५७
सोमबार, १४ माघ २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् । सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरूप्रति आक्रोश व्यक्त गरेका हुन् ।

प्रतिपक्षी दलहरूले दाबी गरेको जस्तो सरकार नढल्ने उनले स्पष्ट पारे । प्रधानमन्त्रीको ‘चक्लेट’ छाडेर नेकपा एमाले र नेपाली कांग्रेस मिलेर देश बनाउनका लागि यो बलियो सरकार गठन गरेको उनको भनाई थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै उनले भने, ‘सरकार आजै ढल्छ, भोलि ढल्छ भन्ने छाती पिटाइ, कपाल लुछाइ र बिलौनाको कुनै काम छैन । देशलाई स्थायित्व र स्थिरता दिन बनेको दुई तिहाइको सरकार हो यो । हामीले प्रधानमन्त्रीको चकलेट छाडेर यो सरकार बनाएका हौँ, त्यस्तालाई साथ लिएर प्रधानमन्त्री बन्दा देश बन्दैन भनेर ।’

प्रचण्डमाथि खनिँदै प्रधानमन्त्री ओलीले अहिले २०६४ सालको समय नभएको स्मरण गराए । उनले थपे, ‘६४ को जस्तो भोट दिनु के–के न गर्छु भन्नुभयो एक जनाले । जमाना गयो त्यो । त्यतिबेला क्याम्पमा लडाकु थिए, आतङ्क थियो, त्रास थियो । सोझा जनतालाई टाढाबाट दूरबिनले हेरेका हुन्छौँ, कहाँ भोट हाल्यो थाहा पाउँछौँ, पछि ठिक लगाउँछौँ भन्थे । उनीहरूका मान्छे मतपत्र लगाएकै ठाउँमा गएर हेर्थे । तिमी सक्दैनौँ हामी लगाइदिन्छौँ भन्थे । सरकार र प्रशासन निरीह हुन्थ्यो, त्यो जमाना अब छैन, गयो त्यो जमाना ।’

उनले देश लोकतान्त्रिक अभ्यास चल्ने बताउँदै सबैलाई त्यसै गरी अगाडि बढ्न आग्रह गरे । उनले एक अर्कासँग बाझेर भन्दा पनि, एक अर्कामाथि हिलो छ्यापेर भन्दा पनि मिलेर अघि बढ्नुपर्ने बताए ।

‘कस्तो हिलो छ्याप्न सकेका, तिनै मान्छे कराएका छन्, कराएका छन् । पोहोर संसद्मा एक जनाले पशुपतिमा सुन चढाउँछु भनेर पित्तल चढाए छानबिन गरिपाऊँ भने । उनीहरूकै सरकार थियो, छानबिन भयो । जति चढाएको थियो भनेको थियो, त्यति नै चढाएको रहेछ । फेरि त्यस्तै कुरा गरेर अर्को–अर्को आरोप लगाइरहन लाज मान्दैनन् उनीहरू । एक शब्द माफी पनि माग्दैनन्,’ उनले भने ।

कम्बोडिया र स्वीटजरल्याण्डमा सम्पत्ति छ भनेर आफूमाथि तथ्यहीन आरोप लगाएकोमा पनि ओलीले असन्तुष्टि व्यक्त गरे । ‘नेपालमै मसँग सम्पत्ति छैन, अनि स्वीटजरल्याण्डमा लगेर राखेको रसिद छ भनेर निकाल्छन् । कहिले कम्बोडियामा ३२ अर्ब भन्छन् । टेलिकममा लगानी गरेको पैसा लुकेको पैसा हुँदैन । कसको नाम छ, गएर ल्याऊ बाँडेर खाऊ, कसलाई खान मन छ । सरकारमा दाखिल गर । अर्कोलाई चिर्कटो देखाउन लगाउने ? बिचरापछि प्रहरीले सोध्दा मैले झुटो बोलेको थियो भन्छ । यस्ता भ्रमको खेती गरेर नेपाल बिगार्ने होइन ।’

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने प्रति पनि उनले व्यङ्गय गरे । ‘एउटा झिल्केले उफ्रेर मिडियाबाजी गर्छ । हो न हो पार्छ । अर्को उताबाट निस्कन्छ ।’

यता, आफू बिरामी हुँदा भएको प्रचारप्रति पनि प्रधानमन्त्री ओलीको गुनासो थियो । ‘खोक्न पाएको छैन आईसीयूमा देखाउँछन् । फोटो आउँछ । म आईसीयूमा छु कि कहाँ छु, तपाईँहरूले देखिरहनुभएको छ,’ ओलीले भने । औषधीले गर्दा आफूले केही कमजोरी भने महसुस गरेको तर केही दिनमा नै आफू ठिक हुने उनको जिकिर थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप