नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमयुक्त मुलुकमा सूचिकृत भएर अन्तर्राष्ट्रिय अनुगमनमा जानसक्ने सम्भावना छ : गभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा जोखिमयुक्त मुलुकमा सूचिकृत भई अन्तर्राष्ट्रिय अनुगमनमा जानसक्ने सम्भावना रहेको बताएका छन् । सोमबार सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो संकेत गरेका हुन् ।
गभर्नर अधिकारीले सम्पत्ति शुद्धीकरणको मामिलामा अनुगमन गर्ने निकाय, फाइनान्सियल एक्सन टास्क फोर्सको एसिया प्यासिफिक ग्रुप एपीजीले नेपाल जोखिमपूर्ण मुलुक (ग्रे लिष्ट)मा जाने अवस्था देखाएको बताए । उनले आर्थिक अपराध नियन्त्रणमा नेपालको प्रयासलाई एपीजीले उच्च, राम्रो, मध्यम र न्यून भनी वर्गीकरण गर्दा नेपाल ग्रे लिस्टमा पर्ने सम्भावना रहेको बताए । उनले एफएटीएफले सम्पत्ति शुद्धीकरण गैरकानुनी क्रियाकलाप निवारण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गरेका मापदण्ड पूरा नभएको आधारमा एपीजीले सम्पत्ति शुद्धीकरणको कालोसूचीमा लैजाने बताए । उनले एफएटीएफले गर्ने फेब्रुअरी १७ देखि २१ सम्म हुने मूल्याङ्कनमा नेपालका सबै रिपोर्ट हेरेर ग्रे लिस्टमा राख्ने नराख्ने निर्णय हुने बताए ।
गभर्नर अधिकारीले नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा समावेश भयो भने पनि चाँडै बाहिर निस्कने धेरै आधारशिलाहरू बनेको बताए । उनले आवश्यक कानुन, नियमावलीहरू बनिसकेको बताए । उनले सम्बन्धित निकायहरूले सम्पत्ति शुद्धीकरण निवारणको लागि प्रभावकारी रूपमा कार्यान्वयनमा जान आवश्यक रहेको बताए । उनले नियमनकारी निकायहरूले जोखिमका ठाउँहरु पत्ता लगाएर जोखिम न्यूनीकरण गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । उनले नियमनकारी निकायहरूले समन्वयात्मक रूपमा काम गरे ग्रे लिस्टमा परे पनि चाँडै बाहिर आउनसक्ने उल्लेख गरे । उनले क्यास कारोबार बढी जोखिमयुक्त कारोबार भएकाले नेपालमा थ्रेस होल्ड तोकिएको बताए ।
उनले भने,‘क्यास कारोबार बढी जोखिम युक्त कारोबार हो । त्यसैले थ्रेस होल्ड तोकिएको छ । पछिल्लो दिनहरूमा डिजिटल कारोबारहरू बढ्दै गएको छ । त्यसमा पनि प्रशस्त मात्रामा फल्डहरु हुने र टेक्नोलोजि एडभान्समेन्टको फलस्वरुप क्रिप्टो लगायतमा आफ्नो सम्पत्तिहरू लैजाने प्रयोगहरु बढ्न थालेका छन् । विश्वभर यस्ता जोखिमहरुलाई नयाँ किसिमले समाधान गदै जानुपर्ने भयो । क्रिप्टोलाई पनि जोखिम मानिरहेका छौँ । कुनैपनि काम गर्दा जोखिम छ भन्ने होइन । नयाँ–नयाँ रूपमा जोखिमहरू आइरहेका हुन्छन् । त्यस्ता जोखिमलाई हामीले न्यूनीकरण गर्न लाग्नुपर्ने हुन्छ ।’
गभर्नर अधिकारीले पछिल्लो समय नयाँ–नयाँ रूपमा जोखिमहरू आइरहेको भन्दै त्यस्ता जोखिमलाई न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिए । उनले गैरकानुनी हिसाबमा सम्पत्ति आर्जन गर्नेलाई कडा कारबाही हुनुपर्ने बताए ।