दक्षिण कोरियामा जुजु एयरको विमान दुर्घटनाअघि चरासँग ठोक्किएको थियो : रिपोर्ट
सोल । दक्षिण कोरियामा डिसेम्बर महिनाको अन्त्यतिर भयानक विमान दुर्घटना भएको थियो । दुर्घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूले आफ्नो पहिलो प्रतिवेदनमा विमानको इन्जिनमा चरा ठोक्किएको बताएका छन् । यद्यपि दुर्घटनाको खास कारण भने खुलाइएको छैन ।
सोमबार जारी गरिएको प्रतिवेदनमा विमानको दुवै इन्जिनमा चराको प्वाँख र रगतको दाग भेटिएको खुलासा भएको छ । इन्जिनमा भेटिएका प्वाँख र धुलोका दागका नमूनाहरू अनुसन्धान गर्ने संस्थाहरूलाई पठाइएको छ ।
दुर्घटना हुनुभन्दा चार मिनेट अघि विमानको ब्ल्याक बक्सले रेकर्ड गर्न बन्द गरेको पनि प्रतिवेदनमा भनिएको छ । हवाई ट्राफिक नियन्त्रकहरूले दुर्घटना हुनुभन्दा केही मिनेट अघि विमानलाई चरा ठोक्किने जोखिमको बारेमा चेतावनी दिएको यस अघि पनि बताइएको थियो ।
- १७९ जनाको मृत्यु
सन् २०२४ को डिसेम्बर २९ मा दक्षिण कोरियाको जेजु एयरलाइन्सको बोइङ ७३७–८०० विमान थाइल्याण्डबाट दक्षिण कोरिया आउँदै थियो । तर मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त भयो ।
विमान धावनमार्गबाट चिप्लियो र केही अगाडि रहेको पक्की पर्खालमा ठोक्कियो अनि विस्फोट भएर आगो लाग्यो । विमानमा चालक दल सहित १८१ जना सवार थिए । यी मध्ये दुई जना मात्र बाँचे । बाँकी १७९ जनाको मृत्यु भयो ।
यो विमान दुर्घटना दक्षिण कोरियामा भएको सबैभन्दा ठूलो विमान दुर्घटना मध्ये एक थियो । दुर्घटनाको एउटा भिडियो सार्वजनिक भएको छ जसमा विमान धावनमार्गमा चिप्लिएर भित्तामा ठोक्किएको देखिन्छ । प्रतिवेदनमा विमानको ल्यान्डिङ गियरमा खराबीको कारण चाँहि खुलेको छैन ।