मङ्गलबार, १५ माघ २०८१
ताजा लोकप्रिय

१५ वर्षीय प्रशंसकले भारतीय क्रिकेटर रोहित शर्मालाई लेखे भावुक पत्र

सोमबार, १४ माघ २०८१, १३ : ४८
सोमबार, १४ माघ २०८१

मुम्बई । टेस्ट तथा एक दिवसीय क्रिकेटका भारतीय कप्तान रोहित शर्मा केही समयदेखि आफ्नो उत्कृष्ट लयमा छैनन् । घरेलु मैदानमा न्युजिल्याण्ड विरुद्ध असफल भएपछि उनले अष्ट्रेलियामा पनि केही विशेष प्रदर्शन देखाउन सकेनन् ।

यसपछि उनले घरेलु क्रिकेट ‘रणजी ट्रफी’ खेल्ने निर्णय गरे । त्यहाँ पनि रोहितले ठुलो इनिङ खेल्न सकेनन् । यति हुँदाहुँदै पनि उनको फ्यान फलोइङमा कमी आएको छैन । बालबालिकादेखि वृद्धवृद्धासम्म हरेक उमेर समूहका लाखौँ मानिस उनका प्रशंसक छन् ।

रणजी ट्रफीमा जम्मू कश्मीरविरुद्ध मुम्बईको लागि खेलेपछि रोहित शर्मालाई एक १५ वर्षीय फ्यानले भावनात्मक सन्देश पठाएका छन् । यथार्थ छाबडा नामका ती फ्यानले रोहितकै कारण आफूले क्रिकेट हेर्ने गरेको दाबी गरेका छन् ।

उनले रोहित शर्मालाई लेखेको भावुक पत्र सामाजिक सञ्जालमार्फत बाहिरिएको छ । ती युवा फ्यानले रोहित सही बाटोमा रहेको र आगामी च्याम्पियन्स ट्रफीमा सबै टोलीलाई पराजित गर्ने जिकिर गरेका छन् ।

उनले रोहितको नेतृत्वको प्रशंसा गर्दै कहिल्यै पनि सन्न्यास नलिन पत्रमार्फत आग्रह गरेका छन् । उनले रोहित शर्मा चाँडै नै आफ्नो उत्कृष्ट लयमा फर्कने विश्वास पनि व्यक्त गरेका छन् ।

यथार्थ छाबडाले के लेखेका छन् पत्रमा ?

यथार्थले पत्रमा लेखेका छन्, ‘मेरो आदर्श, मेरो मनपर्ने खेलाडी र अहिलेसम्मकै महान ब्याट्सम्यान ! मलाई थाहा छ, म यो भन्दैमा लाखौँ प्रशंसकको प्रतिनिधित्व गर्छु । तपाईं नै हो, जसले गर्दा म यो सुन्दर खेल हेर्छु । तपाईंले ब्याटिङ गरेको हेर्न पाउने पवित्र युगमा जन्मिएकोमा म भाग्यमानी छु ।’

रोहिले पछिल्ला केही खेलमा कुनै ठुलो इनिङ नखेलेको जिकिर गर्दै उनले पत्रमा भनेका छन्, ‘यो कुराले फरक पार्दैन । म देख्न सक्छु कि तपाईं सही बाटोमा हुनुहुन्छ र च्याम्पियन्स ट्रफीमा तपाईंले टोलीहरूलाई चुरचुर पार्नुहुनेछ ।’

उनले अगाडि लेखेका छन्, ‘घृणा गर्नेहरूले घृणा गर्छन्, तर तपाईंको नेतृत्व उच्चस्तरको छ । तपाईं मैदानमा सबैभन्दा राम्रो पात्र हुनुहुन्छ । खेलाडी र कप्तान दुवैको रूपमा हरेक ढाँचामा सफलता हासिल गर्नुभएको छ । म सधैँ तपाईंलाई फलो गर्छु र तपाईंको लागिमात्र हरेक खेल हेर्छु । कृपया कहिल्यै पनि अवकाश नलिनुहोला । तपाईंले ओपनिङ नगरेको खेल हेर्न मैले टिभी खोलेको कल्पना पनि गर्न सक्दिनँ ।’

यथार्थले आफू १५ वर्षको भावुक किशोर रहेको पनि पत्रमा उल्लेख गरेका छन् । ‘मेरो सपना खेलकुद विश्लेषक बन्ने हो र मैले राजस्थान रोयल्ससँगको सहकार्यमा इन्टर्नशिप पनि पूरा गरेको छु । यदि तपाईं मलाई कुनै पनि तरिकाले मद्दत गर्न सक्नुहुन्छ भने कृपया मलाई जानकारी दिनुहोस् । म तपाईंलाई माया गर्छु रोहित । मलाई थाहा छ, तपाईं चाँडै नै आफ्नो उत्कृष्ट क्षमतामा फर्कनुहुनेछ ।’

रोहितले फेब्रुअरीमा हुने च्याम्पियन्स ट्रफीमा भारतीय टोलीको कप्तानी गर्नेछन् । उनले गत वर्ष टी–२० विश्वकपमा टोलीलाई जित दिलाएका थिए । अब उनको नजर अर्काे आईसीसी ट्रफीमा छ । त्यसअघि उनले इंग्ल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय शृंखलामा टोलीको नेतृत्व गर्नेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप