खुम्बु क्षेत्रमा उद्धार उडानको अवरोध हट्यो

काठमाडौँ । खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा हुँदै आएको अवरोध खुल्ने सङ्केत देखिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकअनुसार स्थानीय तहले हेलिप्याडमा रहेका अवरोध हटाएपछि उद्धार उडान सुरु भएको हो ।
शुक्रवार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा नेपाल वायुसेवा सञ्चालक सङ्घ, सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण सोलुखुम्बु कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका र अन्य सरोकारवाला पक्षबिच बसेको सर्वपक्षीय बैठकले अहिले हेलिप्याडमा देखिएको अवरोध स्थानीय तहले हटाउने र वायुसेवा सञ्चालक कम्पनीले उद्धार उडानलाई अवरोध हटे लगत्तै सुचारु गर्ने सहमति भएको थियो ।
यो सहमतिपछि पछिल्लो दुई दिनमा गाउँपालिका समेतको सहयोगमा हेलिप्याडको अवरोध हटाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अनोजकुमार घिमिरेले जानकारी दिए । योसँगै अब उद्धार उडान सुरु भएको उनको भनाइ छ ।
कसैले उद्धार उडानका लागि हेलिकोप्टरको आवश्यकता परेमा तत्कालै यस्तो उडान माग गर्न सक्ने सीडीओ घिमिरेको भनाइ छ । नियमित उडानका लागि भने १५ दिनभित्र सबै पक्ष विन–विन हुने गरी सहमति खोजिने सहमति भएको घिमिरेले बताए ।
कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रताप पाण्डेले पनि अवरोध हटेपछि उद्धार उडानका लागि वायुसेवा कम्पनीहरू तयार रहेको बताए । नियमित उडानका लागि पनि गाउँपालिका सकारात्मक रहेको पाएको उनको भनाइ छ ।
यसअघि जनवरी १ देखि उक्त क्षेत्रमा हेलिकोप्टर उडान ठप्प रहँदै आएको थियो । राष्ट्रिय निकुञ्जले वातावरण र वन्यजन्तुको संरक्षणमा असर गरेको तथा गाउँपालिका तथा स्थानीयले रोजगारीमा असर परेको भन्दै हेलिकप्टर सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए ।
पछि राष्ट्रिय निकुञ्ज कार्यालयले हेलिकप्टर सञ्चालन सुचारु गर्न भन्दै पत्र पठाए पनि गाउँपालिकाको असहमति र स्थानीयको अवरोधका कारण अहिलेसम्म पनि सेवा सुचारु हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय