साना दलको गुनासोपछि प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
काठमाडौँ । सरकार र सत्ता गठबन्धनले गर्ने विभिन्न निर्णयमा आफूहरुसँग छलफल नै हुन छाडेको भन्दै साना दलले गुनासो गरेपछि प्रधानमन्त्री केपी शर्माओलीले सत्ता पक्षीय पाँच दलको बैठक बोलाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबिच नियमितजसो छलफल र संवाद हुँदै आएको छ । तर, त्यस्ता छलफल र संवादमा सत्ता पक्षीय साना दललाई बोलाउने गरिएको छैन ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका र सकारमा सहभागी भएका दलहरुबिच नियमित छलफल र संवाद गर्ने भनिएको थियो । तर पछिल्लो समय नेपाली कांग्रेस र एमालेबिच मात्र छलफल केन्द्रित हुन थालेपछि सत्ता पक्षीय साना दलले गुनासो गर्न थालेकाले उनीहरूको पनि कुरा सुन्न बैठक बोलाइएको हो’, सत्तारुढ दलका एक नेताले भने, ‘संसद्को हिउँदे अधिवेशन पनि नजिकिएकाले संसद् बैठकमा एउटै आवाज होस् भनेर छलफल गर्न लागिएको हो ।’
खासगरी सत्ता पक्षीय मोर्चामा रहेका लोसपा, नागरिक उन्मुक्ति जनमत लगायतका पार्टीहरू ठुला दलसँग सन्तुष्ट हुन सकेका छैनन् । संघीय सरकारमा जसपा र लोसपा सहभागी छन् भने जनमतले मधेसमा मुख्यमन्त्री पाएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले संसद् बैठकलाई कसरी प्रभावकारी बनाउने भनेर छलफल गर्न बैठक राखिएको बताए ।
‘संसदमा सत्तारुढ दलहरूले खेल्ने भूमिका, विधेयकहरूको अवस्था लगायतमा साझा धारणा बनाउने प्रयासस्वरुप छलफल राखिएको हो’, रिमालको भनाइ छ । अध्यादेशको विषयलाई लिएर प्रमुख प्रतिपक्ष लगायतका विपक्षी दलहरू आक्रामक हुने देखिएपछि सत्तारुढ दल सरकारको बचाउमा एक ढिक्का भएर उत्रने तयारी गरेका छन् । नेपाली कांग्रेसले सरकारको आलोचना पार्टीबाहिर नगर्न आफ्ना सांसदहरूलाई निर्देशन नै दिइसकेको छ ।
माघ १८ गते बस्ने संसद् बैठकअघि सभामुख देवराज घिमिरेले समेत सक्रियता बढाइरहेका छन् । उनले संसद् बैठकको तयारी लगायतका विषयमा आइतबारबाट लगातार बैठक बोलाएका छन् । आइतबार सत्ता र प्रतिपक्षका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुख घिमिरेले सोमबार पाँच प्रमुख दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्दैछन् ।
सभामुखले मङ्गलवार ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । यता दलहरूले पनि धमाधम बैठक बोलाएका छन् । कांग्रेसले संसदीय दलको बैठक आइतबार र सोमबार दुई दिनका लागि बोलाएको छ भने एमालेले मंगलबारलाई बोलाएको छ । संसद्को चौथो ठुलो दल रास्वपाले बुधवार संसदीय दलको बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले बनाइरहेका यी पाँच आयोजनाको के छ प्रगति ?
-
काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा
-
प्रथम गलबन्दी अवार्ड : सर्वोत्कृष्ट नायक नायिकामा विजय र वर्षा
-
सुन्दरहरैँचामा अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप हुने
-
आँधीखोला पुल : सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन
-
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा