मङ्गलबार, १५ माघ २०८१
ताजा लोकप्रिय
जग्गा विवाद

कांग्रेस नेता रमेशजङ्ग रायमाझी विवादमा

व्यक्तिको नाममा रहेको जग्गामा सरकारी अनुदान लिएर स्मृति भवन निर्माण
सोमबार, १४ माघ २०८१, ११ : २३
सोमबार, १४ माघ २०८१

विराटनगर । संघ संस्थाका भवन बनाउन सरकारले आर्थिक सहयोग गर्दै आए त्यस्तो भवन बन्ने जग्गा सम्बन्धित संस्थाकै नाममा हुनुपर्ने कानुनी व्यवस्था छ । तर संघ र प्रदेश सरकारको करिब ७ करोड रकम खर्चमा विराटनगर–४, इक्राहीमा सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा निर्माणाधीन स्मृति भवन भने व्यक्तिको जग्गामा बनिरहेको तथ्य खुलेको छ ।

उक्त भवन निर्माण गरिएको जग्गा नै संस्थाको नाममा ल्याइएको छैन भने भवनको नक्सा पाससमेत भएको छैन । सूचनाको अभियन्ता योगराज दाहालले मोरङ जिल्ला, भूमिसुधार तथा मालपोत कार्यालयमा तत्कालीन अमाही इक्राही वडा नं. १÷क को कित्ता नम्बर ४२५ र ४२४ को जग्गा विवरणबारे सूचना माग गरेका थिए । मालपोत कार्यालयले दिएको जवाफमा सो कित्ता नम्बरको जग्गा निजी तथा व्यक्तिगत रहेको उल्लेख छ ।

‘अमाही इक्राही वडा नं. १–क को कि.नं. ४२५ र ४२४ को जग्गाको स्वामित्व कसको नाममा रहेको छ र कति क्षेत्रफलसहित छ, सूचना विवरण प्रमाणित प्रतिलिपी उपलब्ध गराउन माग गर्नुभएकोमा उक्त जग्गा निजी तथा व्यक्तिगत जग्गा भएकाले निजी तथा व्यक्तिगत जग्गाको हकमा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा २८ (१) र ऐ. ऐनको दफा ३ को उपदफा ३ (ङ) को व्यक्तिगत गोपनीयता सम्बन्धी प्रावधानलाई समेत ध्यानमा राख्नुपर्ने देखिँदा उल्लेखित कि.नं. ४२४ समेतको जग्गाको माग विवरण उपलब्ध गराउन नसकिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ मालपोत कार्यालय विराटनगरले दिएको पत्रमा उल्लेख छ ।

४२५ कित्ता नम्बरको जग्गामा ७ कठ्ठा ४ धूर रहेको छ । उक्त जग्गा रिजाल थरका एक व्यक्तिको हो । उनले विराटनगरकै राजेन्द्र खनाललाई वारेसनामा दिएर किनबेचको जिम्मा दिएको अभियन्ता दाहाल दाबी गर्छन् ।

प्रतिष्ठानको भवन बनाउनु अगाडि सो जग्गाको किन्ने सहमतिपछि ‘श्री सन्त नेता कृष्णप्रसाद भट्टराई फाउण्डेसन’ का अध्यक्ष तथा कांग्रेस नेता रमेशजङ्ग रायमाझीले केही रकम बैना स्वरुप दिएका थिए ।

तर, जग्गा अहिलेसम्म पास नभएको पाइएको हो । जग्गा नै प्रतिष्ठानको नाममा नआइ कसरी नक्सा बन्यो र कसरी विराटनगर महानगरपालिकाले भवन निर्माणका लागि आर्थिक सहयोग ग¥यो भन्ने प्रश्न उठेको दाहाल बताउँछन् ।

निजी जग्गामा भवन निर्माण गर्न संघ, प्रदेश र विराटनगर महानगरपालिकाले के आधारमा बजेट विनियोजन गरे र त्यो बजेट कसरी कार्यान्वयन भयो भन्ने गम्भीर प्रश्न खडा भएको दाहालको भनाइ छ । त्यस विषयमा बुझ्न खोज्दा रायमाझीले आफूलाई धाक धम्की दिएको दाहालले बताए ।

इक्राहीस्थित बस्ता खोलाको पश्चिम किनारमा देखिने ठुलो भवन बनाएर के गर्ने भन्ने कुरामा भने स्वयं प्रतिष्ठानका अध्यक्ष रायमाझी प्रस्ट छैनन् । ‘मेरो हिसाबले नेताका नाममा, सहिदको नाममा आर्थिक सहयोग दिएर बनेका संरचनालाई विधि र कानुन बनाएर उहाँहरूकै नाममा भवनको नामकरण गरेर राखिदिने र त्यसलाई राज्यले प्रयोग गर्दा हुन्छ । यो बिल्डिङमा प्रदेशका मन्त्रालयहरू राखे हुन्छ । मुख्यमन्त्रीले आफ्नो कार्यालय बनाए हुन्छ,’ प्रतिष्ठानका अध्यक्ष रायमाझी भन्छन् ।

यो भवन निर्माण गर्न अहिलेसम्म ७ करोडभन्दा बढी रकम लगानी भइसकेको छ । भवनको निर्माण सम्पन्न हुँदा १५ करोड लागत पुग्ने अनुमान छ । जीवनभर सम्पत्तिको मोह नगरेका सन्त नेता भट्टराईका अनुयायीसमेत रहेका रायमाझी किसुनजी कै नाम जोडेर देशभर यस्ता भवन बनाइरहेको बताउँछन् ।

विराटनगर महानगरपालिकाको घर नक्शा शाखाका प्रमुख गोपाल पोखरेलले उक्त भवनको नक्सा पास नभएको बताए । ‘अहिलेसम्म कृष्णप्रसाद भट्टराई स्मृति भवनको नाममा कुनै नक्सा पास भएको छैन,’ पोखरेलले भने ।

उक्त भवन निर्माणस्थलको ६ कट्ठा ऐलानी जग्गा विराटनगर महानगरपालिकाले दिएको हो । त्यसबाहेक ९ कट्ठा जग्गा भने निजी भएको स्वयं रायमाझी स्वीकार गर्छन् । यद्यपि आफूहरूले उक्त जग्गा किनिसकेको उनको भनाइ छ ।

‘हामीले चेक दिएका छौँ । भुक्तानी गरेको रेकर्ड छ । यो विषयमा तपाईंहरू किन लाग्नुहुन्छ ?,’ रायमाझीले भने, ‘भवनको उद्घाटन हुँदा धनीपूर्जा देखाए भयो नि, होइन र ? मैले ठुलो अपराध गरेको हुँ र ? पत्रकारले पनि आफ्नो स्तर बढाउनु पर्छ । मैले तपाईंहरूलाई राम्रो ढंगले सम्मान गरिरहेको छु त ।’

आफूले गरेको काममा पत्रकारले पनि गर्व गर्नुपर्ने रायमाझीले बताए । ‘पार्टीको अधिवेशन आउँदैछ । रमेशजङ्ग सभापतिमा लड्दैछ । त्यसकारण केही मानिसहरू मलाई दाग लगाउन लागेका छन्,’ रायमाझीले भने, ‘त्यसरी बुझीदिनु न है !’

संघ र प्रदेशबाट अहिलेसम्म उक्त भवनमा ७ करोड, विराटनगर महानगरको १० लाख लगानी भइसकेको रायमाझी बताउँछन् । निर्माण सम्पन्न हुँदासम्म १५ करोड लागत पुग्ने उनको भनाइ छ । केही समय अगाडि गृहमन्त्री रमेश लेखकले पनि उक्त भवनको अवलोकन गरेका थिए । 

WhatsApp Image 2025-01-25 at 2.30.26 PMWhatsApp Image 2025-01-25 at 2.42.06 PM

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप