मङ्गलबार, १५ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र

सोमबार, १४ माघ २०८१, १० : ५३
सोमबार, १४ माघ २०८१

मर्चवार । रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सवस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ । तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सवस्टेसनको निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका इन्जिनियर जगदिशराज बरालका अनुसार महदेई सवस्टेसनको सिभिल संरचनामा ३५ प्रतिशत र विद्युतीकरणमा ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । परियोजनाको बाँकी काम एक वर्षभित्र पूरा हुने गरी तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए ।
निर्माण कम्पनीसँग काम फागुन महिनामा सम्झौता भएको उनले बताए । ‘अब केही दिनमै सकिन लागेको सो म्याद पुनः म्याद थप गरेर आगामी एक वर्षभित्र यो परियोजना पूरा गरी सवस्टेसन सञ्चालनमा ल्याउने योजनामा हामी छौँ’, उनले भने ।

साइटमा माटो परीक्षण, कागजी प्रक्रिया र विभिन्न सामग्रीको अभावका कारण निर्माण कार्यमा केही ढिलाइ भएको बताउँदै प्राधिकरणका इन्जिनियर बरालले भने, ‘सवस्टेसन निर्माणका लागि चाहिने अधिकांश सामग्रीको व्यवस्थापन भइसकेर अहिले सबै काम तीव्र गतिमा अघि बढेको छ ।’

निर्माण कम्पनीका योजना प्रबन्धक मुकुल सिंहले परियोजनाको डिजाइनमा ढिलाइ भएकाले निर्माण  समयमै पूरा हुन नसकेको बताए । उनले भने,  ‘डिजाइन प्राप्त भएपछि ४० जनाको टोलीले तीव्र गतिमा काम गर्दै हालसम्म आठ सय ५० वटा विद्युत् पोलको जडानकार्य सम्पन्न गरिसकेको छ ।’ 

उनका अनुसार अबको केही दिनमै पोलमा तार तान्ने काम गरिनेछ । तारपोलको व्यवस्थापन भइसकेपछि ट्रान्सफार्मरको व्यवस्था गरी लो–भोल्टेज र विद्युत् कटौतीको समस्या समाधान हुनेछ । बारम्बार बत्ती जानु र लाइन ट्रिप हुनुका कारण उपभोक्ताका दैनिक गतिविधि प्रभावित हुने गरेको सम्मरीमाई गाउँपालिका–७ का वडाध्यक्ष राधेश्याम कुर्मीले बताए । उनले भने, ‘समृद्धिको सम्भावना राख्ने क्षेत्रमा विद्युत्को नयाँ संरचना निर्माण र विस्तारका लागि भइरहेका काम ढिलो हुँदै आएका छन् ।’

महदेइमा विद्युत् सवस्टेसनको निर्माणपछि मर्चवार क्षेत्रको तीनवटै गाउँपालिका सम्मरीमाई, कोटहीमाई र मर्चवारीमा विकासको नयाँ अध्ययन सुरु हुने लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बानियाँले बताए । उनले भने, ‘यहाँ लो भोल्टेज र अनियमित विद्युत् कटौतीको समस्या विकराल छ ।’ विद्युत् प्रवाहमा गुणस्तरीय सुधारका लागी सवस्टेसनको गुणस्तरीय निर्माण कार्यलाई तीव्रता दिन निरन्तर अनुगमन गरिरहेको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप